बुद्धि आचार्य(प्रबन्ध निर्देशक)-नेपाल टेलिकम
मेरो घर धापासी हो । शनिवारको दिन परेकोले बैशाख १२ गते म घरमै थिएँ । मलाई त्यो दिन सञ्चो थिएन, खाना नखाई सोफामा बसिरहेको थिएँ । अकस्मात सोफा हल्लिन थाल्यो । मेरो छोरालाई स्कूलमा भूकम्पको विषयमा सिकाइँदो रहेछ, घर हल्लिन थालेपछि छोरा ‘भूकम्प आयो, भूकम्प आयो’ भन्दै चिच्याउन थाल्यो । छोरी कोठामा सुतिरहेकी थिई । छोरा बाहिर निस्किएपछि छोरीलाई लिन भनेर म दौडिएर कोठाभित्र छिरेँ । छोरीलाई च्यापेर उठाउन खोजेको भूकम्पले हल्लाएर उठ्नै सकिएन । हल्लाको हल्लाई गरेपछि केहीबेर बाबुछोरी त्यही बस्यौं र कम्पन केही कम भएपछि बाहिर निस्कियौं । भूकम्पको ठूलो कम्पनको बेला म पूरै घरभित्र थिएँ । बल्लतल्ल गेटबाहिर निस्कियौं । त्यो बेला समेत भूकम्प लगातार गइरहेकै थियो, हामी घरनजिकैको खुल्ला चौरमा पुग्यौं । घरहरु हल्लिरहेका देखिन्थे, पानी ट्याङ्की छत–छतबाट खसिरहेका देखिन्थे । लगातार पटक–पटक गइरहँदा साच्चिकै अनर्थ हुन लागेको भान परेको थियो । ब्रम्हाण्ड नै पल्टिने हो कि जस्तो पनि लाग्थ्यो । सबै छिमेकीको अनुहारमा यस्तै भाव झल्किएको थियो । सबैजना ‘यो के अनर्थ हुन लाग्यो’ भनिरहेका थिए ।
परिवारसहित आफू सुरक्षित ढंगले बाहिर खुल्ला ठाउँमा निस्किएपछि मलाई फोनतर्फ ध्यान गयो । आफ्नो मोवाइल मेरो साथमै थियो, एकदुई ठाउँमा फोन गरेँ, अफिसका साथीभाईलाई फोन गरेँ, को कहाँ छन्, कुन अवस्थामा छन् भन्ने कुरा सोध्ने काम भयो । बिपतको बेला सबैभन्दा बढी चाहिने संचार सेवालाई कुनै पनि हालतमा अवरुद्ध हुन दिनुभएन भन्ने सोंचेर सबै साथीहरुलाई ‘हाई एलर्ट’मा बस्न भनेँ । महासंकटकै बेला पनि हामी तयारीमा अवस्थामा बस्नुपर्छ भन्ने थियो । किनभने हाम्रो पारिवारिक जिम्मेवारी एउटा भए पनि त्योभन्दा ठूलो देशको संचार सेवाको कुरा थियो । विपतको बेला सेवालाई सुचारु गरिराख्ने ठूलो चुनौति हामीसामु थियो ।
पोष्टपेड फोनले लगातार काम गरिरहेकै थियो । तर भूकम्पको केही समयपछि प्रिपेड फोनको सेवा अवरुद्ध हुन पुग्यो । त्यसपछि मैले तत्कालै कर्मचारीलाई परिचालन गरेँ । बिलिङका साथीहरुलाई फोन गरेँ, कुरा गरेँ, उहाँहरुलाई तत्कालै अफिस बोलाएँ । त्यसबेलासम्म म भोकै थिएँ, मलाई खाना खाने हतारो भन्दा पनि अवरुद्ध भएको सेवा सुचारु गराई जनतालाई संचारको सेवा दिने हतारो थियो । मेरो सवारी चालकलाई तुरुन्तै बोलाएँ, ऊ पनि अनेक वाधा व्यवधान व्यहोर्दै मलाई लिन आइपुग्यो । घरबाट निस्कियौं, धापासी चौकमा पुगेपछि बाटोमा ठूलो पर्खाल गल्र्याम्मै लडेको देखियो । अर्को बाटोबाट