झापाको बुधबारेमा जन्मेर काठमाडौं हुँदै जापानमा कर्मथलो बनाउँदै आएकी तनुजा शर्मा व्यवसायमा जीवन खोजिरहेकी छिन् । नेपाली उत्पादनलाई विदेशमा फैलाउनु र त्यहाँ भएको मागको परिपूर्ति गराउनु उनको ध्याउन्न हो यो बेला ।
कसैलाई सहयोग गर्नु पनि मानवको कर्तव्य हो भनेर सम्झने उनी जापान गएको ४ वर्ष भयो । सन् २०१६ मा उनी जापान गएकी हुन् । सन् २०१७ देखि भने उनले जापानमै व्यावसायिक जीवन आरम्भ गरिन् ।
उनी काठमाडौंमा पढाइका सिलसिलामा बस्दा पनि व्यवसायमै लागेकी थिइन् । सन् २००९ मा उनी काठमाडौं आइन्, स्नातकोत्तरको अध्ययनका लागि । व्यवसायमा रुचि भएकाले त्यसैबेला बानेश्वरमा जस्मिन कलेक्सन सुरु गरेकी थिइन् । यसरी उनको व्यावसायिक यात्रा आरम्भ भएको हो ।
यसअघि झापामै सञ्चारकर्म गर्थिन् तनुजा ।
कसरी काम गर्ने, कहाँबाट सामान ल्याउने, कसरी बेच्ने, कति मार्जिन राख्ने भन्ने जानेकी थिइन् त्यतिखेरै । त्यही सीप अहिले उनका लागि उपयोगी भएको छ, जापानमा व्यवसाय गर्नका लागि पनि ।
नेपाली स्टोरहरु जापानमा नपाएपछि उनले केही गर्ने सोंच राखिन् । अनि, कालिगढ राखेरै काम सुरु गरिन् । ‘जसरी काठमाडौंका बजारमा सामान पाइन्छन्, त्यसरी नै जापानमा पनि अवसर सिर्जना गर्न लागिपरेको छुु ।’ उनी भन्छिन् ।
जापानको नागोया, टोकियाबाट ४५० किमि पर पर्दछ । जापानको तेस्रो ठूलो सहर हो नागोया ।
घरेलु सामान, लत्ताकपडा, नेपाली फ्लेवरका अर्गानिक सामानहरु पाइन्छ उनले सञ्चालन गरेको स्टोरमा । नेपाल र भारतबाट सामान मगाउँछिन् । नेपाली पहिरनहरु, साडी, लेहङ्गा आदि ।
जापानमा यसरी व्यवसाय गर्न कम्पनी दर्ता गर्नु अपरिहार्य हुन्छ । उनी भन्छिन्, ‘आफूखुसी व्यवसाय आरम्भ गर्न पाइन्न यहाँ । मैले चाहिँ परिक्षित इन्टरनेशनल नामक कम्पनी दर्ता गरेर त्यसै अन्तरगत काम गरिरहेको छु ।’
लत्ताकपडा र खाद्यान्नको लाइसेन्स लिएर काम सुरु गरेको उनको स्टोरबाट नेपाली खाद्यान्न जस्तै गुन्द्रुक, गहुँको पीठो, टिमुरको अचार, डल्ले खुर्सानी, कोदोको पीठो, मकैको च्याख्ला, नेपाली अचारहरु, गुन्द्रुकको अचार, मिक्स डल्ले खुर्सानी र आँपको अचार, धनियाँको धूलो र दाना विशेष बिक्री हुन्छन् । धनियाँको धूलो र दाना चाहिँ जापानीहरुले पनि रुचाउँछन् ।
जापानी, भारतीय, पाकिस्तानी, बंगलादेशी र नेपालीहरु खरीदका लागि आउँछन् ।
जापानको बजार हेर्दा नेपाली उत्पादनमा आधारित व्यवसायको राम्रो सम्भावना छ । आठ महिना जाडो हुने हुँदा लत्ताकपडाको राम्रै व्यापार हुन्छ । खाद्यान्नको चाहिँ बाह्रै महिना व्यापार हुन्छ ।
‘व्यापार उत्साहजनक छ । यो ठाउँ आफैंमा पनि अप्ठेरो छ ।’ भन्छिन्, ‘यातायात महंगो छ । लुगाका लागि यात्रा गर्ने कल्चर छैन । सोखका लागि लुगा लगाउन्नन् यहाँ । यसकारण व्यापार गर्न मुश्किल छ ।’
मास कम्युनिकेसनमा स्नातकोत्तर गरेकी उनी घुम्न डुल्न मन पराउँछिन् । यस्तो बानी भएकैले पनि घुम्न जाने क्रममा भारतका विभिन्न ठाउँमा ठूलाठूला कपडाका कम्पनी, पसल, स्टोर र व्यवसाय देखिन् ।
