काठमाण्डौ । डिजिटल इम्पावरमेनन्ट सोसाइटी(डिईएस) र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागबीच शिक्षा र सीपबिचको असमान समस्यामा केन्द्रित रहेर सहकार्य गर्ने सहमति भएको छ । 

सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरुबीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहमति भएको हो ।

आज एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटीका अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागिय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरुलाई रोजगारी सुनिश्चित गर्न सकिने बताईन्।

यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिव लाल भुसालले बजारमा के भईरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। 

कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरुका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए।

हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुबै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरुलाई आफ्ना उत्पादनहरुलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ। डिईएसका अध्यक्ष अर्यालले भने।

यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाईला भएको बताए।