सुजाता पन्त पेशाले मेडिकल एमबीबीएस डाक्टर हुन् । उनी हाल हेटौँडा अस्पतालमा कार्यरत छिन् । यीबाहेक साहित्य सिर्जनामा रुचि राख्ने र निरन्तर कलम चलाउने उनी आफूलाई थोरै लेखक अनि धेरै पाठक भन्न रुचाउँछिन् ।
उनी आफूलाई सबैभन्दा पहिले यो देशको, यो समाजको एक सर्वसाधारण आमजनता ठान्छिन् । एक मध्यमवर्गीय परिवारमा जन्मेर गाउँका पाखा पखेरामा हुर्केकी एक नेपाली चेलीको प्रेम नोट्स प्रस्तुत गरेका छौं ।
बाल्यकालको समयलाई प्रेमको हिसाबले सम्झिँदा
काभ्रेको पाँचखाल मेरो जन्मस्थल । बाल्यकालको स्मरण गरिरहँदा वास्तवमै खासै प्रेमको अनुभव भएन । केही पारिवारीक चुनौती । अनि ती सबैलाई चिर्दै भविष्यमा केही बन्छु, केही गर्छु भन्ने अठोटका साथ चलेका कदम । सायद माया प्रेम यस्ता कुराहरुमा अल्झिएनन् । प्रेम थियो त केवल परिवारप्रति एकदम धेरै । त्यसैले बाल्यकालदेखि नै धेरै जिम्मेवारी उठाउन सिकियो अनि अर्को एउटा प्रेम थियो आफ्नो भविष्यप्रति ।
सानैदेखि अलि मिहेनती थिएँ । घरपरिवार, साथीभाइ, शिक्षकहरु सबैले एकदम धेरै माया हौसला दिनुहुन्थ्यो । उहाँहरुको मप्रतिको प्रेमलाई मैले कसरी न्याय दिन सक्छु भनेर त्यसैमा तल्लीन भइयो र निरन्तर जीवनको लक्ष्य हासिल गर्न लागिरहेँ । कला, लेखन र साहित्यप्रति चाहिँ सानैदेखि प्रेम थियो ।
किशोर अवस्थामा प्रेमको अनुभव
माथि पनि उल्लेख गरेँ, सानैदेखि पारिवारिक जिम्मेवारीका केही हिस्सा मैले पनि उठाउनुपर्ने भएकोले तनमन त्यतैतिर केन्द्रित रह्यो । किशोर अवस्थामा केही प्रेमप्रस्ताव आए । तर ती कुराहरुलाई जीवनमा त्यस्तो महत्व कहिल्यै दिइएन । सायद समय परिस्थितिले सधैं सधैँ संघर्ष गर्नै सिकायो ।
एउटा तीतो यथार्थ, मेरा प्रिय दाइ(जसलाइ मैले मायाले कान्छू कालू भनेर बोलाउने गर्थें) । उहाँ एउटा जेनेटिक रोग ‘मस्कुलर डिस्ट्रोफी’बाट शारीरिक रुपले अशक्त हुनुहुन्थ्यो । त्यसैले सानै उमेरदेखि मेरो एउटै लक्ष्य उद्देश्य थियो उसको जीवन सकेसम्म सहज बनाउनु । अनि उसको उपचार गर्नु । उमेर र साइनोले उसको बहिनी भएर पनि एउटा अभिभावकको भूमिका खेलेर सधैँ उसैको लागि दौडिरहेँ यद्यपि उसलाई सधैँ बचाइराख्न त सकिनँ । तै पनि मेरो बाल्यकाल र किशोर अवस्थाको प्रेम जीवन र समर्पण जे भने पनि ऊ नै थियो ।