मोडिएर अगाडि बढ्यौं । त्यसबेलाको दृश्य साच्चिकै कहालीलाग्दो थियो । मान्छेहरुको दौडादोड थियो, हाहाकार थियो, एम्बूलेन्स मात्र दौडिरहेका देखिन्थे । बाटोमै खबर पाएँ धरहरा ढल्यो रे । धेरै संख्यामा मानिसको समेत हताहती भयो रे । म एकाएक भावुक हुन पुगेछु । धरहराको चित्र समेत झलझली सम्झिएँ, त्यत्रो इतिहास बोकेको हाम्रो धरहरा अब रहेन ! मेरो मन अमिलो भयो ।
भद्रकालीस्थित केन्द्रीय कार्यालय पुगेँ, त्यहाँ मोटर राखेर शहीदगेट हुँदै सुन्धारा अफिसतिर लागेँ, हाम्रो त्यहाँ मेन बिलिङ सिस्टम भएको अफिस छ । त्यहाँ काम गर्ने कर्मचारी साथीहरु पनि आउनुभयो । त्यसबेला पनि पराकम्पनहरु गइरहेकै थियो ।
मानिस घरभित्र बस्नसक्ने अवस्था थिएन । तर हाम्रा कर्मचारी साथीहरुले निकै साहासका साथ भवनको माथिल्लो तलामा जाने र सिस्टममा के खराबी रहेछ भन्ने कुरा पत्ता लगाउने काम गर्नुभयो । माथि पुगेपछि पो थाहा भयो, हाम्रा केही उपकरणहरु भूकम्पका कारण लडेर बिच्छेद भएका रहेछन्, त्यसपछि ती उपकरणलाई कर्मचारी साथीहरुले र्याकमा राखेर, छेकबार बनाएर सिस्टम जोड्ने काम गर्नुभयो । त्यसपछि अवरुद्ध भएको प्रिपेड सेवा सुचारु भयो । त्यसबेला धरहरा नभएको सुन्धाराको दृश्य साच्चिकै हृदयविदारक थियो, मानिसको रोदन, अत्यास, दौडादौड देखेर नआत्तिने कोही थिएन । त्यहाँको दृृश्य देख्दा काठमाण्डौजस्तो ठाउँमा भूकम्पका कारण लाखौ मानिस हताहतीमा परे भन्ने लागेको थियो । किनकि घरबाट आउँदै गर्दा मैले धेरै घरहरु लडेका देखेको थिएँ, तर मैले कल्पना गरेभन्दा क्षति निकै कम भएको रहेछ, धन्न भगवानले हामीलाई जोगाइदिएछन !
गाडीमै रात
भूकम्पपछि खुल्ला क्षेत्रमा हामी २ दिनसम्म बस्यौं । अरु खुल्ला क्षेत्रमा आकाशमुनि बस्दा मैले चाहि मेरो परिवारहरुलाई गाडीमा सुत्ने व्यवस्था मिलाएँ । मेरो घर भूकम्पले खासै ड्यामेज नभए पनि त्रासका कारण भित्र छिर्ने अवस्था थिएन । दुई दिनसम्म गाडीमै सुतियो । गाडीमा सुत्दा पनि पराकम्पनले तर्साइरहन्थ्यो । गाडी थर्रर हल्लिन्थ्यो, कट्याककुटुक कट्याकुटुक गथ्र्यो । ल फेरि आयो भनेर मान्छे कराउँथे । केही दिनसम्म त नियमित काम जस्तै भयो भूकम्प आउने, मान्छे कराउने अनि हाम्रो गाडी हल्लाउने । त्यसपछि चाहि हामी घरमै बस्यौं, घरमै सुत्न थाल्यौं । बाहिरपट्टि सुत्ने व्यवस्था मिलायौं, ताकि ठूलै भूकम्प आइहाल्यो भने फुत्त निस्किएर भाग्न सकियोस् ।
निःशुल्क सेवा