‘यस्तै व्यवसाय गर्न पाए हुन्थ्यो । उत्पादन नै गर्न पाए हुन्थ्यो । सस्तोमा दिन पाए हुन्थ्यो । बिचौलियाले लिने फाइदा नदिन पाए नि हुन्थ्यो ।’ यस्तै कुराहरुले उनको मनमा छोइरहेको थियो । अनि विकल्प सोचिन् ।
जागिरमा हरेक कुराको सीमा हुन्छ भन्ने उनलाई लाग्यो । आत्मनिर्भर बन्नका लागि उनले व्यवसाय गरेकी हुन् ।
उनी भन्छिन्, ‘सजिलो काम होइन यो जापानमा । अनलाइनबाट केही पिस बेच्नेभन्दा कम्पनी खोलेरै काम गर्न कठिन छ । नेपाली ढाकाहरु ल्याउन पाएकी छैन लकडाउनपछि ।’ तर सम्भावना उनले पहिचान गरिसकेकी छिन् ।
केही अगाडि मात्र उनले तीनवटा बिहेका लागि बेहुला बेहुलीको सामान प्याकेजमै म्यानेज गरिन् ।
जापानमा तीज धेरै नै भव्यतासाथ मनाउँछन् । स्थानीय संघसंस्थाहरुले कार्यक्रमहरु संयोजन गर्छन् । व्यापार पनि एकदम राम्रो हुन्छ । अहिले भने कोभिड १९ को असर परेको छ ।
साडी, चोलो, लेहेंगा, चुरा, सिन्दुुर, पोते धेरै बिक्री हुन्छ तीजमा । अधिक खरीद चाहिँ नेपालीहरुले गर्छन् ।
नेपालीहरुले गिफ्ट गरेको सम्झेर जापानीहरुले नेपाली पहिरनका सामान किनेर पनि लैजान्छन् । यस्तो अनुभव पनि छ उनको ।
जापानीलाई पनि लक्षित गर्ने आगामी योजना छ उनको । अझ विज्ञापन गरेर बेच्ने उद्देश्य छ उनको ।
रुचि भएर पनि होला उनलाई यो कामप्रति गर्व लाग्छ ।
जापानमा समयको धेरै नै मूल्य छ । एउटै छानामूनि नेपाली सामान राखिएकोमा नेपालीहरु खुसी भएको क्षणले उनलाई उत्साह दिन्छ ।
उनी भन्छिन्, ‘आनन्द आउने घटनाहरु धेरै छन्, अझै धेरै काम गर्नुछ ।’
व्यापार सिजनअनुसार हुन्छ । दैनिक हिसाब हेर्दै उनी भन्छिन्, ‘अगस्ट १५ को कुरा गर्दा टेलरलाई छुट्टयाएर पनि ३० हजारको सेल भएको छ ।’
‘नागोया सहरमा त मै हुँ यसरी नेपाली व्यवसाय गर्ने । टोकियोतिर चाहिँ भेटेको छु ।’ उनी व्यापारमा कहाँ के हुँदैछ भन्ने कुरामा आफूलाई अपडेट राख्छिन् ।
नेपाली उत्पादन विदेश लैजान धेरै चुनौती छन् । सहजीकरण गर्ने वातावरण भए अझ धेरै नेपाली उत्पादनको व्यापार बृद्धि हुने थियो । उनी भन्छिन्, ‘यहाँ नेपाली उत्पादनको मेला पनि लाग्छ । नेपालबाट सामान ल्याउन समयतालिकाको टुंगो हुन्न । हप्तादिन १० दिन लाग्ने हुन्छ । कार्गो सुविधा राम्रो छैन ।’
खानेकुरा लैजाँदा चाखेर मात्र लैजान पाइन्छ ।
अतिरिक्त खर्च दिनुपर्ने, बिचौलिया हुने, खानेकुरा लैजान थप पैसा लाग्छ भन्ने बाधाहरु छन् ।
टिमुरको अचार, गुन्द्रुकको अचार, डल्ले खुर्सानीको अचार जापानमा महंगो पर्न जान्छ । कार्गो र यातायातका खर्चका कारण पनि ।
सरकारले व्यवस्थित र सहुलियत व्यवस्था गरिदिए हुने भन्ने उनको मत छ । व्यवस्थित आयातनिर्यातका लागि केही पहल गरिदिए हुनेथ्यो सरकारी तहबाट भन्ने उनको आग्रह छ ।
नेपालबाट जापानमा निर्यात हुनेमध्ये टिमुरको अचार काभ्रेदेखि जान्छ । डल्ले खुर्सानीसँग मिसाएर टिमुरको छोप राखेर बनाएको उक्त अचार एक पाउका ११ सय पर्छ ।
‘नेपालीभन्दा भारतीय र पाकिस्तानी सामान बढी बिक्री गर्नुपरेको छ । यो बाध्यता हो हामीहरुको लागि’, उनी भन्छिन् ।
नेपाली उत्पादनको बजारको एकदम राम्रो सम्भावना छ जापानमा ।