त्योभन्दा बाहिरको प्रेमलाई जीवनमा स्थान दिनै सकिएन । समयले यसरी सिकाइदियो कि मेरो जीवनमा प्रेमको परिभाषा निकै फराकिलो बनाइदियो । बाल्यकाल र अझ बढी किशोर अवस्थादेखि । मेरा दाइजस्तै अशक्त असहाय रोगीहरुप्रति एकदमै धेरै प्रेमभाव जाग्न थाल्यो । र, जीवनको उद्देश्य नै त्यही बन्यो । जसलाई म प्रेम गर्छु तिनीहरुको जीवन सहज बनाउन तिनीहरुको घाउमा मल्हम लगाउन सकूँ । किशोर अवस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तन मभित्र पनि पक्कै भए, तर जिम्मेवारीका पहाडहरुले यसरी थिच्न थाले कि व्यक्तिगत जीवनका इच्छा आवश्यकता चाहना र भावनाहरु कता बिलाए कता दबिए थाहै भएन । सानै उमेरमा समयले केही परिपक्व हुन सिकायो ।
प्रेमपत्र र प्रविधिको उपयोग
प्रेमपत्र मलाई पढ्न चाहिँ एकदम मनपथ्र्यो । पहिलादेखि नै अझ कोहीले एकदम साहित्यिक भाषा प्रयोग गरेर लेखेको छ भने त कहिलेकाहीँ भावनामा बग्ने गर्थें आफैं । प्रेमपत्र लेखेको छु जीवनमा तर अरुको जवाफ दिनका लागि मात्रै लेखेको छु ।
मलाई अझै याद छ, म ९–१० क्लासमा पढ्ने बेलासम्म नि पत्र नै लेख्ने चलन थियो । मोबाइल त एसएलसीपछि मात्रै किनेको हो । एसएलसीअघि जम्मा दुईवटा प्रेमपत्र लेखेको छु तर मेरो प्रेमपत्र अलिक फरक हुन्थ्यो ।
कसैले मलाई मनदेखि नै मन पराएर प्रेमपत्र लेख्थ्यो अनि मेरो लागि आफ्नो समय खर्चिन्थ्यो भने म उस्लाई सम्मान चाहिँ धेरै गर्थेँ तर मेरो जवाफ डिप्लोम्याटिक हुन्थ्यो ।
‘साथी तिम्रो भावनाहरुलाई म सम्मान गर्छु । हेर, जिन्दगी धेरै लामो छ । भर्खर सुरु भएको छ जीवन । भोलि समयले कसलाई कहाँ पुर्याउँछ के थाहा ? फेरि प्रेम र विवाह मात्रै सबथोक पनि त हैन । जीवनमा अरु पनि धेरै पाटाहरु छन् । हाम्रा जिम्मेवारीहरु अरु पनि धेरै छन् । त्यसैले हामी अहिले यस्तो कुरामा अल्झिन हुन्न । असल साथी सधैँ छँदैछौं । भोलिपर्सि ठूलो भएपछि के थाहा न म तिम्रै जीवनसाथी पो हुन्छु कि ? अहिले यी कुराहरु सबै समयको हातमा छोडिदिउँ न है ।’
यति भनेपछि उनीहरु आफैँ सोच्थे अनि केही समयसम्म तिमी भोलिपर्सि भए मेरै भए हुन्थ्यो चाहिँ भन्थे अनि ती साथीहरु छुटिए । समय बदलियो । अनि, को कहाँ पुगे खासै याद छैन । मलाई प्रेम गर्नेहरुलाई सिधै नो भनेर मन दुखाउन पनि सक्दिनथेँ । न त कसैको प्रेमलाई स्वीकार्न नै सक्थेँ । यति कुरा चाहिँ बुझेको थिएँ त्यो प्रेम हैन आकर्षण मात्र हो भनेर । त्यसैले प्रेमपत्र लेखियो त त्यत्तिकै लागि लेखियो ।
केही समयपछि फेरि उताबाट पत्र आयो ।
‘तिमीले त मलाई मेरो अभिभावक जस्तै गरी सम्झायौ र मेरो जीवनको लक्ष्य पहिल्याउन एकदम सहयोग गर्यौं ।’
(आज पनि ती साथीहरु मलाई एकदम धेरै सम्मान गर्छन् र आत्मीय एवम् शुभचिन्तक छन् मेरा)
पहिलो प्रेम र डाक्टरका लागि प्रेम
जीवनमा त्यस्तो खालको प्रेम भन्ने चाहिँ खासै अनुभव छैन अहिलेसम्म । म पहिलादेखि नै अलिकति स्ट्रोङ लेडी थिएँ । जीवनमा हरेक कुरा एक्लै ह्याण्डल गर्नुपर्छ अनि जीवनमा माथिसम्म उड्नुछ भने स्वतन्त्र भएर उड्नुपर्छ । त्यसैले हरेक कुरामा हरेक ठाउँमा एक्लै संघर्ष गर्नुपर्छ भन्ने मान्छे थिएँ ।
