-प्रकाश बञ्जारा
यूएई । गत हप्तादेखिको रचना वाचनको ह्याङ्गओभर मेटाउन यो हप्ता संयुक्त अरब ईमिरेट्स युएईको सारजाहतिर लागियो त्यो पनि झण्डै झण्डै तानाशाही शैलीमा । संचारकर्मी तथा साहित्यकार साथी जे सागरसँगको फेसबुके सम्वादपछि थाहा भयो युएईमा रहेका नेपाली साहित्यकर्मीहरुले शब्दको खेती गर्ने गरेको चलन । स्रष्टा भेटघाट तथा सिर्जना वाचन डवली नाम दिएर जुझारु देश र भाषा प्रेमीरुले हरेक २ महिनामा अक्षरहरुको बुलन्द आवाज प्रहार गर्ने गरेको जानकारी पाएपछि सागर जीकै सवारी सहयोगमा सारजाहा पुगियो । गाडीमा यात्राभर अर्का साहित्यकार मित्रहरु डिपि भण्डारी, सन्ध्या सुस्केरा र पत्रकार साथी भुपराज बस्याल पनि साथमै हुनुहुन्थ्यो । यात्राभर हामीले युएईमा रहेका श्रमिक समस्यालाई पत्रकारितामा माध्यमबाट कसरी माथिल्लो तहमा पुर्याउन सकिन्छ भनेर झोले बहस गर्यौं । 
सागर जीले भिजिट भिषामा आउने नेपालीहरुमा युएईको सामान्य जानकारी समेत नभएको तथा आफ्नो बायोडाटा बनाउन समेत ज्ञान नभएको प्रति चिन्ता जनाउँदै उनीहरुका लागि जानकारीमूलक रिपोर्टका लागि आफू लागिपरेको बताउँदै गर्दा भुपराज जी भने दलालमार्फत सेटिङ्गमा आउने कामदारहरुले दुःख पाए पनि आफूलाई ठग्ने दलालको नाम बाहिर ल्याउन नचाहाँदा बास्तविक पीडकहरुले उन्मुक्ति पाउने गरेको यथार्थ खोल्नुभयो । लगभग १ घण्टाको यात्रापछि हामस् युएईको सारजहा प्रान्त अन्तर्गतमा रहेको नेपाली व्यवसायीले चलाएको रेस्टुरेन्ट मोमो हाउसमा पुग्यौँ ।
हामी नपुग्दै युएईका बिभिन्न प्रान्तमा काम गर्ने नेपाली भाषा, साहित्य र सिर्जनामा खरिएर लागि परेका स्रष्टाहरुको भीड नै लागिसकेको थियो । कार्यक्रम शुरु हुने निर्धारित समय ११ बजे भनिएता पनि मुस्लिम धर्मावलम्विले हरेक शुक्रबार विशेष रुपमा गर्ने दिनको नवाजका कारण होटलभित्र कोही पनि बस्न नपाउने नियम लागू गरिएको रहेछ सारजाहा प्रान्तमा । अतिथीलाई खाडीको घामबाट जोगाउने लक्ष्य स्वरुप १ बजेबाट मात्रै कार्यक्रमको चहलपहल सुरु गरियो । रचना वाचनका साथसाथै धेरै रचना सुन्ने अवसर पक्कै पनि सानो अवसर थिएन परदेशी मनलाई । नेपालबाट २ जना विशेष अतिथि आउनुभएको कारणले यसपालिको बाचन कार्यक्रमलाई तेस्रो हप्तामा सारिएको जानकारी पाइयो । नत्र डवलीले हरेक दोस्रो महिनाको दोस्रो शुक्रबार वाचन कार्यक्रम गर्दै आइरहेको रहेछ । थोरै परिचित अनुहार बाहेक अरुसँग खुलेर कुरा गर्न नपाए पनि बुलन्द आवाजमा देशप्रेम, भातृत्व, माया ममता, प्रवासी पीडा तथा प्रियसी अनि प्यालाका कुराहरु करिब ५ घण्टासम्म सुन्ने सुनाउने क्रम चलिरहयो ।
लामो समयसम्म भेट गर्न नपाएका संचारकर्मी साथी लक्ष्मण खनालले फर्किने बेलामा ठूलो सहयोग गर्नुभयो । बेलुका जागिर खानुपर्ने भएकोले आयोजकलाई खुसुक्क भनेर चाँडै कार्यक्रमबाट भागियो । त्यहि शैलीलाई मैले माथि तानाशाही शैली भनेर सम्बोधन गर्न खोजेको हुँ ।
कार्यक्रमका मुख्य आकर्षणको रुपमा रहेका गीतकार तथा मुक्तककार विष्णुबाबु देवकोटा र सँगीतकार तथा मुक्तककार बादल घिमिरेका रचनाले गड्गडाहट ताली पाइराखे । दुवै जना पाहुनालाई डवलीले नेपाली भाषा , साहित्यमा योगदान पुर्याएकोमा कदर गर्दै सम्मान पत्र र दोसल्ला ओढाउन भ्यायो भने अर्का आकर्षण युएईमै रहेका हाल चर्चित बनेको गीत धन बिनाको मन ठूलो कि मन बिनाको धनका गीतकार विराज नेपाललाई समेत डवलीमा सम्मान गरियो ।

नेपालबाट आमन्त्रित साहित्यकारदयले आफूहरुलाई प्रवासमा सम्मान गरिँदा निकै गौरवको महशुस भएको बताउन छुटाएनन् ।
शुक्रबारे डवलीमा यसपाला कवि विवेक दुलाल क्षेत्रीको कविता सँग्रह हिम आईमाई, सरोज सँगमको मुक्तक सँग्रह गाथा र जिएस पौड्यालको उपन्यास सँग्रह एक सर्को मायाले लोकार्पण हुने मौका पाए ।
झण्डै चार दर्जन माथि सर्जक तथा स्रष्ठाले रचना वाचन गरेको कार्यक्रमलाई नेपाल पत्रकार महासँघ युएई च्याप्टरका अध्यक्ष भुपराज बस्यालले प्रमुख आतिथ्य ग्रहण गरेका थिए पनि डवलीका सँरक्षक टक गुरुङ्गले सभापतिको भूमिका निर्वाह गरे । नेपाली भाषा र साहित्यमा उहाँहरुको आवाज बुलन्द भइरहोस् । प्रवासि भूमिमा श्रम गर्न आएका नेपालीले देखाएको देशप्रेम र भाषा प्रेमलाई बिजशालाको तर्फबाट सलाम छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19