काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुको सेयरमा लगानी बढाएको छ ।
 

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीले सूचीकत कम्पनीको धितोपत्रमा लगानीको दायरा बढाएको हो । 
 

कम्पनीले २० वटा कम्पनी तथा १८ वटा म्युचुअल फण्डहरुमा लगानी गरेको छ । गत वर्षमा मात्रै कम्पनीले सूचीकृत कम्पनीको सेयरमा २४ करोड ३१ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

जुन यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २८७ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षमा कम्पनीले यस्ता कम्पनीहरुमा ६ करोड २८ लाख १६ हजार रुपैयाँ मात्रै लगानी गरेको थियो । 
कम्पनीको बैंकहरुमा मात्रै ९ करोड ४९ लाख ८८ हजार रुपैयाँ लगानी (फेयर भ्यालु) छ । यो अघिल्लो वर्षको तुलनामा ३९९ प्रतिशत नै बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले बैंकहरुको सेयरमा १ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । 

 

कम्पनीले वाणिज्य बैंकहरुको सेयरमा लगानी घटाए पनि गतवर्ष कुमारी बैंकको प्रोमोटर सेयरमा थप ५ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । यसकारण गत वर्ष बैंकहरुको सेयरमा लगानी बढेको देखिएको हो ।

कम्पनीको बैंकहरुको सेयरमा लगानी भने घटेको छ । यसका साथै कम्पनीले वित्तीय संस्था, हाइड्रोपावर कम्पनी र उत्पादन तथा प्रशोधन कम्पनीहरुमा समेत लगानी बढाएको छ ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्ता कम्पनीहरुमा ४७४ प्रतिशत लगानी बढाएको छ । कम्पनीले उक्त अवधिमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सेयरतर्फ ५९ लाख १७ हजार रुपैयाँ र संस्थापकतर्फ १ करोड ९१ लाख ५८ हजार रुपैयाँ लगानी थपेको छ । 
 

कम्पनीले वित्तीय संस्था तथा हाइड्रोपावर कम्पनीमा गतवर्ष कुल ३ करोड ४ लाख १५ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष यस्ता कम्पनीहरुमा कम्पनीले ५२ लाख ५३ हजार रुपैयाँ लगानी गरेको थियो । 
त्यस्तै, कम्पनीले गत वर्ष १८ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । अघिल्लो वर्ष नौ म्युचुअल फण्डमा मात्रै लगानी गरेको कम्पनीले थप नौ वटा फण्डमा लगानी बढाएको हो । 

 

गत वर्ष १८ वटा फण्डमा कम्पनीले ११ करोड ७६ लाख७५ हजार रुपैयाँ लगानी गरेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ३८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष नौ वटा फण्डमा कम्पनीले २ करोड ४३ लाख ९९ हजार रुपैयाँ लगानी गरेको थियो । 
 

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि लगानीको दायरा बढाइदिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतसम्म सूचीकृत सेयरमा लगानी गर्न पाउने वातावरण सृजना गरिदिएको छ । 
 

प्राधिकरणले थप सहिजीकरण गरेकाले आगामी दिनमा सूचीकृत सेयरमा लगानी बढाउने योजना रहेको कम्पनी स्रोतले बीजशाला डटकमलाई बताएको छ ।

सञ्चालक समितिको बैठकपछि कुन फण्डमा कति लगानी गर्ने र कस्ता खालका कम्पनीमा लगानी गर्ने निर्णय हुने कम्पनीका एक सञ्चालकले बताए ।
 

कम्पनीले यसअघि बैंक वित्तीय संस्था र म्युचुअल फण्डहरुमा बढी लगानी गरेको देखिन्छ ।

सेयरबजार विश्लेषण गरी जोखिम कम र प्रतिफल पाउने खालका कम्पनीमा लगानी गर्ने योजना रहेको कम्पनीले बताएको छ ।