खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एकैसाथ पाँचवटा सडक उद्घाटन गरिएको छ । 
 
एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक बुधबार उद्घाटन गरिएको हो । 
 
आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित रु ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक नगर प्रमुख दीपनारायण रिजालले उद्घाटन गरे। चार किलोमिटर लम्बाइ भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक आठ लाखको लागतमा निर्माण गरिएको हो । 
 
यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इँटाभट्टी–सुर्के–थापाटोल–देवीस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक रु चार–चार लाखमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । सडक उद्घाटनपछि बाम्राङको सबै टोलमा सहज रुपमा यातायात सञ्चालन हुन थालेको छ । 
 
अग्निपीडित परिवारलाई हङ्कङबाट राहत 
 
प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट विस्थापित खोटाङ दुर्छिमका चार परिवारलाई राहत रकम प्रदान गरेको छ । गत चैत २५ गते भएको आगलागीमा विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पदमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईको परिवारलाई प्रतिपरिवार पाँच हजारका दरले राहत रकम प्रदान गरेको हो । 
 
खोटाङ समाज हङ्कङको पहलमा स्थापना गरिएको कोषबाट अग्निपीडितको सहज जीवनयापनका लागि बुधबार राहत रकम प्रदान गरिएको प्राकृतिक प्रकोप सहयोग कोषका अध्यक्ष भोगेन एक्लेले बताए ।