काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार बजार ७.२४ अंकले घटेर २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.६८ अंकले घटेर ३९३.६२ विन्दुमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये २९८ वटा कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।
 

आजको बजारबारे बजार जानकार तथा अर्थशास्त्री सूर्यनारायण पौडेलले बजारले करेक्सन लिएको बताएका छन् ।

उनी भन्छन्, ‘आज भोलुम पनि राम्रो आएको  छ।आज क्यान्डल पनि राम्रो बनेको छ ।आधारभूत रुपमा हेर्दा खेरि बैंकिङ प्रणालीमा ६१ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको छ ।ब्याजदर पनि घटेको छ, त्यसैले बजारमा अहिले टिक्नेले नै पछि जित्ने हो ।’
 

उनका अनुसार अहिले बजार सेक्टर रोटेसन हुँदै चलेकोले यसपटकको बजार भने बलियो रहेको देखिन्छ । 
 

अर्का बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजार करेक्सन हुँदै अगाडि बढेको छ। कारोबार र भोलुमले पनि साथ दिएको छ ।खासगरी बीमा कम्पनीहरुले सेयर किन्न पाएपछि वाणिज्य बैंकहरुमा पनि चहलपहल देखिएको छ।’
 

उनका अनुसार अहिले लगानीकर्ताको सेन्टिमेन्ट पनि बलियो छ। बजार अझै बढ्नै नै बाँकी छ, त्यसैले अनुशासित लगानीकर्ताले मात्रै बजारबाट कमाउने उनी बताउँछन् ।
 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य, हाइड्रोपावर र वित्त समूह बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । यो दिन अन्य समूह १.३० प्रतिशतले बढेको छ ।

यसैगरी, यो दिन सबैभन्दा बढी होटल्स एन्ड टुरिजम समूह घटेको छ । यो समूह १.४२ प्रतिशतले घटेको  छ।

त्यस्तै, म्यानुफ्याक्चर एन्ड प्रोसेसिङ समूह १.२८ प्रतिशतले घटेको छ। यस्तै निर्जीवन बीमा समूह १.१३प्रतिशतले घटेको छ ।त्यस्तै लघुवित्त समूह १.०२ प्रतिशतले घटेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यसैगरी, सोनापुर मिनरल्स एन्ड आयलको ३० करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, यो दिन ङादी ग्रूप पावर कम्पनीको २३ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस्तै रिडी पावर कम्पनीको १६ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।नेपाल वेयरहाउजिङको १५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन चार ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ।

जसमा रिडी पावर कम्पनी, सिनर्जी हाइड्रोपावर कम्पनी,महुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, यो दिन तेह्रथुमा पावर कम्पनीको सेयरमूल्य ९.४३ प्रतिशतले ओरालो लागेको  छ।

त्यस्तै ग्लोबल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.३० प्रतिशतले घटेको छ ।