काठमाण्डौ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक बजारमा आएको पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्री भएको छ।
ओबामाको राष्ट्रपतिकालको संस्मरणात्मक पुस्तक ‘अ प्रोमिस्ड ल्यान्ड’ हिजोदेखि बजारमा आएको छ। यो पुस्तक बजारमा आएको २४ घन्टामै ८ लाख ९० हजार प्रति बिक्री भएको प्रकाशक पेनगुइन ऱ्यान्डम हाउसले जनाएको छ।
अग्रिम अडर गरिएका, ई–बुक र अडिओ गरी २४ घन्टाभित्रै अमेरिका र क्यानडामा यत्रो प्रति बिक्री भएको प्रकाशकले जनाएको छ।
यो पुस्तक अहिले बिक्रीको हिसाबले अमेजन डट कम र बार्नेस एन्ड नोबेल डट कममा पहिलो नम्बरमा छ। यो हिसाबले ओबामाको पुस्तक अमेरिकाको आधुनिक इतिहासमा राष्ट्रपतिबाट लिखित संस्मरण पुस्तकमध्ये सर्वाधिक बिक्री हुने पुस्तक बन्न सक्ने अनुमान गरिएको छ।
यो पुस्तक पहिलो भाग हो। ७६८ पृष्ठ लामो पुस्तकमा ओबामाले आफ्नो पहिलो कार्यकालमा ह्वाइट हाउसको बसाइका कुरा समेटेका छन्।
यसअघि पूर्वराष्ट्रपति बिल क्लिन्टनको ‘माइ लाइफ’ पहिलो दिनमै झन्डै ४ लाख प्रति र जर्ज डब्लु बसुको ‘डिसिजन प्वइन्ट’ पहिलो दिनमै २ लाख २० हजार प्रति बिक्री भएको थियो।
त्यसो त सन् २०१८ मा ओबामा पत्नी पूर्वप्रथम महिला मिसेल ओबामाको संस्मरणात्मक पुस्तक ‘बिकमिङ’ पहिलो दिनमै ७ लाख २५ हजार प्रति बिक्री भएको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19