मेरा नजिकका साथीहरुको प्रेम, धोका, विश्वासघात सबैसबै नजिकबाट नियालिरहँदा मलाई लाग्थ्यो प्रेम एकदमै खतरनाक जञ्जिर हो, बन्धन हो, जहाँ डुबेपछि मान्छे मान्छे भएर निस्किन सक्दैन । सधैँ सबैले प्रेम विवाहको बारेमा सोध्दा म प्रेममा परेर सहिद बन्न चाहदिनँ भन्ने जवाफ दिन्थेँ र मलाई वास्तवमा त्यस्तै नै लाग्थ्यो कि प्रेमले मान्छेलाई सहिद बनाउँछ । त्यसैकारण म प्रेममा पर्न चाहिनँ ।
सबैले केटीहरु भावनामा छिट्टै बग्छन् र कमजोर हुन्छन् भनिरहँदा म चाहिँ आफूलाई अलिकति कट्टर बनाएर उभ्याउन चाहन्थेँ । किन र कसरी हामी पुरुषभन्दा कमजोर ?
जब मेडिकल कलेजमा डाक्टर पढ्न आएँ त्यस बेलादेखि त मानव शरीरको अध्ययन गर्ने क्रममा मैले प्रेमलाई हर्मोन असन्तुलनको अवस्था हो, हाम्रो शरीरमा हुने विभिन्न हर्मोनहरुको उतारचढावसँगै आउने क्षणिक अनुभूति हो भन्न थालेँ ।
जब केही व्यक्तिहरुले मैले जीवनमा स्थान नदिँदा नदिँदै पनि मेरो भलाइको लागि धेरै कुराहरु त्याग गरेर बलिदान गरेर मेरो खुसीको लागि आफ्नै चाहना बिर्सेर आत्मीयता देखाए, त्यसपछि प्रेमलाई हेर्ने मेरो नजर बदलियो । प्रेम प्राप्ति मात्रै हैन रैछ त्याग र बलिदान पनि रैछ ।
त्यसपछि जीवनमा प्रेमको परिभाषाको दायरा आफैं बढदै गयो । र बिस्तारै ती सबै आत्मीय मनहरुप्रति प्रेम आफैं पलाउदै गयो मभित्र । र बुझ्दै गएँ प्रेम साँच्चिकै एउटा अनन्तको अनुभूति रैछ । जस्ले मनलाई शीतलताको अनुभूति दिन्छ अनि आफ्नै जीवन धेरै प्यारो बनाइदिन्छ या आफैंप्रति प्रेम जगाइदिन्छ ।
जीवनमा को आए ? को गए ? को बाँकी छन् ? अनि कोसँग बिहे हुन्छ ? कोसँग शारीरिक सम्बन्ध हुन्छ ? प्रेम त्यतिमा सीमित छैन । र त्यो परिधिभित्र मेरो प्रेमको परिभाषा अटाउँदैन जुन मेरा जीवनका अनुभव र भोगाइहरुबाट मैले बनाएको छु । कहिलेकाहीँ तपाइँले नदेखेको नभेटेको कुनै मान्छेसँग पनि अगाध प्रेम हुनसक्छ र तपाईंकै अङ्गालोमा रहेको मान्छेसँग पनि घृणा हुनसक्छ ।
डाक्टरको लागि प्रेम
डाक्टरको लागि मात्रै नभइ सम्पूर्ण मानवजातिकै लागि प्रेम एक अनन्तको अनुभूति हो अनि त्यो भन्दा बढी मानवजातिको अस्तित्व हो । जस्लाई म love is very existence of us भन्ने गर्छु । हो हाम्रो अस्तित्व नै प्रेम हो ।
तपाइँका शरीरका अङ्गहरुले एक अर्कालाई प्रेम गर्छन् । एक अर्काको काममा सघाउँछन् । र त तपाईं जीवित हुनुहुन्छ । तपाइँले आफ्नो मनलाई प्रेम गर्नुहुन्छ र मनका चाहनाहरु सकेसम्म पूरा गर्न खोज्नुहुन्छ । यति भनिरहँदा कति कुराहरु शब्दमा व्याख्या गर्न सकिन्नँ प्रेमको बारेमा । बस् अनुभूति मात्रै गर्न सकिन्छ ।