८० हजार नेपालीमध्ये ३० हजार महिला रहेछन् भने र, एउटा तीजमा ढाकाको साडी लगाउने हो भने नेपाली ढाकाको व्यवसाय कत्ति राम्रो हुन्छ होला । उनी नेपाली उत्पादनको व्यवसायको सम्भावना यसरी देख्छिन् ।
नेपाली सामानको व्यापक स्टोर बनाउने योजना छ उनको ।
वार्षिक रुपमा नेपालबाट लाखौंको सामान लैजान्छिन् । २ वर्ष अगाडि १० लाख बराबरको सामान एउटा सिजनमा मात्र मगाएकी थिइन् ।
तीजको सिजनमा विज्ञापन प्रचारप्रसार हुँदा लाखौंको व्यापार हुने सम्भावना हुन्छ । बजारका लागि नेपाली सामान कसरी ल्याउने भन्ने तयारीमा पनि छिन् उनी । नेपाली उत्पादकसँग नियमित सरसल्लाह गर्छिन् ।
नेपाल आइन् भने फर्किँदा नेपाली सामान बिक्रीका लागि लग्छिन् ।
थाल, बटुका, अम्खोरा, भोजपुर धरानतिर हातले पिटेर बन्ने गाग्री, कलश, दियो, मूर्तिहरु आदिका भाँडा सेक्सन छ उनकोमा । नेपाली स्टोर जहाँ हरकुरा पाउन सकिन्छ, त्यस्तो बनाउने योजनामा छिन् तनुजा ।
प्रचारप्रसार गर्नका लागि सम्पर्क नम्बरसहित पर्चा बनाएकी छिन् । त्यो प्रत्येक घरघरको टोकरीमा पुग्छ ।
स्टोरअगाडि डमीलाई छड्के तिलहरी, नौगेडी, साडी, चोलो, सल लगाएर राखिएको छ ।
अन्तर्राष्ट्रिय सेन्टर छ उनको पसलनजिकै । समयसमयमा त्यहाँ गएर पनि व्यवसायको प्रचार गर्छिन् उनी ।
कस्टूमरबाट एकदम सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन् । आँटिलो काम गरेको भनेर उनको प्रशंसा भइरहेको छ ।
उनकोमा २ जना नेपाली कर्मचारी छन् ।
तनुजा प्रबन्धक छिन् कम्पनीको । लामो अवधि नै व्यवसाय गर्ने उनको सोच छ ।
रेष्टुरेण्ट पनि छ उनको कम्पनीअन्तरगत । मझेरी नामको रेष्टुरेण्ट चाहिँ २ जना कर्मचारीले सञ्चालन गरिरहेको छन् । रेष्टुरेण्टमा पनि नेपाली मेनु ।
दालभात, ढिँडो, तरकारी, गन्द्रुक, सिस्नोको तरकारी आदि । विशेष गरी जापानीहरुले नान र दालकरी रुचाउँछन् ।
रसबरी, लालमोहन जस्ता मिठाइको पनि राम्रो माग छ ।
नेपालमा व्यवसाय गर्ने र विदेशमा व्यवसाय गर्नेहरुको सहकार्य हुने हो भने अझ यस किसिमको व्यवसायले नेपाली उत्पादनको थप प्रबद्र्धन गर्ने थियो ।
व्यापारिक प्रचारका लागि उनी सामाजिक सञ्जालको उपयोग गर्छिन् । टिकटकमा उनको भ्यूअर २०औं हजार भएको कुरा सम्झिँदै उत्साहित हुन्छिन् । भन्छिन्, ‘म डिजाइन गर्छु । कालिगढले सिलाउनुहुन्छ । यो काममा एकदम व्यस्त छ ।’
नेपाल छँदा एउटा गीति एल्बम पनि निकालेकी थिइन् । उनी सम्झिन्छिन्, ‘शिव परियार, प्रमोद खरेल, दुर्गा खरेल, दीपक लिम्बुले गाउनुभएका छन् मेरा गीतहरु ।’
गीत कविता लेख्ने उनको अहिले चाहिँ व्यावसायिक व्यस्तता छ ।
‘कोभिड १९ को असर परे पनि केही गर्न खोज्नेलाई यहाँ सरकारबाट राम्रो सेवासुविधा छ ।’ सकारात्मक हुँदै तनुजा भन्छ्नि, ‘हामी व्यवसायमा लस भए पनि हतोत्साही हुनुपरेको अवस्था छैन ।’
कामलाई प्रेम गर्ने र निरन्तर जाँगरिलो भएर लागिपर्ने तनुजा व्यवसायलाई नै बढाउने योजनामा छिन् । एसियाली देशहरुको सेक्सन–सेक्सन बनाउने सपना छ उनको ।
नेपाली उत्पादनलाई सरकारले नै सिस्टम र नीति बनाएर सर्वसुलभ रुपमा सुलभ मूल्यमा पाउने अवस्था बनाउन सके हुन्थ्यो भन्ने उनलाई लाग्दछ ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago