 
                     
                                
                             
                                    काठमाण्डौ । पुस महिनाको मुटु कमाउने ठिही। घाम र बादलबीचको लुकामारी नियालिरहेको काठमाण्डौ। अरु जिउ तताउन घरि–घरि घुम्टो उघार्ने घाम पर्खिरहेका बेला कमलपोखरी छेउको मारवाडी सेवा सदनको हलमा भने अटीनअटी मानिसहरुको घुइँचो लाग्यो। काव्यका अनेक रस स्वादनका लागि काव्यप्रेमीहरु त्यहाँ जम्मा भएका थिए। बाहिरी जाडोलाई बेवास्ता गर्दै माहौल तताउन कनिष्ठदेखि वरिष्ठ साहित्यकार, कवि, गीतकार, गजलकार तथा स्रष्टाहरुको जमघाट चलिरहेको थियो।
सन्दर्भ थियो–चर्चित कवि तथा गीतकार बसन्त चौधरीका दुई कृति एकसाथ लोकार्पणको। उनको नेपाली भाषाको कवितासंग्रह ‘तिमीविनाको म’ र अंग्रेजी भाषाको कवितासंग्रह ‘अनेक पल और मैं’ एक भव्य समारोहका बीच लोकार्पण गरियो।
कुल ८५ वटा कविता समेटिएको ‘तिमीविनाको म’ र ८३ वटा रचना समेटिएका ‘अनेक पल औंर मैं’लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, वरिष्ठ कवि तुलसी दिवस, स्वयं कवि बसन्त चौधरी, ‘तिमीविनाको म’को प्रकाशक मेघा चौधरी, प्रसिद्ध आख्यानकार तथा प्राध्यापक श्रीमती भूवन ढुंगाना तथा मुम्बई विश्वविद्यालयको हिन्दी विभागका अध्यक्ष प्रा.डा. करुणा शंकर उपाध्यायले संयुक्त रुपमा लोकार्पण गरे।
लामो समयको अन्तरालमा काव्यको रसस्वादन गर्ने अवसर जुरेर होला, कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुको निकै ठूलो जमघट देखिन्थ्यो।
यसअघि आफ्ना सयौँ सिर्जनाहरुलाई आठवटा पुस्तकका रुपमा बाहिर ल्याइसकेका कवि बसन्त चौधरीको व्यक्तित्व र उनको कृतित्वमाथि स्रष्टाहरुले खुलेरै टिप्पणी गरे।
कार्यक्रममा ‘तिमीविनाको म’को समीक्षा गर्दै वरिष्ठ आख्यानकार भुवन ढुंगानाले बसन्त चौधरीको काव्यिक यात्राको प्रशंसा गरे। उनले चौधरीमा समकालीन साहित्यकार तथा कविहरुमध्ये छुट्टै दर्शन र व्यक्तित्व आफूले पाएको बताए। ‘उहाँको लेखन यात्राबाट मानिसले सम्पत्तिबाट होइन, सानो–सानो कुराबाट नै खुशी पाउँदो रहेछ भन्ने देखिन्छ’, उनले भने, ‘खुशी प्राप्त गर्ने वा सन्तोष पाइने माध्यम साहित्य साधना पनि रहेछ भन्ने कुरा बसन्त चौधरीबाट सिक्न सकिन्छ।’
पैसा र धन भन्ने कुरा भौतिक रुपमा अस्थायी मात्र रहेका र आफूलाई अम्मर राख्ने कुरा साहित्य सिर्जना नै हो भन्ने तर्कलाई बसन्त चौधरीले पुष्टि गरिदिएका ढुंगानाको भनाइ थियो।
ढुंगानाले आफूले चौधरीको कवितामा प्रकृति, प्रेम र जीवनको मूल उद्देश्य भेटेको समेत बताए। ‘कवितामा मातापिता र परिवारप्रतिको अगाध प्रेम देखिन्छ। प्रकृति र सृष्टिप्रति उस्तै प्रेम’, उनले भने, ‘रचनामा आफूलाई सुन्दर र सरल ढंगले प्रस्तुत गर्ने अचम्मको क्षमता छ, बसन्त चौधरीजीमा।’