प्रेम, विवाह, पैसा र सेक्स
प्रेम आफैँमा एउटा अनन्तको अनुभूति अनि हामी मानवजातिको अस्तित्व हो । प्रेमको कुनै नियम, सीमा, परिधि र बन्धन हुँदैन । मनको कुनै नियम हुँदैन । उमेर, वैवाहिक जीवन या व्यक्तिको स्तर प्रतिष्ठा आदिसँग जोडेर प्रेमलाई धमिलो बनाउनु भनेको हाम्रो आफनै भ्रम हो जस्तो लाग्छ ।
प्रेम कुनै व्यक्ति विशेषसँग मात्रै सम्बन्धित कुरा मात्रै पनि हैन । प्रेम मानिसको सबैभन्दा बलियो शक्ति पनि हो र सबैभन्दा ठूलो कमजोरी पनि हो । त्यो व्यक्ति व्यक्तमा भर पर्ने कुरा हो । प्रेमलाई जीवनको शक्ति बनाउने या कमजोरी ?
विवाह हाम्रो पूर्वीय दर्शनअनुसार सेक्सलाई अनुमति दिने र आफ्नो वंशलाई निरन्तरता दिने एउटा लाइसेन्स हो । एक अर्थमा जीवनको यात्रा सहज सजिलो बनाउनका लागि दुई विपरीत लिङ्गीप्रतिको प्रेमको संस्थागत स्वरुप हो विवाह । तर विवाह र प्रेम पर्याय कदापि हैनन् । प्रेममा विवाह नहुन सक्छ तर विवाहमा प्रेम हुनैपर्छ ।
सेक्स मानिसको एउटा जैविक आवश्यकता हो जुन हरेक प्राणीमा हुने गर्छ । धेरैजसो विपरीत लिङ्गप्रतिको आकर्षण यहि जैविक आवश्यकताका लागि हुने गर्छ ।
प्रेम र सेक्स एकअर्काका पर्याय कदापि हैनन् । यो दुई बिल्कुल फरक पाटाहरु हुन् । र प्रेमलाई टिकाउन सेक्सको आवश्यकता पर्दैन । केवल लस्ट अर्थात कामवासनालाई टिकाउन मात्रै सेक्सको आवश्यकता पर्छ । युवा पुस्तामा पछिल्लो समयमा सेक्सप्रति धेरै नराम्रा धारणाहरु बनेका छन् यसको मूल कारण पनि हाम्रै संस्कार हो, जुन संस्कारले हामिलाई सेक्सको बारेमा खुलेर कुरा गर्न कहिल्यै दिएन र कौतुहलता जिज्ञासा भन्ने कुरा त्यसै गोप्य कुराहरुमा न हुने गर्छन् ।
सेक्स न हामीले सोचेजस्तो भयङ्कर ठूलो कुरा हो न त सामान्य खेल नै । मानिसका अन्य आवश्यकताजस्तै एउटा साधारण आवश्यकता हो जसको आफ्नै मर्यादाहरु हुन्छन् । फल काँचोमा खानु र पाकेपछि खानुको स्वाद फरक हुन्छ । हो ठ्याक्कै त्यस्तै हो किशोर अवस्था अनि सेक्स पनि । त्यसैले एउटा लेवलको परिपक्वता नआउञ्जेल पर्खिनु नै ठिक हुन्छ ।
पैसा मानिसको जीवन निर्वाहका लागि आवश्यक वस्तु हो जुन तपाईं हामी सबैलाई चाहिन्छ । तर पैसाले मान्छेको कुनै कुरा मूल्याङ्कन गरिनु हुँदैन । पैसाले जीवनशैलीको गुणस्तर बढाउला तर जीवनको गुणस्तर बढाउन सक्दैन । पैसा केही हो तर सबथोक हैन अनि जीवनको एकदमै चलायमान वस्तु भन्न रुचाउँछु म ।
कोभिड १९ र प्रेम
वास्तवमा कोभिड १९ ले हामीलाई धेरै कुराहरुको पाठ सिकाएको छ । सबैभन्दा ठूलो पाठ भनेको हामीले आफूले आफूलाई प्रेम गर्न सिकाएको छ अनि आफ्ना नजिककालाई प्रेम गर्न सिकाएको छ ।
मानिसले घरपरिवारको मूल्य सायद अझै धेरै बुझेको छ । जीवनमा पैसा प्रतिष्ठा र पहुँचका लागि हामी जति दौडिरहेका थियौं आफैँलाई र आफ्नाहरुलाई प्रेम गर्न बिर्सिएर । आखिर ती सब क्षणभरका लागि रहेछन् भनेर सिकाएको छ । प्रेमको परिभाषा अझ धेरै फराकिलो बनाएको छ कोभिड १९ को महामारीले ।
कुनै दिन हामीले ४ मिनेट समय दिन नसकेका हाम्रा बूढा बाबुआमासँग ४ महिना सँगै बस्दाका ती अनुभवहरुले सायद हिजोका दिनमा उहाँहरुको त्यो प्रेम धेरै मिस गरे कि भनेर पनि महसुस गराएको छ । अर्कोतिर भौतिक सामिप्यता मात्रै प्रेम हैन भनेर पनि सिकाएको छ ।
आज हामी स्वास्थ्यकर्मीहरु घर परिवार आफ्ना व्यक्तिगत इच्छा चाहनाहरु बिर्सेर विगत छ महिनादेखि खटिइरहेका हौँ । कारण हामीलाई आफ्नो पेशाप्रति अत्यन्तै प्रेम छ अनि मानवजीवनप्रति हामीले पाएको जिम्मेवारीप्रति पनि अत्यन्तै प्रेम छ । हामी र हाम्रो सोचाइको धरातल यो महामारीले राम्ररी देखाएको छ ।
हामीलाई आफ्नाहरुप्रति प्रेम छ र त हामी आफ्नो कारणले अरुलाइ रोग नसरोस् भनेर बन्द कोठामा थुनिएर बसेका छौं किनकी हामी आफ्ना प्रिय मान्छेहरु अस्पतालमा छटपटाएर आइसियु र भेण्टिलेटरभित्र छटपटाएको हेर्न सक्दैनौं । कारण त्यही प्रेम त्यही आत्मीयता अनि त्यही दायित्वबोध ।
हामी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो पेशाप्रतिको प्रेम र त्यागको भावना अझै बढेको छ । सबैभन्दा ठूलो कुरा हामीले अरुलाई प्रेम बाँड्न आफूभित्र प्रेमको खानी हुनुपर्छ त्यसैले सबैभन्दा पहिला स्वप्रेम या आफूले आफैंलाई प्रेम गरौं किनकी भरिएको हातबाट मात्रै हामी अरुको लागि समर्पण गर्न सक्छौ ।
जीवनमा मिस गर्ने एउटा प्रेमिल घटना
घट्नाहरु त जीवनमा धेरै छन् । मेरो प्रेमको परिभाषाभित्र धेरै कुराहरु अटाएका छन् । जीवनमा मैले आजको दिनसम्म आइपुग्दा सबैभन्दा धेरै कमाएको कुरा नै सायद प्रेम, विश्वास र आत्मीयता हो । अनि त्यो भन्दा बढी पुरुष मित्रहरुबाट कमाएको सम्मान जुन मेरो जीवनको एकदमै महत्वपूर्ण उर्जा हो ।
आजसम्म जीवनका विभिन्न फेजहरुमा पुरुषहरुको हुलमा एक्लै नारी भएर काम गरेँ तर उहाँहरुबाट पाएको साथ सहयोग, एकदमै चोखो मनले देखाइएको आत्मीयता अनि त्योभन्दा बढी उहाँहरुबाट पाएको सम्मान । खुसी लाग्छ जीवनलाई फर्केर हेर्दा पनि । होला यदाकदा कहीँ कतै नारीहरु भनेको पुरुषको भोक लागेको बेलाको भोजन मात्रै हुन् भन्ने सोचाइका मान्छेहरु पनि भेटिए होलान् र म तिनीहरुबाट चार कोष टाढा भागेँ होला तर सबैलाई एउटै नजरले नहेरौं । मैले एकदमै धेरै सम्मान कमाएको छु पुरुषहरुबाट ।
