काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को आयोजना हुने भएको छ।
नक्सालस्थित मेरियोट होटेलमा आयोजित घोषणा समारोहमा फाउन्डेसनले प्रतियोगिताका लागि विश्वभरका मानिसले इन्ट्रा नेसनल एपमार्फत आवेदन दिन सक्ने जनाएको गरेको छ। १८ वर्षमाथिका व्यक्तिले यस प्रतियोगिताका लागि आवेदन दिन सक्छन्। यी शोहरुमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर रजिस्टर गर्न सक्छन्।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुखमा परेकाहरुलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’
यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले अनलाइन आवेदन दिन सक्ने छन्। प्राथमिक छनौट प्रक्रियापछि फाउन्डेसनले विश्वका विभिन्न स्थानमा अडिसन सञ्चालन गर्नेेछ। यी दुवै शोहरुको आवेदन दिने मिति जनवरीको अन्तिम तारिक तोकिएको छ।
कम्पनीका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायक समावेश छन्। यसका साथै मेरो डान्स युनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ।
यी शो एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन्। उनले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् जस्तै– नेपाल आइडल, बुगी—वुगी, नेपाल लोक स्टार, सारेगमपा लिल् च्याम्पस्।
यी दुई शो नेपालकै सर्वाधिक धेरै धनराशि भएको रियालिटी शो हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले रु. १ करोड पाउनेछन्। यसका साथै फस्ट रनरअपले रु. ३० लाख र सेकेन्ड रनरअपले रु. २० लाख पुरस्कार पाउनेछन्।
यस्तै मेरो डान्स युनिभर्सको विजेताले पनि रु. १ करोड पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले रु. ३० लाख र सेकेन्ड रनरअपले रु. २० लाख पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ।
संस्थाका बारेमा
इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो। जसले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ।
फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्न धेरै परियोजनामा काम गरिरहेको छ। ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनकाले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रम हुन्, जुन नेपालको चाँडै प्रसारण हुने प्रक्रियामा छ।
यसका साथै फाउन्डेसनले आफ्ना परियोजनामार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ।
हाल फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयमार्फत नेपालीभाषी समुदायमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ।
फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शो आयोजना गर्दै आएको छ। जुन क्रमशः दुई र चार सिजन सफलतापूर्वक सञ्चालन भएका छन्। फाउन्डेसनले प्रसिद्ध शिक्षकहरुको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ। यी कक्षाहरुबाट करिब ५०० विद्यार्थी लाभान्वित भइरहेका छन्।
त्यसैगरी फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबलजस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ।
फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ। यी शिविरमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुदजस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19