काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । 

चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो अफर सार्वजनिक गरेको हो । 

कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलकाअनुसार आफ्नो जन्मदिन मनाउन जाने जोकोहीलाई कम्पनीले चन्द्रागिरी केवलकारको टिकट निःशुल्क गरिदिएको छ । 

यस्तै, अतिरिक्त अफरहरु समेत घोषणा गरेको छ । जसअन्तर्गत जन्मदिन मनाउन चन्द्रागिरी पुग्ने व्यक्तिलाई स्वीङ र जीपलाइन खेल्दा ५० प्रतिशत छुट हुनेछ । 

चन्द्रागिरी पछिल्लो समय काठमाण्डौ र आसपासका बासिन्दाका लागि राम्रो पर्यटकीय गन्तव्य बनेको छ । केवलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न चाहने, विभिन्न खेलहरुको मज्जा लिन चाहने तथा सपरिवार स्तरीय रिसोर्टमा बसेर प्राकृतिक आनन्द लिन चाहनेहरुका लागि यो गन्तव्य चर्चित बनिरहेको छ ।

चन्द्रागिरी हिल्स लिमीटेड सेयर बजारमा समेत सूचीकृत कम्पनी हो । यो कम्पनीको दोश्रो बजार मूल्य हाल प्रतिकित्ता १२३५ रुपैयाँ रहेको छ । 

पर्यटकीय चहलपहल बढेसँगै यो कम्पनीको पछिल्लो समयको वित्तीय अवस्थामा समेत सुधार हुँदै गएको छ ।