काठमाण्डौ । पाँच वटा अलग- अलग बीमा कम्पनीले माघ महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् ।
 
तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित सभा डाकेका हुन् ।
 
सानिमा रिलायन्स लाइफ, नेको इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशलगायतका प्रस्तावहरु पारित गर्न सभा बोलाएका छन् । 
ती मध्ये हिमालयन एभरेष्ट र सिटिजन लाइफले मात्रै लाभांश प्रस्ताव सभामा पेश गर्नेछन् । बाँकी तीन कम्पनीले भने सेयरधनीको हात रित्तो बनाएका छन् । 
सानिमा रिलायन्स लाइफ
कम्पनीले छैटौं वार्षिक साधारण सभा माघ ११ गते आम्रपाली बैंक्वेट भाटभटेनी, नक्साल,काठमाण्डौमा बिहान ११ बजे बस्ने गरी आह्वान गरेको छ ।
सभाले साविक सानिमालाइफ र साविक रिलायन्स लाइफबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने प्रस्ताव र सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पारित गर्नेछ । 
यसबाहेक कम्पनीले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने दुईजना सञ्चालक निर्वाचन गर्नेछ । 
 
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब नगद विवरणहरु समेत छलफल गरी पारित गर्नेछ ।
कम्पनीले सो आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । 
सिटिजन लाइफ इन्स्योरेन्स 
कम्पनीले आगामी माघ १४ गते ७आौं वार्षिक साधारण सभा डाकेको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, नक्सालमा बिहान ११ बजे बस्नेछ । 
सभाले आर्थिक २०७९/८० को मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ७५ लाख रुपैयाँको ५ प्रतिशत रकम १८ करोड ७५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 
साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.२६३२ प्रतिशतले हुनआउने ९८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत सो सभाले पारित गर्नेछ ।
 
बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्नेछ । साथै सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्वगर्ने दुई जना सञ्चालकहरुको समेत निर्वाचन गर्ने सभाको एजेण्डा छ । 
 
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि गत पुस २९ गते नै बुकक्लोज गरिसकेको छ । यसर्थ पुष २८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् । 
हिमालयन लाइफ इन्स्योरेन्स
कम्पनीको १६औं सभा आगामी माघ १८ गते बस्दैछ । कम्पनीका अनुसार सभा सिल्भर ओक बैंक्वेट, गैरीधारा, काठमाण्डौमा बिहान ११ बजे हुनेछ । 
सो सभाले सञ्चालक समिति तथा उपसमितिको बैठक भत्ताको अनुमोदन गर्नेछ । साथै संस्थापकबाट ३ जना र सर्वसाधारण समूहबाट तीन जना र स्वतन्त्र सञ्चालक निर्वाचन गर्ने सभाको एजेण्डा छ । 
 
यसका साथै आव २०७८/७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, साविक प्राइम, युनियन र गुराँस लाइफको सोहीआवको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब र नगदप्रवाहयावतका वित्तीय प्रतिवेदन छलफल गरी पारित गर्नेछ । 
कम्पनीले आफ्ना सेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । 
नेको इन्स्योरेन्स 
कम्पनीले  पनि आगामी माघ १२ गते २८औं वार्षिक साधारण सभा डाकेको छ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौमा बिहान ११ बजे बस्नेछ । 
 
सभाले आगामी चार वर्षको लागि एकजना महिला संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहतर्फबाट ३ जना र स्वतन्त्र संचालक गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । 
 
त्यस्तै, गत आव २०७९/८० को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, सोहि आवको सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने सभाको एजेण्डा छ । 
कम्पनीले सो आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स 
कम्पनीले पनि ३०औं वार्षिक साधारण सभा माघ २५ गते बस्नेगरी आह्वान गरेको छ । सभा बानेश्वर ब्यांक्वेट, थापागाउँ काठमाण्डौमा बिहान ११ बजे बस्नेछ । 
 
सभाले गतआर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रस्ताव गरेको कायम चुक्तापूँजीको ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । 
 
त्यस्तै, सञ्चालकको सुविधा तथा भत्ता बृद्धि गर्ने र सोहि अनुसार नियमावलीमा संशोधनगर्ने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने सभाको एजेण्डा छ । 
यसका साथै गतआर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
सोहि आवको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्युटीमा भएको परिवर्तनलगायतका अनुसूचीहरु पारित गर्नेछ । 
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ माघ १४ गते एकदिन बुकक्लोजको मिति तोकेको छ ।
 
यसर्थ माघ १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन र लाभांश पाउन योग्य मानिनेछन् ।