काठमाण्डौ । नेपालमा सञ्चालित दुई पुनर्बीमा कम्पनी नेपाल रि-इन्स्योरेन्स र हिमालयन रि-इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत छन् । 
 

योसँगै अबधितोपत्र दोस्रो बजारमा सूचीकृत पुनर्बीमा कम्पनीको संख्या दुई पुगेको छ । 

हिमालयन रि-इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत पश्चात् लगानीकर्ताहरुमा दुई पुनर्बीमा कम्पनीमध्ये कुनमा लगानी गर्दा बढी फाईदा भन्ने चासोको विषय बनेको छ । 
 

नेपाल रि-इन्स्योरेन्स चाहिं सरकारी स्वामित्वको बीमा कम्पनी हो भने हिमालयन रि पब्लिक कम्पनी हो । नेपाल रिइन्स्योरेन्सको सेयर तीन वर्षअघि नै दोस्रो बजारमा सूचीकृत भएको थियो भने हिमालयन रि इन्स्योरेन्सको सेयर गत पुस २३ गते मात्रै सूचीकृत भएको हो । 
 

यतिखेर लगानीकर्ताहरुले आ-आफ्नै हिसाबले पुनर्बीमा कम्पनीको सेयरमा बढी प्रतिफल पाइन्छ भनेर चर्चा परिचर्चा गरिरहेका छन् । 
 

आजको तुलनात्मक कम्पनी विश्लेषणमा यी दुबै कम्पनीको वित्तीय तथ्यांकमा आधारित भएर केलाउने प्रयास गरिएको छ ।
 

प्राप्त तथ्यांक अनुसार अधिकांश सूचकमा नेपाल रि-इन्स्योरेन्स नै बलियो छ । सञ्चालनको आधारमा पनि कम्पनी पुरानो भएकाले व्यवसाय तथा अन्य वित्तीय सूचकहरु समेत बलियो भइसकेको छ ।
 

हिमालयन रि-इन्स्योरेन्स चाहिं दुई वर्षअघि मात्रै सञ्चालनमा आएकाले विस्तारै व्यवसाय विस्तार गरिरहेको छ । कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण हालसम्म पनि सार्वजनिक नगरेकाले यो श्रृंखलामा तेस्रो त्रैमासिक रिर्पोटको आधारमा कुन कम्पनीमा लगानी गर्दा लगानी उचित हुन सक्छ भन्ने विवरण दिएका छौं । 
 

तर यो विवरणका आधारमा लगानीकर्तालाई सेयर खरिद गर्न सिफारिस भने गरेको होइन । नेपाल रि-इन्स्योरेन्सको चुक्तापूँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ  भने हिमालयन रि-इन्स्योरेन्सको चुक्तापूँजी १० अर्ब रुपैयाँ छ । 
 

दोस्रो बजारमा सूचीकृत सेयरको संख्या कम हुँदा सप्लाईभन्दा डिमान्ड बढी हुन जान्छ । अर्थशास्त्रको नियमअनुसार जहाँ डिमाण्ड बढ्छ त्यहाँ वस्तुको मूल्य बढ्छ भनेजस्तै सेयरबजारमा पनि यहि सूत्र लागू हुन्छ । 
 

तर लगानी स्थिरताको लागि भने लगानीकर्ताहरुले कम्पनीको अन्य वित्तीय सूचकहरु नै हेर्नुपर्दछ । जस्तै, कम्पनीको रिजर्भ फण्ड, व्यापार तथा विजनेश, प्रोफिट, ईपीएस, नेटवर्थ  । 
 

बजार जानकारहरुका अनुसार दोस्रो बजारमा कम्पनीहरुको वित्तीय सूचकले मात्रै कम्पनीको अवस्था सबल छ भन्न सकिँदैन । बजार जानकार सरोज भट्टराई चाहिं दोस्रो बजारमा कम्पनीको चर्चासँगै डिमाण्ड बढ्न गयो भने त्यो कम्पनीको भाउ ह्वात्तै बढ्न सक्ने बताउँछन् । 
 

उनका अनुसार दीर्घकालिन लगानीका लागि भने लगानीकर्ताले स्वयं कम्पनीको वित्तीय सूचकहरु विश्लेषण गर्नुपर्दछ । 
हेर्नुस तालिकामा :

(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)