एउटा त्यस्तै कामकै सिलसिलामा एउटा प्रेमिल घटना घट्यो धेरै वर्ष पहिले ।
म एक पुरुष मित्रसँग अफिसबाट काम सकाएर निस्किँदै थिएँ । तीजको दिन थियो । उहाँले ‘म्याडम हजुरको ब्रत छ, केही फलफूल या जुस खानु’ भनेर नजिकैको जुस पसलमा लग्नुभयो । पहिला पानी पिउँछु, चिसो पानी मैले भनेँ । पानी आइपुगेपछि उहाँले मेरो गिलासमा पानी हाल्दिनुभयो र मलाई दिनुभयो । मैले पानी पिएँ र जुस पनि पिएँ।
त्यत्तिकैमा एउटा पुरुष साथीले जिस्किँदै फोन गर्यो “सुजु कता छौ आज कस्को लागि व्रत हो ?“ मैले भने व्रत त हो तर केही मागेको छैन भगवानसँग । त्यसपछि के खायौ भनेर सोध्यो ।
मैले भने पानी पनि खाको छैन । ल पख बेलुका तिम्रो अस्पतालमा पानीको बोतल लिएर म आउँछु पानी पिलाउन ।
मैले जिस्किँदै हुन्छ । आउ न तर तिमी बिजी मान्छे कहाँ भ्याउँछौ र भनेँ । यत्तिकैमा त्यहाँ छेउमा भएको पुरुष साथीले त्यो सबै सुनिरहनु भएको रैछ । उहाँले त्यहाँबाट निस्केर पनि मलाई अफिसकै काम देखाएर ३ घण्टा अल्मलाउनुभयो र म ढिलो घर पुगेँ ।
केही दिनपछि उहाँले सोध्नुभयो, ‘म्याडम हजुरलाई तीजको दिन फोन गर्ने साथी पानी पिलाउन आयो कि नाइ ?’ मैले भनेँ ‘आएन सर किन सोध्नुभयो हजुरले ?’ उहाँले जवाफ दिनुभयो, ‘त्यो दिन त्यो साथीसँग हजुरको भेट नहोस् भनेर नै मैले त्यति ढिलासम्म अल्मल्याएको थिएँ, मैले सरी ल ।’
वास्तवमा सम्झिँदा अचम्म लाग्छ । प्रेम। ईष्र्या, जेलसी भन्ने चिज मान्छेमा एकाएक कसरी पैदा भैदिँदोरैछ । सम्झिँदा आज पनि रमाइलो लाग्छ त्यो घटना ।
आजको समाजमा प्रेम र मेरो सन्देश
आजको समाजमा प्रेम विकासभन्दा विनाश गर्ने माध्यम बनिरहेको छ।
प्रेमको नाममा भएका सामाजिक मर्यादा बाहिरका कुराहरुले विभिन्न प्रकारका दुर्घटनाहरु निम्तिरहेका छन् । त्यो वास्तवमा प्रेम हैन । त्यो क्षणिक आकर्षण र कामवासनाको परिणाम हो ।
सँगै युवावस्थामा हुने मानसिक तनाव चिन्ता र डिप्रेसनको कारण पनि प्रेम नै बनिरहेको छ । तसर्थ प्रेम आफैंमा गलत हैन । प्रेमप्रत्तिको हाम्रो धारणा मन परेपछि पाउनैपर्छ भन्ने प्रवृत्ति अनि जवानीको जोश जस्ले दिनानुदिन हत्या र आत्महत्या जस्ता घटनाहरु बढिरहेका छन् । यीसँगै समाज राष्ट्रले एक उर्जाशील वर्ग गुमाइरहेको छ ।
त्यसैले मैले सबैलाई भन्ने गर्छु प्रेमलाई जीवनको उर्जा, साहस र इनर्जी बनाउने हो । ‘फल इन लभ हैन राइज इन लभ’ मेरो प्रेमको सन्देश यही नै हो सम्पूर्ण यूवापुस्तालाई ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago