नयाँ दिल्ली । ख्यातिप्राप्त कवि एवम् लेखक बसन्त चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतो के साये मे’ नयाँ दिल्लीमा विमोचन गरिएको छ ।
बलिउडका वरिष्ठ गीतकार समीर ‘अञ्जान’ले गत शुक्रबार उक्त कविता संग्रहको विमोचन गरेका हुन् ।
गीतकार समीर बलिउडका त्यस्ता गीतकार हुन्, जसको नाम संसारकै सबैभन्दा धेरै संख्यामा गीत लेखेबापत सन् २०१६ को गिनिज वल्र्ड रेकर्डमा उल्लेख गरिएको छ ।
नयाँ दिल्लीस्थित होटल ह्यात रिजेन्सीको सभाहलमा उपस्थित भारतीय साहित्यका मूर्धन्य साहित्यकारहरूले कवि चौधरीको नयाँ पुस्तकको खुलेर प्रशंसा गरे ।
पछिल्लो एक वर्षको दौरानमा सार्वजनिक भएको चौधरीको यो दोस्रो पुस्तक हो । ‘चाहतो के साये मे’लाई ख्यातिप्राप्त ‘बेनेट कोलम्यान एण्ड कम्पनी लिमिटेड’ अन्तर्गतको ‘टाइम्स ग्रुप बुक्स’ले प्रकाशन गरेको हो ।
कुल २४२ पृष्ठको पुस्तकमा चौधरीले हिन्दी र उर्दु मिश्रित मिठासपूर्ण सरल भाषामा लेखेका कविता, गीत, गजल तथा नज्माहरूलाई समेटेका छन् ।
सो पुस्तकको साथमा चौधरीबाट लिखित विभिन्न सातवटा गीत समेटिएको सिडी पनि सार्वजनिक गरिएको थियो । ती गीतहरूमा बलिउडका चर्चित गायक÷गायिका सोनु निगम, श्रेया घोषाल, रुपकुमार राठोड र मोहित चौहानको स्वर रहेको छ । कार्यक्रमका दौरानमा केही गीतको म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमका मुख्य अतिथि गीतकार समीरले कवि चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । उनले मनलाई छुने काव्य कृति रचना गरेको भन्दै चौधरीको खुलेर प्रशंसा गरे ।
“अझै पनि साहित्यको दुनियाँमा चलचित्रका गीतकारहरूलाई स्वीकार नगरिनु दुःखलाग्दो विषय हो । गुलजार साहेव(भारतका लोकप्रिय गीतकार, कवि एवं फिल्म निर्देशक)ले मलाई आफ्नो गीतहरूको संग्रह प्रकाशन गर्न सुझाव दिंदै आउनुभएको छ र म पनि त्यसबारेमा सोचिरहेको छु।”, उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा भारतको उत्तराखण्ड राज्यका पूर्व मुख्यमन्त्री रामेश पोखरियाल ‘निशक’ विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । स्वयं कवि समेत रहेका निशकले नेपाल र उत्तराखण्डबीच सीमा जोडिएको विशेष निकटता रहेको चर्चा गर्दै दुवै ठाउँमा रहेका साझा संस्कृति र पहाडी भूभागबारे उल्लेख गरे । कवि चौधरीको पुस्तक नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा एक महत्वपूर्ण कदम भएको उनको कथन थियो ।
भारतका वरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरुप राही तथा दिल्ली विश्वविद्यालय अन्तर्गतको हंसराज कलेजका प्राचार्य डा. रमाले ‘चाहतो के साये मे’ माथि विद्धत टिप्पणी गरे ।
पुस्तकका लेखक चौधरीले ‘चाहत’(इच्छा) शब्दको विभिन्न आयामबारे प्रकाश पार्दै भने, “धेरैजसो मेरा काव्य कृतिलाई प्रेम र इच्छाले डोहोर्याउँदै आए पनि इच्छा वा चाहत स्त्री र पुरुषबीचको प्रेममा मात्र सीमित नभएर त्यो भन्दा पनि पर रहेको छ । यसले समान रुपमा कुनै पनि व्यक्तिको नयाँ उचाईमा पुग्ने र नयाँ लक्ष्य प्राप्त गर्ने आकांक्षालाई समेत व्यक्त गर्दछ । यसर्थ इच्छा भनेको मानिसको समग्र जीवन प्रगतिको मुख्य उत्प्रेरक तत्व हो ।”
कवि चौधरी तथा कार्यक्रमका वक्ताहरूले कविताहरुको भाव दुरुस्त प्रतिबिम्बित हुनेगरी सफलतापूर्वक ‘चाहतो के साये मे’लाई अंग्रेजीमा अनुवाद गरेको भन्दै जार्काताका सुञ्जोय शेखरको खुलेर प्रशंसा गरे । ‘चाहतो के साये मे’लाई यही असार ११ गते भारतको मुम्बईमा समेत विमोचन गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago