काठमाण्डौ । आफ्ना बालबालिकाको भविष्यको चिन्ता एउटा यस्तो विषय हो, जो प्रत्येक आमा–बुवालाई हुने गर्छ । सर्वप्रथम त बालकालिकाको स्वास्थ्यप्रति चिन्ता हुन्छ र दोस्रोमा जीवनमा आफ्नो रोजाईमा कति खुसी छन् भन्ने । 

तर बालबालिका हुर्कदै गर्दा आमा–बुवामाझ यस्तो चिन्ताले डेरा जमाउन थाल्छजसमा उनीहरुको भविष्य टिकेको हुन्छ । यो चिन्ताको नाम हो,पैसा । यसका दुईवटा आयाम छन् ।

पहिलो त यो कि उनीहरुले आफ्नो भविष्यका लागि कसरी पैसा जोगाउछन् ? र दोस्रो यो कि उनीहरुले पैसा जोगाउनुको महत्वलाई कति बुझ्छन् ?   

बेलायतमा स्ट्याण्डर्ड लाइफ बैंकले एउटा सर्वेक्षण गरेको छ । यो सर्वेक्षणका अनुसार प्रत्येक दशमध्ये सात जना अभिभावक आफ्ना बालबालिकाको वित्तीय भविष्यप्रति चिन्तित देखिन्छन् । 

बालबालिकालाई कम उमेरमा पैसाको सहि उपयोग सिकाउदा उनीहरुको सम्पूर्ण जीवनमा परिवर्तन देखिन्छ । तर भविष्यका लागि पैसाको बचत गर्न त्यति सजिलो भने छैन । अमेरिकाको ड्युक यूनिर्भसिटीका बिहेभियर आर्थिक विश्लेषक र लेखक ड्यान एरिली भन्छन्,‘पैसाको एउटा कमजोरी के हो भने यसको कुनै सीमा हुदैन । यस कारण हामीलाई भविष्यमा यसको वास्तविक उपयोग कस्तो होला भनेर सोच्न एकदमै कठिन हुन्छ ।’

बीबीसी पोष्डकास्ट मनी बक्समा फेलिसिटी हन्नाले‘द प्राइभेट अफिस’मा वित्तीय योजनाकार किस्र्टी स्टोन र द मनी च्यारिटीमा युवा मामिलाका निर्देशक स्टेफनी फिट्जगेराल्डसँग कुराकानी गरेका छन् । जसले यस विषय सम्बन्धि चिन्तालाई कम गर्न तीनवटा विशेष टिप्स दिएका छन् । 

फिट्जगेराल्डका अनुसार अभिभावकले बालबालिकालाई पैसाको सहि प्रयोग गर्ने अवसर दिनुपर्छ ताकि उनीहरुले स्वयम केहि गल्तीहरु गरुन् । 

१. लामो समयका लागि खाता

हाम्रा बालबालिकालाई तत्कालै पैसाको आवश्यकता पर्दैन । त्यसैले लामो समयका लागि लगानी गर्दा फाइदामुलक हुन सक्छ । विज्ञका अनुसार बैंकले बालबालिकाका लागि पनि खाता खोल्ने सुविधा उपलब्ध गराएको हुन्छ । यी खाताको माध्यमबाट बालबालिकालाई पैसा कसरी बचत गर्ने र कसरी निकाल्ने भन्ने कुरा सिकाइन्छ । 

बैंकले सामान्यतः दुई प्रकारका खाताको सुविधा उपलब्ध गराउँछन् । एउटा यस्तो खाता जहाँ जहिले पनि पैसा जम्मा गर्न र निकाल्न सकिन्छ । दोस्रो खाता जहाँ निश्चित अवधिका लागि पैसा जम्मा गरिन्छ । यसलाई आम भाषामा बैंकको एफडी पनि भनिन्छ । बचत खाताको तुलनामा लामो समय अवधिका खोलिएको खातामा धेरै ब्याज पाइन्छ । 

बालबालिकाका लागि बचत खाता खोल्नु अघि अनलाइन वेबसाइटमा गएर कुन बैंकले कति ब्याज दिइरहेका छन् भनेर तुलना गर्न सकिन्छ । 

अभिभावकले बालबालिकाका लागि यस्तो खाता पनि खोल्न सक्छन् जहाँ उनीहरुले निश्चित उमेर पुगेपछि पैसा निकाल्न सक्छन् । यस्तोमा बालबालिकाले लामो समयसम्म पैसा जम्मा गर्न सक्छन् । 

विज्ञका अनुसार अभिभावकले आफ्ना बालबालिकालाई त्यो समयका लागि तयार गर्नुपर्ने हुन्छ र पहिल्यै छलफल गुर्नपर्छ जसमा उनीहरुलाई बुझाउन सकियोस् कि त्यो पैसाको उपयोग के प्रयोजनका लागि गरिनेछ । 

बालबालिकाले जुन पैसा जम्मा गरिरहेका छन्, त्यसको प्रयोग विश्वविद्यालयको शुल्कका लागि हुनसक्छ वा उनीहरुको रोजाइको सामाग्री किन्न । यो कुरा उनीहरुलाई पहिल्यै भन्नुपर्ने हुन्छ । 

जीवनमा अप्रत्याशित घटनाहरुका लागि पैसाको बचत गर्दा बालबालिका अधिक सुरक्षित महशुुुस गर्न सक्छन् । 

२. बिस्तारै–बिस्तारै पैसा बचाउने

वर्तमानमा बालबालिकाका लागि पैसा बचत गर्नु उनीहरुको भविष्यका लागि कुनै ठूलो उपहारभन्दा कम हुदैन । यो पैसाबाट उनीहरुले आफ्नो व्यस्क जीवन राम्रोसँग सुरु गर्नुका साथै त्यो सम्पूर्ण प्रक्रियालाई हिस्सा बनाउदा उनीहरुले पैसाका बारेमा महत्वपूर्ण कुरा पनि सिक्न सक्छन् । यसले उनीहरुलाई पैसाको महत्वका बारेमा राम्ररी बुझ्न सहयोग गर्छ । 

विज्ञका अनुसार यदि तपाईको परिवारको अवस्था राम्रो नभएका कारण केहि समयका लागि पैसा बचत गर्न सकिरहनु भएको छैन भने यसमा चिन्ता लिनुपर्ने केहि कारण छैन । महत्वपूर्ण कुरा ऋण नलिनुहोस् र यस्तो कुनै वस्तु खरिद नगर्नुहोस् जसका लागि क्रेडिट कार्ड प्रयोग गर्नुपरोस् । 

फिट्जगेराल्डका अनुसार बालबालिकाको भविष्य राम्रो र सुरक्षित बनाउने सपना हरेक अभिभावकको हुन्छ । तर वास्तविकता यस्तो छ कि महंगीका कारण हामीलाई जीवन निर्वाह गर्न कठिनाईहरुको सामना गुर्न परिरहेको छ । र यस्तोमा मानिसहरुको बचत गर्ने क्षमतामा कमी आउँछ । 

३. चक्रवृद्धि ब्याजको जादुलाई नजरअन्दाज नगर्ने 

केहि मानिसहरु चक्रवृद्धि ब्याजलाई निःशुल्क पैसाका रुपमा परिभाषित गर्छन कोहि भने यसलाई विश्वको आठौँ अचम्म मान्छन् । किनकी यसले तपाईको पूँजीलाई कयौँ गुणा बढाइदिन्छ र व्यक्तिलाई यसको महशुस पनि हुदैन । 

मान्नुहोस् कि तपाईले बचत खाताबाट सुरुवात गर्नुभयो र यो बचत खातामा बैंकले तपाईलाई ५ प्रतिशत ब्याज दिन्छ । तपाईले यो बचत खातामा १० हजार जम्मा गर्नुभएको छ । अब अगाडीको स्टोरी पढ्दा तपाईले देख्नु हुनेछ कि यो १० हजार रुपैयाँ कसरी तीव्र गतिमा बढ्दै गरेको देखिन्छ । 

एक वर्ष समाप्त भएपछि बचत खातामा तपाईले राखेको १० हजार ब्याज प्राप्त भएपछि १० हजार ५ सय हुन्छ । ध्यान दिनुपर्ने कुरा यो छ कि चक्रवृद्धि ब्याजको जादू तपाईले तब देख्नसक्नु हुनेछ जब तपाई बैंक खाताबाट न त मुलधन निकाल्नु हुनेछ न त त्यसमा प्राप्त भएको ब्याजको पैसा नै । 

अब दोस्रो वर्षमा जाऔँ । दोस्रो वर्षमा तपाईलाई पहिलो वर्षको जस्तै केवल ५०० रुपैयाँ ब्याज प्राप्त हुने छैन । यो वर्ष तपाईले १० हजार ५ सय रुपैयाँमा वार्षिक ५ प्रतिशतको ब्याज प्राप्त गर्नुहुन्छ । जुन ५२५ रुपैयाँ हुन्छ । अर्थात दोस्रो वर्ष समाप्त हुँदा तपाईको बचत खातामा १० हजार रुपैयाँ बढेर ११ हजार २५ रुपैयाँ हुन्छ । 

तेस्रो वर्षमा तपाईलाई यो ११ हजार २५ रुपैयाँमा वार्षिक ब्याज ५५० रुपैयाँ प्राप्त हुन्छ र तपाईको राशि बढेर ११ हजार ५७५ रुपैयाँ हुन्छ । 
चौथो वर्षमा यो राशि १२ हजार १५३ रुपैयाँ हुन्छ । त्यस्तै पाचँ वर्षमा यो रकम बढेर १२ हजार ७६० हुन्छ । 

जब बालबालिका १८ वर्षको हुन्छन् यो राशि राम्रो बन्छ । 

४. खुत्रुक्के किनेर दिनुस् 

विज्ञका अनुसार यदि तपाई बालबालिकालाई पैसाको महत्वका बारेमा सिकाउन चाहनुहुन्छ भने उनीहरुलाई खुत्रुक्के खरिद गरेर दिनुहोस् । खुत्रुक्केले बालबालिकालाई पैसा कुनै खेलौना होइन र यसलाई सुरक्षित ठाउँमा राख्नुपर्छ भन्ने ज्ञानबोध गराउने विज्ञ बताउँछन् ।  

खुत्रुक्केले बालबालिकालाई भिन्न–भिन्न रुपैयाँको महत्वका बारेमा समेत थाहा पाउँ सहयोग गर्छ । उनीहरुले ५ रुपैयाँको महत्व २ रुपैयाँको भन्दा बढी हुन्छ भन्ने ज्ञान लिन सक्छन् । 

बालबालिकालाई पकेट मनि दिनु एउटा राम्रो सुरुवात हुने विज्ञको ठहर छ । 

पक्कै पनि प्रत्येक अभिभावकले आफ्ना बालबालिकाका लागि बचत गर्छन् । तर महत्वपूर्ण कुरा भनेको हाम्रा बालबालिकाले पैसाको महत्व बुझुन् र यसो गर्दा उनीहरुको भविष्य राम्रो हुनेछ ।- बिबिसीबाट साभार