काठमाण्डौ। बैंकहरूले सहज तरीकाले कर्जा प्रवाह गर्न थालेपछि लगानीकर्ता बजारप्रति उत्साहित बनेका छन् ।

यसका साथै पुस मसान्तमा धेरै कम्पनीले साधारणसभा सम्पन्न गरी नगद लाभांशसमेत वितरण गर्न शुरू गरेकाले बजार केहि दिनयतादेखि निरन्तर बढीरहेको छ ।

दोस्रो बजारमा मंगलबार मत्रै करिब २ वर्षपछि ८ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको छ । मंगलवार २ दशमलव ५७ प्रतिशत बढेको बजारमा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता धितोपत्र खरिदबिक्री भएको थियो ।

यसअघि २०७८ माघ २० गते ८ अर्ब रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांक हेर्दा उक्त दिन ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता धितोपत्र किनबेच भएको थियो ।

उक्त दिन धितोपत्रको दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक २ हजार ८७६.७४ विन्दुमा थियो । उक्त समयमा धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरण ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी थियो ।

गत मंसिर २० गतेदेखि नै बजारले गति लिन थालेको छ । वित्तीय प्रणालीमा तरलता सहज हुँदै जानु र बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै जानु धितोपत्र बजारले गति लिनुको प्रमुख कारण रहेको लगानीकर्ताले बताएका छन् ।

बजार जानकार अजयसिंह थापा बजार सबैतर्फबाट सकारात्मक रहेको र राजस्व पनि बढेको छ र महंगी पनि घटेको पाइएकाले सबै कारणले गर्दा बजारमा उच्च मनोबल देखिएको बताउँछन् ।

उनका अनुसार अहिलको बढोत्तरी २ हजार २४० देखि २ हजार ३५० विन्दु सम्म हुन सक्छ ।

उनका अनुसार प्राविधिक रुपमा बजार ‘हायर हाई र हायर लो’ बनाउँदै आगाडि बढेको छ ।अर्का बजार जानकार विरेन्द्र विष्टले चाहिं बजारमा २९ महिनाको वियरिस चक्र पुरा भएको र सबैतर्फ सकारात्मक माहोल रहेको बताए ।

उनका अनुसार बजार करेक्सन हुँदै २ हजार ३०० देखि २ हजार ४०० विन्दुसम्म पुग्न सक्छ ।

धितोपत्र बजारसँग प्रत्यक्ष सम्बन्ध रहेको बैंकको ब्याजदर घट्नुले पनि यो बजारले कारोबार रकममा नयाँ रेकर्ड बनाएको अनुमान कतिपय लगानीकर्ताको भनाइ छ ।

हाल दैनिक ५० देखि ६० हजारको हाराहारीमा लगानीकर्ता सक्रिय कारोबारमा रहेको अनुमान छ। धितोपत्र बजारमा नयाँ ब्रोकरहरूको प्रवेशले समेत लगानीकर्ताको संख्या बढेको छ । 

बुधबार अपरान्ह १२ बजेसम्ममा बजार २०.९८ अंकले बढेको छ । दोस्रो बजार २ हजार १९६.१५विन्दुमा पुगेको छ । कारोबार पनि साढें २ अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ ।

उक्त अवधिसम्ममा अपर तामाकोशी हाइड्रोपावर, नेपाल वेयरहाउजिंङ कम्पनी र हिमालयन रि-इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।