Upper Tamakoshi
►रमेश लम्साल
काठमाण्डौ । गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ। यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि अगाडि बढेको प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए।
लामाबगरको काब्रेभीरमा सुरुङ निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ भने बाँध निर्माण कार्य अघि बढेको छ। उक्त स्थानमा करिब ४०० मिटर सडकखण्ड भूकम्पका कारण क्षति भएको थियो । नयाँ ट्र्याक खोलेर बाटो बनाउनुभन्दा सुरुङ नै उत्तम हुने निष्कर्षका साथ ११ करोड थप लगानी गरेर काम सुरु गर्न लागिएको प्रवक्ता न्यौपानेको भनाइ छ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार आगामी साउनबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना भूकम्पका कारण करिब डेढ वर्ष पर धकेलिएको छ। यस्तै आयोजनाको गोगरदेखि किर्नेसम्मको २२० केभी प्रसारण लाइनको काम अगाडि बढेको छ भने सडक मर्मत तथा बाँध, विद्युत् गृहको काम पनि सुरु भएको छ।
रसुवामा आयोजनास्थल रहेको साञ्जेन, माथिल्लो सान्जेनको काम पनि अगाडि बढेको सान्जेन जलविद्युत् कम्पनीका आयोजना प्रमुख गिरीराज अधिकारी बताउँछन्। सहज रुपमा इन्धन पाउन थालेपछि निर्माण कार्य अघि बढाइएको हो। भूकम्प र नाकाबन्दीका कारण समस्यामा फसेको माथिल्लो सान्जेनको सुरुङ बर्खा अगावै सम्पन्न गर्ने लक्ष्य छ।
कुल दुई हजार १०० मिटरमध्ये हालसम्म एक हजार १३० मिटर सुरुङ निर्माण सम्पन्न भएको छ। 'डेड महिनाभित्रै सुरुङ सम्पन्न गर्ने गरी काम सुरु गरेका छौँ' आयोजना प्रमुख अधिकारीले भने। माथिल्लो सान्जेनको क्षमता १८.८ मेगावाट र सान्जेनको ४२.५ मेगावाट रहेको छ। २०७४ भदौसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका ती दुवै आयोजना भूकम्प र इन्धन अभावका कारण एक वर्ष पछाडि धकेलिएका छन्।
माथिल्लो सान्जेन तुदी निर्माण कम्पनी र भारतीय निर्माण कम्पनीको संयुक्त उपक्रम तथा सान्जेन बज्रगुरु निर्माण कम्पनी र भारतीय उपक्रमले निर्माण गरिरहेको छ। दुवै आयोजनाको लागत सात अर्ब २४ करोड रहेको छ। सान्जेन खोलाको पानीमा रसुवाको तिलुचे बगरमा बाँध बाँधी एक हजार ४०० मिटर लामो सुरुङ तथा ४८० मिटर लामो पेनस्टक पाइपबाट १८.८ मेगावाट विद्युत् निकाल्ने योजना रहेको छ।
सोही विद्युत् गृहबाट निस्केको पानी र सिम्बुको खोलाको पानीलाई मिसाई तीन हजार ६०० मिटर लामो सुरुङ तथा एक हजार १२० मिटर पेनस्टक पाइपको सहायताले ४२.५ मेगावाट विद्युत सान्जनेको नाममा निकालिनेछ। हाल आयोजनाको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ। कुल पाँच हजार २०० मिटर लामो सुरुङमध्ये हालसम्म ७६० मात्रै सम्पन्न भएको छ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको रसुवागढीको कामलाई गति दिने तयारी गरिएको छ । एक सय ११ मेगावाट क्षमताको सो आयोजना रसुवाको थुमन र टिमुरे गाविसमा पर्छ । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत्को सीमामा निर्माण गरिएको सो आयोजनाको सबै संरचना भूमिगत रहेको छ ।
रसुवागढी छेउको तिब्बततर्फबाट प्रवाह हुने भोटेकोसी नदीमा बाँधबाँधी चार हजार २०० मिटर लामो हेडेरस सुरुङ एवम् ३१३ मिटर लामो पेनस्टक पाइपको सहायताले तातोपानी भिरभित्र विद्युत् उत्पादन गरिनेछ । भूकम्पअघि सो आयोजनाको करिब तीन हजार मिटर सुरुङ निर्माण गरिएको थियो । रासस
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago