►प्रकाश बञ्जारा
यूएई । संयोग नै भन्नुपर्छ हरेक वर्षको भानुजयन्तीकै दिन मेरो जन्म दिन पर्ने गरेको छ ३१ वर्षदेखि । भानुभक्त अलिक पहिला जन्मिए हामीलाई थुप्रै साहित्यिक उपहार दिए, नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिए । महाभारतको रामायण सिङ्गै उपहार दिएर हामीलाई इतिहासप्रति जानकार बनाए । म अलिक ढिला जन्मिएछु, देशलाई अलिअलि रेमिट्यान्स र परिवारलाई मुश्किलले चारो बाहेक केही दिन सकेको छैन । त्यसैले भानुभक्तलाई सारा नेपालीले सम्झिन्छन् । देशमाभन्दा विदेशमा रहेका नेपाली साहित्यप्रेमी नेपालीले हरेक वर्ष भानु जयन्ती भव्य तरिकाले मनाउँछन् । एक दशकभन्दा लामो प्रवासी अनुभवले भन्छ, नेपाली साहित्य र यसको सँरक्षण प्रति देशमा भन्दा प्रवासमा बढी चिन्ता गरिन्छ । 
यसपालि खाडीमा रहेका नेपालीलाई अर्को संयोग के जुरेको थियो भने भानु जयन्ती शुक्रबार परेको थियो अर्थात धेरै नेपालीको छुट्टी हुने दिन त्यही भएर यसपाली प्रवासी नेपालीले भानुलाई त्यही दिन सम्झिन पाए, जुन दिन उनको जयन्ती हो । अब मलाई त कसले सम्झिन्छ र तलव आएको दिन महिनामा एकदिन परिवारले सम्झिन्छन्, पैसा पठाउन आग्रह गर्छन् र बाँकी २९ दिन त्यही परिवारको यादमा तड्पिएर बस्नुपर्छ । परिवारको तड्पाईमा बस्नुपर्ने समस्या त म मात्र नभएर सारा प्रवासीको साझा समस्या हो । यहाँ मैले मेरो एक्लो एकदिने समस्यालाई यो पंक्तिमार्फत दर्शाउन चाहेको छु ।
जन्मदिन र भानुभक्त आचार्यको जयन्ती एकैदिन भएकाले रातिको १२ घण्टे ड्यूटी भए पनि एक दिनको निन्द्रा माया मार्दै नेपाली समुदाय युएई र ताप्लेजुङ्ग सेवा समाज युएईले आयोजना गरेको भानुजयन्ती विशेष खुल्ला रचना बाचन कार्यक्रममा सहभागी हुने निर्णय गरेँ । निर्णय गर्नासाथ आयोजकलाई कार्यक्रमको समयबारे प्रश्न गरेँ, सार्वजनिक गरिएको पोस्टरका कार्यक्रमको समय २ बजे राखिएको भए पनि आयोजकले म्यासेजमा कार्यक्रम अढाई बजे सुरु हुने जानकारी गराए । सहभागी हुने भए नाम दर्ता गराउन र रचनाको विद्या पनि खुलाउन आग्रह गरियो । मैलो गजल सुनाउन चाहेको जानकारीका साथ अपरिचित र अभागी नाम दर्खास्त चढाएँ म्यासेज मार्फत । लामो समय म्यासेज हेरिएको थिएन । साँझमा पोस्टरमा भएको नम्बरमा आयोजक मित्रलाई फोन गरेँ र आफू कार्यक्रममा आउन चाहेको र म्यासेजमा जानकारी गराएको साथै राति ड्यूटीमा जानुपर्ने हँुदा चाँडै रचना बाचनको समय मिलाउन सकिन्छ कि भनेर प्रश्न गरेँ । उत्तरमा “हुन्छ” आयो साथै वाचन गर्न चाहेको रचना म्यासेञ्जरमा पठाउन भनियो । रचना पठाउन ईन्टरनेट क्याफेमा जाँदा नाम दर्ता भइसकेको र रचना पठाएपछि समयको टुङ्गो लगाउन भनिएको रहेछ । खुसी हँुदै रचना पठाएँ । मुख्य उद्देश्य कार्यक्रम भएता पनि केही चाँडो गए केही संचारकर्मी साथी र मामा प्रेमप्रसाद सिग्देललाई भेटेर भलाकुसारी गर्ने ईच्छा जाग्यो ।
शुक्रबार विहान १० बजेतिर कोठाबाट निस्किएँ, लगभग ४८ डिग्रीले दुवई तातेको थियो । अलकुज औद्योगिक क्षेत्रमा बस्ने म जस्ता धेरैलाई बरदुवई एउटा शहरजस्तै लाग्छ त्यहि शहरमा ठुला मान्छे भेटेर आफ्नो गजल बाचन गर्ने सपना बोकेर शुक्रबारे भिडलाई चिर्दै बाहिरको उखरमाउलो गर्मी र राति १२ घण्टे ड्यूटी बिर्सदै भानुभक्तलाई मात्र सम्झिएर शहर हिँडेको थिएँ म । दुवई सरकारले आफँै चलाएको एसिजडित बसमा पनि झण्डै डेढघण्टाको यात्रा पछि बरदुवई पुग्दा पसिनाले आधाउधि भिजायो ।
बसबाट उत्रिएर मामालाई फोन गरेँ, उहाँ काम विशेषले केही घण्टाका लागि बाहिर निस्कनु भएको रहेछ । लामो समयपछि शहर आएको छोरो बरदुवईको झिलिमिलिमा एकछिन त्यत्तिकै हरायो ।
मैले त्यो शहरका २÷४ जना मान्छे मात्र चिनेको छु । पसिनाले निथ्र्रुक्क भिजेपछि चिसो ताप्ने आशामा युवा व्यवसायी मान महतोको मिठाई पसल ‘फाईन एग्रो एण्ड फुड स्टफ’ पुगेँ, त्यहाँ ताला लगाईएको रहेछ । पछि साथी लालबहादुर चौधरीलाई सोध्दा थाहा भयो मान त छुट्टी मनाउन नेपाल गएका रहेछन् । संचारकर्मी साथी प्रकाश ढकालले आफू बनियास एरियामा रहेको र केही समयपछि बरदुवई आउने र भेटघाट गर्ने बताए । समय मिलेसम्म भेटौँ भनेर पत्रकार महासँघ युएइ च्याप्टरका अध्यक्ष भुपराज बस्याल र उपाध्यक्ष लक्ष्मण खनाललाई म्यासेज गरेँ, उहाँहरु दुवैजना साँझ तिर मात्र त्यता आउने थाहा भयो ।
लक्ष्मण जीलाई शुक्रबारै पुत्री लाभ भएको खबर पाएँ, मैले अनि म्यासेजबाट बधाई दिँए । अर्को साथी एनआरएनका ओमप्रकाश पोख्रेललाई सम्पर्क गर्दा उनी पनि बेलुकातिर मात्रै बरदुवई आउने जवाफ दिए । म बवुरोको अरु को नै छ र त्यो विरानो शहरमा ? पसिना पुछेर सुस्ताउँदै युएईकै स्थापित नेपाली व्यवसायी एकेन्द्रबहादुर थापाको नमस्ते ट्राभल्समा गएँ । थापालाई देखिँन, उनी आएकै थिएनन् अथवा बाहिर निस्किएका थिए । शुक्रबारे भीड नमस्तेमा पनि उत्तिकै लागेको थियो । म त्यही पसल बाहिर पेटीमा बसेर मोवाईल हेर्न थालेँ । जन्मदिनको शुभकामनाका पोष्टहरुले फेसबुक वाल रगिँचङ्गि बनाएको थियो । साथी भाई र आफन्तले पठाएका ह्याप्पी वर्थ डे म्यासेजले एकातिर गद्गद् थिएँ भने अर्कोतिर आयु घटेकोमा चिन्ता लागिरहेको थियो । छेवैमा एक पुरुष र २ महिला उभिएरै हुण्डि र सुन तस्करी गर्ने सल्लाह गरिरहेका थिए । पुरुष आफ्नो हल्का रवाफ देखाउँदै आफूबाट पैसा पठाए राम्रो रेट दिने आश्वासन दिँदै थियो । साथै सुन लाने भरिया खाजे आफू यहाँ ज्वेलरीबाट सुन निकाल्ने व्यवस्था मिलाउने बताउँदै थियो ।
महिलाहरु सहमतिको मुन्टो हल्लाउँदै थिए । केही क्षणको बिजिनेश डिलपछि उनीहरु कमिसनमा सहमति गरेर छुट्टिए, म भने पसिना चुहाउँदै एकछिन त्यहि बसिरहेँ ।
घडीमा भर्खर साढे बाह्र मात्रै बजेको थियो । चिसो ताप्न नेपाली चौक नजिकैको सिन्दगाहा सिटि सेन्टरमा छिरेँ । एक बजेतिर मामा कोठामा आउनुभएछ, उतातिर गएँ । नास्ता गर्दै हल्का दुःखसुख साट्यौँ र म अढाई बजेतिर कार्यक्रम स्थलतिर लागेँ ।
कार्यक्रम स्थलमा निकै चहलपहल थियो । हलको श्रृंगार भर्खर गरिँदै रहेछ । कार्यक्रम हल बाहिरै मैले भेट्न चाहेका पत्रकार महाँसघका अध्यक्ष भुपराज बस्यालसँग भेट भयो, साथमै थिए साहित्यकार तथा संचारकर्मी साथी जे सागर पनि । मेरो दुवै जनासँग पहिलो भेट थियो, उहाँहरुसँगको छोटो भलाकुसारी पछि हलभित्र पसेँ । अस्तव्यस्त हलमा संचालकले अनौपचारिक भाषण गरिरहेका थिए, कोहि बेलुन टाँस्दै थिए, कोही फुलमाला, खादा तयार गर्दै थिए । केहीबेरमै रचना वाचनका लागि दर्ता भएका सर्जकहरुको नामको सूचि बाहिर आयो । २ पाना कागजमा सूचिकृत नाम बोकेर हिँडेका आयोजक सदस्यलाई रोकेर मैलै मेरो नाम खोजेँ । ३१ औँ जन्मदिनको दिन सूचिबाट मेरो नामै हराएछ । आफूले अनलाइनमार्फत पहिल्यै नाम दर्ता गराएको जानकारी गराउँदै पुनः आफ्नो नाम लेखाएँ र उनी मार्फत नै चाँडो बाचनको लागि समय मिलाईदिन आग्रह गरेँ । जवाफमा दर्तावालाले “हुन्छ” को मुन्टो हल्लाए ।
तयारी सकेपछि कार्यक्रम सुरु हुन झण्डै साढे तीन बज्यो । राष्ट्रिय गान, स्वागत मन्तव्य, स्वागत नृत्य, भानुभक्तको तस्विरमा माल्र्यापण, गजल, कविता, हास्यव्यङ्य, फेरि नृत्य, मन्तव्य यसरी नै कार्यक्रम अघि बढ्दै थियो । जिन्दगीमा पहिलोपटक मलाई खट्पट् भइरहेको थियो, मेरो पालो कहिले आउँछ भनेर । ५ बजे त जागिरमा हाजिर हुनुछ । मैलै स्वागत मन्तव्य हुँदै गर्दा कार्यक्रम संचालकलाई बोलाएर मेरो समस्या बताएको थिएँ, उनले २/४ वटा प्रस्तुतीपछि मलाई समय दिने बताएका थिए । प्रस्तुतीहरु ६ वटा भइसक्दा पनि पालो नआएपछि मैले उनलाई पुनः ईशारा गरेर बोलाएँ र आफ्नो अनुरोध दोहोर्याएँ । समयसँग कार्यक्रम पनि दौडिदै थियो । सोही कार्यक्रममा आउनु भएकी खोटाङ्ग सेवा समाज युएईकि महिला उपाध्यक्ष भगवती चाम्लिङ्ग राईसँग पहिलो पटक भेट्ने मौका मिल्यो । केही समय दिदिभाई भलाकुसारी गर्यौं । खोसेसले आगामी अगस्ट २४ तारिख गायन क्षेत्रका मेगास्टार राजेशपायल राईको उपस्थितिमा अबुधावीमा भव्य साँगीतिक कार्यक्रमको आयोजना गर्दै रहेछ । भगवती दिदिलाई कार्यक्रम सफलताको शुभकामना दिँदै गर्दा ४ बजेर १० मिनेट गइसकेको थियो । म फेरि एकपटक कार्यक्रम संचालकलाई भेट्न गएँ । मलाई देखेपछि उनी अर्कोतिर फर्किएँ, मलाई वास्तै गरेनन् । उता प्र्रमुख अतिथिको मन्तव्य, नृत्य, हाँस्य प्रस्तुति चल्दै थिए । म त्यत्ति यस्ता कार्यक्रममा नहिँडेकोले पनि हुनसक्छ, रचना बाचन भनिएको कार्यक्रममा मन्तव्य, नृत्य, हाँस्य प्रस्तुति आदि म पहिलोपटक देख्दै थिएँ ।
कार्यक्रम साहित्यिक नभएर सांगीतिक जस्तै थियो । तर, नढाँटी भन्नुपर्दा मनोरञ्जनात्मक थियो । समयले आफ्नो रफ्तार कहिल्यै छोडेन अनि मेरो रचना बाचनको पालो पनि कहिल्यै आएन । कार्यक्रममा साहित्यकार तथा संचारकर्मी जे सागरलाई सम्मान पनि गरिने रहेछ । भानुजयन्तीमा साहित्यकार सम्मानित हुनु राम्रो पक्ष हो । जे सागरलाई सम्मानका लागि मञ्चमा बोलाउनुपूर्व भुपराज जीलाई मन्तव्यको समय दिइएको थियो । उनले साहित्य र पत्रकारिता सँगसँगै हुन सक्ने बताउँदै पत्रकार महासंघलाई समय दिएकोमा आयोजकलाई धन्यवाद दिए । जे सागर मञ्चमा जाँदै गर्दा मैले एकजना दौरासुरुवाल, कोट र नेपाली टोपीमा सजिएका आयोजक मित्रलाई बोलाएर आफूले बारबार अनुरोध गर्दा पनि पालो नआएकोले समय अभावका कारण जानु पर्ने र आफ्नो नाम काटिदिन मैले अनुरोध गरेँ । उनले मेरो नाम सोध्न छुटाएनन् मैले नाम भनिनसक्दै अर्को तिर फर्किए र उतै व्यस्त भए । मैले एकपल्ट मञ्चतिर फकिएर हेरेँ त्यहाँ मधुरो बोर्डमा ठूला अक्षरले लेखिएको थियो–“हरेक रचनालाई सम्मान गरिनेछ ।” त्यत्तिबेला ४ बजेर २३ मिनेट गएको थियो म आफ्नो झोला लिएर फटाफट बाहिर निस्किएँ र आफ्नो बाटो लागेँ ।
यो असफलतासँगै जन्मदिनमा चालेको मेरो पहिलो प्रयास नै असफल भयो, अब यो साल सायद यस्तै बित्ला असफलतामै ! हुन त आयोजकका तर्फबाट हुन्छ भनिएकै कारण मैले आशा जगाएको थिएँ । प्राथमिकता त्यसैलाई दिइनुपर्छ, जसले पहिले नाम दर्ता गराएको छ । नाम दर्तामा म पछाडि थिएँ तथापि सूचिमै मेरो नाम नहुनु आयोजककै कमजोरी ठान्छु । साथै पहिले नै फस्ट कम फस्ट सर्भ भनिएको भए म आशा जगाउने नै थिइँन । म अनियमितताको पक्षधारी कदापी होइन, पहिल्यै समय मिल्दैन भनिएको भए म अपेक्षित हुने थिइँन । सर्जक भएपछि अरुको पनि सुन्नुपर्छ, आफ्नो मात्र सुनाउने पनि गर्नु हँुदैन, त्यो पनि मलाई थाहा नभएको होइन । यति ठूलो दिनमा त्यत्ति त्याग गरेर रचना सुनाउनकै लागि अपेक्षाकृत भएर जाँदा र त्यत्तिकै फर्किदा कस्तो अनुभूति हुन्छ ? यदि आयोजक समूहमा कुनै सर्जक हुनुहुन्छ भने पक्कै महशुस गर्नुहोला । मेरो भन्नु यत्ति हो संस्था र कार्यक्रममा हुने यस्ता गतिविधितर्फ अलिकति ध्यान दिऔँ । भानुजयन्तीको हार्दिक शुभकामना ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19