ढुंगानाले नेपालजस्तो देशमा व्यापारव्यवसाय गर्दा भोगिने र आइपर्ने दैनिकका अनेकौं समस्या र भद्रगोलका बीच पनि चौधरीले सुन्दर रचनाहरु दिइरहँदा समय कसरी व्यवस्थापन गर्नुहुन्छ होला भनेर आफू अचम्ममा पर्ने गरेको समेत सुनाए। ‘एकातिर सफल उद्योगपति पनि हुनुहुन्छ भने अर्कोतिर साहित्य रचनामा चुर्लुम्म डूब्नसक्ने क्षमता पनि छ। समयको व्यवस्थापन कसरी हुन्छ होला ? म चकित परेकी छु’, उनले थपे, ‘उहाँका कविताहरु सबै सरल छन्, भाव गहन। एकहिसाबले भन्दा उहाँका कविता तथा रचना भूपि शेरचनका झै सरल र गहन लाग्छन्।’
चौधरीको कविताहरुमा प्रेम, विरह, प्रकृति, मानवको सोच, देशकाल र परिस्थितिप्रतिको चिन्तालगायतका कुराहरु आफूले भेटेको समेत ढुंगानाले बताए।
हिन्दी कविता संग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै प्रा.डा. करुणाशंकर उपाध्यायले एक शालीन र सरल व्यवहारका सशक्त कवि आफूहरुले पाएको दाबी गरे। ‘बसन्तका कविताहरुको बढी विशेषता जीवनको अनुभवबाट निक्लिएर आएको छ’, उनले थपे, ‘उहाँका कवितामा जीवनबोध र दायीत्वबोध छ। उहाँ समाज र समयका खारिएका चित्रकार जस्तो देखिनुहुन्छ।’
चौधरीले जीवनका अनेक पल र अनुभव आफ्ना कवितामार्फत व्यक्त गरेका र त्यो पढ्नेलाई समेत कवितासँगै आफू पनि आफ्नै जिन्दगीका पानाहरु पल्टाइरहेको आभास हुने डा. उपाध्यायले तर्क गरे। ‘पाठकको हृदयमा सोझै बस्ने कविता लेख्नुहुँदो रहेछ’, उनले भने, ‘उहाँका कविता पढ्दा, पाठक आफैंले लेखिरहेजस्तो वा आफ्नै कथाव्यथा पढिरहेजस्तो।’
भारतका महाकवि जयशंकर र कवि बसन्त चौधरीको व्यक्तित्वमा आफूले समानता देखेको उपाध्यायको भनाइ थियो। ‘महाकवि जयशंकर पनि बसन्तजस्तै आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेर पनि सिर्जना कर्ममा स्थापित हुनुहुन्थ्यो’, उनले भने, ‘उसैगरी व्यस्त क्षणमा समेत आफ्नो संवेदनालाई राम्रो मौलिकतामा प्रस्तुत गर्नु बसन्तको सवल पक्ष हो।’
चौधरीका कवितमा गहनता र मौलिकता पाइने उपाध्यायको टिप्पणी थियो। हिन्दी साहित्यका लागि समेत बसन्त चौधरीका कृति महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो। ‘उहाँको कवितामा नेपालको मात्र होइन, भारतका समस्या, जीवनबोध, अन्तरवृति पनि समेटिएका छन्’, उनले थपे, ‘आफ्नो समय र समाजका तमाम चुनौति उहाँका कवितामा छन्। बसन्तजीको कविताले जयशंकरको याद दिलाउँछ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली वाङ्मयमा बसन्त चौधरीले महत्वपूर्ण योगदान दिएका उल्लेख गरे। चौधरी अब वरिष्ठ कविको रुपमा स्थापित भइसकेका उल्लेख गर्दै उनले भने, ‘जीवनलाई सोचेजस्तो अगाडि बढाउन साहित्यको महान परिभाषा दिनुभएको छ प्रेमिल भावनाबाट ओतप्रोत भएर।’
उप्रेतीले प्रकृतिबाट प्राप्त प्रेमिल भावना बसन्त चौधरीले काव्यमा उतारेका बताए। ‘कवितामा ऊर्जापूर्ण सोचाइ छन्। भावना व्यक्त गर्ने शैली पनि उत्कृृष्ट छ’, उनले भने, ‘बसन्त चौधरी एक स्थापित उद्योगपति भएर पनि साहित्यलाई समेत उत्तिकै प्राथमिकता दिएबाट एउटा पूर्ण नेपाली समाज बन्नका लागि कलासाहित्य कति महत्वपूर्ण रहेछ भन्ने पुष्टि हुन्छ।’
वरिष्ठ कवि तुलसी दिवसले बसन्त चौधरीका सिर्जनाहरुमा आफूले उर्बरता देखेको टिप्पणी गरे। ‘उहाँका सिर्जनाहरुमा उचाइ, गहिराइ र विस्तारित रुप देखिन्छ। यी तीन चिज जुन सिर्जनामा हुन्छ, त्यो नै उत्कृष्ट कविता बन्छ, बसन्त चौधरीको सिर्जनामा यी चिज भेटिन्छन्’, उनले भने, ‘बसन्त चौधरीजस्तै आफ्नो मौलिकता कायमै राखेर कविहरुले कविता कोर्न सक्नुपर्छ, सिर्जना गर्न सक्नुपर्छ।’
बसन्त चौधरीका कविताहरुमा मौलिकता, निजत्व, इमानदारिता आफूले भेटेको दिवसको भनाइ थियो। ‘प्रियजन, देश, समाज यी सबैबिनाको म भन्ने भावबाट कविता संग्रह तयार भएको देखिन्छ’, उनले भने, ‘जति पढ्यो, पढूँपढूँ लाग्ने कविता लेखिएका छन्। कविता पूरै पढेपछि मात्र मज्जा आउने सिर्जना बसन्त चौधरीले गर्नुहुँदो रहेछ।’
‘तिमीविनाको म’ कवितासंग्रहका प्रकाशक मेघा चौधरीले बुवा भएरमात्र नभई मनैबाट अभिप्रेरित भई आफूले कवितासंग्रह प्रकाशनको निर्णय लिएको बताइन्। ‘मैले मेरो बुबालाई व्यापार व्यवसायमा भन्दा साहित्य पढ्दा र कविता लेख्दा बढी खुशी देखेकी छु’, उनले भने, ‘बुबाको त्यही खुशी र आनन्दका लागि मैले प्रकाशक बन्ने निर्णय गरेकी हुँ।’
उनले आफ्ना पिताले घरमा आमा र आफूलाई छेउमा र नातिनीलाई काखमा राखेर कविता तथा सिर्जना सुनाउने गरेको र त्यसबेला आफ्ना पिताको अनुहारमा गज्जबको उज्यालो देख्ने गरेको सुनाइन्। ‘मेरो बुवाको अनुहारमा सधैँ यस्तै चमक देखिरहूँ’ उनले भनिन्, ‘यही कुराबाट प्रेरित भएर म प्रकाशक बनेकी हुँ।’
कवि बसन्त चौधरीले दुवै कृतिबाट एक÷एक कवितासमेत वाचन गरेका थिए। आफ्ना कवितासंग्रहप्रति व्यक्ति विचार तथा टिप्पणीबाट आफूलाई आगामी दिनमा थप सिर्जना गर्न छुट्टै उर्जा प्राप्त भएको समेत सो क्रममा उनले बताए।
कार्यक्रममा हालै भारतमा सम्पन्न कालिङ्गा साहित्य महोत्वसमा बसन्त चौधरीको हिन्दी कवितासंग्रह ‘अनेक पल और मैं’ उत्कृष्ट कविता संग्रहका रुपमा पुरस्कृत भएको समेत जानकारी गराइएको थियो। त्यसको प्रमाणपत्र र ट्रफी कवि चौधरीलाई हस्तान्तरणसमेत गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19