हामीले सिस्टम रिस्टोर गरेपछि मेरो दिमागमा नयाँ कुराले क्लिक गर्यो । आज ग्राहकहरुले धेरै फोन गर्छन, तर रिचार्ज कसरी गर्ने ? यो दुःख परेको अवस्थामा रिचार्ज किन्न कसैले पाउँदैन, न बत्ती छ, घर ढलेको छ, मान्छेको बेहाल छ । नेपाल टेलिकमजस्तो संस्थाले यस्तो बेलामा सहयोग गर्नुपर्छ भन्ने लागेर नेपाल टेलिकम संचालक समितिको अध्यक्ष संचार सचिव ज्यूलाई फोन गरेर ग्राहकहरुलाई केही दिनसम्म फोन निःशुल्क गर्नसक्ने अवस्था बनाउनुपर्छ कि भनेँ । यस्तो कुराको निर्णय संचालक समितिको बैठकले मात्र गर्नसक्छ, तर सचिव ज्यूले बैठकबाट पछि अनुमोदन गरौंला, जनतालाई राहात हुने काम गरिहाल्नुहोस् भनेर अनुमति दिनुभयो । त्यसपछि मैले त्यसबेलाका माननीय संचारमन्त्री डा. मिनेन्द्र रिजाललाई फोन गरेँ र सबै समस्या तथा मेरो अवधारणा बताएँ । ‘रिचार्ज पाइदैन, अहिलेलाई हामीले केही दिनका लागि सेवा निःशुल्क गर्नुपर्ला’ भनेँ, उहाले साह्रै सह्रानीय हिसाबले लिनुभयो र ‘फ्रि छ भनेर मान्छेले धेरै फोन गर्लान्, नेटवर्कमा समस्या आउनसक्ला, यो चाहि विचार पुर्याएर काम गर्नुस्’ भनेर अनुमति दिनुभयो । संयोगवश त्यसबेला निरन्तर संचालनमा रहेको रेडियो नेपालले यस्तो बेलामा नेपाल टेलिकमले के गर्छ भनेर फोन गर्यो । मैले तत्कालै आफ्नो कन्सेप्ट सुनाएँ र मैले ग्राहकहरुलाई ‘केही दिनका लागि कल तथा एसएमएस फ्रि गरेका छौ, तर ग्राहकहरुले सकेसम्म मेसेज गरौं, फोन नै गर्न परे पनि छोटो कुराकानी गरौं, नेटवर्क व्यस्त नबनाऔं’ भन्नेसन्देश प्रवाह गरिदिन आग्रह गरेँ । रेडियो नेपालले पनि ठूलै सहयोग गर्यो, मैले भने अनुसार नै प्रचार प्रसार गरिदियो । त्यसबेला नेपाल टेलिभिजनले समेत हामीलाई गरेको सहयोग म भूल्न सक्ँिदन । रेडियो नेपाल र टेलिभिजनबाट नेपाल टेलिकमको यो स्कीम तथा हाम्रो अनुरोध बारम्बार प्रसारण भए, हाम्रो अनुरोध अनुसार सर्वसाधारणले पनि नेटवर्कमै समस्या हुने गरी फोन गरिदिनुभएन, सोंचे अनुसार नै सबै कुरा भयो । हामीले यो सेवालाई भूकम्पको छैठौं दिनसम्म सुचारु गर्यौ । त्यसपछि मानिसहरु अलि–अलि गर्दै सामान्य जीवनमा फर्किने क्रम सुरु भएपछि, पसल खुल्ने क्रम सुरु भएपछि रिचार्ज कार्डहरु समेत पाइन थालियो र सो सेवा बन्द गर्यौं ।
सिक्नुपर्ने पाठ
१९९० सालको भूकम्पको बारेमा हामीले सुनेका हौं, पढेका हौं । साच्चिकै ठूलो भूकम्पको अनुभव बैशाख १२ गतै नै भएको हो । हिजोआज यसो सोच्दछु, हामी भूकम्प वा यस्ता प्राकृतिक विपत्तिका लागि तयार रहेनछौ भन्ने लाग्छ । प्राकृतिक विपत भन्ने कुरा मान्छेको बसमा हुन्न, कतिबेला के हुन्छ थाहा हुन्न रहेछ, त्यसकारण पर्याप्त पूर्व तयारी र पूर्व सचेतना अपनाउनुपर्ने रहेछ भन्ने अनुभूत भएको छ ।
त्यसबेला सेवा संचालनका लागि हाम्रा साथीहरुले देखाएको साहस र आँट अझै पनि सम्झनालायक छ । तारन्तार भूकम्प आइरहेको थियो । भूकम्पबाट अति प्रभावित १४ वटा जिल्ला(यीमध्ये धेरै विकट पहाडी जिल्ला पनि थिए)मा पुगेर मेरा कम्पनीका साथीहरुले क्षतिग्रस्त बिटिएस टावर मर्मत गर्नुभयो । चूँडिएको, आगो लागेर नष्ट भएको अप्टिकल फाइबर जोड्नुभयो । पूरापुर जोखिम लिएर साथीहरुले राम्रो काम गरेकै कारण विपतको बेलामा समेत हामीले हाम्रो सेवालाई निरन्तर राख्न सक्यौं ।
महाभूकम्पको बेला नेपालीको कम्पनी ‘नेपाल टेलिकम’ले नै आपत परेको बेला केही सहयोग गर्छ भन्ने सन्देश दिन सफल भयौं । सो बेला सुरक्षा निकायबाट पनि हामीलाई ठूलो सहयोग भयो । विद्युत प्राधिकरणले गरेको सहयोग त झनै स्मरणीय छ । हाम्रा एक्सचेञ्जहरु भएका ठाउँमा, पावर रिस्टोरमा विद्युत प्राधिकरणले ठूलो सहयोग गर्यो । यही सहयोगका कारण हामीले सिस्टमहरु चलाउन सक्यौं । केही ठाउँमा सेवा अवरुद्ध भयो, तर त्यहाँ समेत जेनेरेटर र ब्याट्री लिएर गएर पनि सिस्टम चलायौं, अन गर्यौं । हामी सो बेला भातपानी, घरपरिवार केही नभनी सेवालाई कसरी सुचारु गर्ने भन्नेतर्फ नै केन्द्रीत भयौं । त्यस्तोबेलामा समेत साढे ८ बजे राति मात्र घर पुगिन्थ्यो, घरमा ‘अफिसतिर मात्र ध्यान छ, हामी त्रासमा बाँच्नुपरेको छ’ भन्नेसम्मको गुनासा पनि आए । तर हाम्रो जिम्मेवारी र त्यसको संवेदनशीलता बुझेका परिवारका सदस्यले सहयोग गरिरहे ।
मलाई लाग्छ, आफ्नै सुरक्षाको बारेमाा हाम्रो ध्यान कमजोर भयो । कम खर्चमा घर बनाउने, गुणस्तरमा सम्झौता गर्ने प्रवृति बढ्यो । हामीले यस्तो काम गर्न नहुने रहेछ । हामीले पहिलो प्राथमिकता सुरक्षालाई दिनुपर्ने रहेछ । प्रत्येक टोलहरुमा खुल्ला क्षेत्र बनाउनुपर्ने रहेछ, जहाँ विपत पर्दा एउटै ठाउँमा मान्छेहरु भेला हुन सकून् । अस्पताल जाने ठाउँहरुको बाटो फराकिलो बनाउनुपर्ने रहेछ, ताकि एउटै गाडीले त्यहाँ जाम नहोस् र विपतको बेला अस्पताल पुग्न नपाएरै कसैले ज्यान गुमाउन नपरोस् । अझ हामीजस्ता संस्थाहरुको सेवालाई निरन्तर गर्नुपर्ने पनि टड्कारो आवश्यकता हुँदो रहेछ यस्तो विपतको बेलामा । यसकारण जुनसुकै बेला आउनसक्ने यस्ता विपतलाई मध्यनजर गरी हामीजस्ता दूरसंचार सेवा प्रदायक संस्थाहरुले ‘ब्याकअप’ राख्नुपर्ने रहेछ भन्ने ठूलो पाठ भूकम्पले सिकाएको छ । हामीले भूकम्पको क्रममा कुनै पनि कर्मचारी गुमाउनुपरेन, कर्मचारीका घर भत्किए, भौतिक क्षति चाहि भयो । टेलिकमले देशभरमा भूकम्पकै कारण ६६ करोड बराबरको क्षति व्यहोर्नुपर्यो ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago