काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । 

हृदयघातसँगै उनलाई डेंगू संक्रमणको समेत आशंका गरिएको छ । 

आइतबार उनी धरान पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई उच्च ज्वरो आएको थियो । सोमबार १०२ डिग्रीसम्म ज्वरो आएपछि उनी घरमै आराम गरेर बसेका थिए । 

निजी चिकित्सकले उनलाई घरमै पुगेर स्वास्थ्य जाँच गरेका थिए । सो क्रममा डेंगूको परीक्षण गर्नुपर्ने भनिएको थियो । मंगलबार रगतको नमूना संकलन गरी डेंगू संक्रमण पत्ता लगाउने भन्दै सोमबार चिकित्सक गएका नेम्वांगको पारिवारिक स्रोतले जनाएको छ । 

सोमबार राति सुत्नुभन्दा अगाडि नेम्वाङले सुप खाएका थिए । ज्वरोले थलिएर निकै कमजोर भएका उनी राति नै शौचालय जाने क्रममा लडेका थिए ।

तर, शौचालयमा लडेको धेरै समयपछि मात्र परिवारले थाहा पाएका थिए । 

शौचालयमा बेहोस अवस्थामा फेला परेका उनलाई राति १ बजे हृदयघात भएको अनुमान गरिएको छ । 

महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याउँदा १ः५० बजिसकेको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकहरुले उनको बाटोमै मृत्यु भएको घोषणा गरेका थिए । 

अस्पताल स्रोतका अनुसार शिक्षण अस्पताल पुर्याउँदा नेम्वाङको मुटुको धड्कन, सास केही पनि थिएन । 

एमालेमा केपी ओलीपछिको नेताको रुपमा हेरिएका उनको सादगीपनको चर्चा हुने गर्छ । 

उनको पार्थिव शरीरलाई आज(मंगलबार) दिनभर एमालेको च्यासलस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका राखिने कार्यक्रम छ ।