काठमाण्डौ । यही असोज १० गतेदेखि १४ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुन गइरहेको छ।
हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीको महान् चाड दसैँका अवसर पारेर आयोजना गर्दै आइरहेको छ। ई–आर्टस् नेपालका सह—संस्थापक आशा डंगोलले भने, ‘दसैँमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ। मानिसहरु दसैँका लागि पहिले पहिले लुगाहरु किन्ने गर्दथे भने घरको सजावटका लागि चित्रकलाहरु पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छौँ।’
नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल बताउँछन्। पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो।
करिब १५० भन्दा बढी कलाकारले आप्mनो कला प्रदर्शनीमा राखेका छन्। नेपाली कलाकारको कलास्तर मापनका लागिसमेत यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरासमेत सहभागी कलाकारहरु बताउँछन्। किनकि यस प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्नसमेत प्रदर्शनीले मद्दत गर्दछ। कलाको विकासलाई हेर्ने आधारसमेत यसले तय गर्न सक्छ।
सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए। त्यसपछि २०१८ देखि काठमाण्डौ उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उहाँहरुको सपोर्ट लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोल बताउँछन्। यही कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामूहिक मेलाका रुपमा बर्सेनि आयोजना भइहरहेको छ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ। नेपाली बरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ। कलाकारहरुः शशि शाह, किरण मानन्धर, शशिकला तिवारी, हरि प्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, भाइराज महर्जन, प्रमिला बज्राचार्य, जुपिटर प्रधान, विधाता केसी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, ईशान परियार, जगदीश मोक्तान, पूजा दुवाल, नवीना सुनवारलगायत करिब १५० जना कलाकारको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ।
प्रदर्शनीको अर्को आकर्षण भनेको एकजना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको इ–आर्ट्स नेपालका अध्यक्ष सुजन श्रेष्ठ बताउँछन्। यसपालि भने उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिने उनले जानकारी दिए।
हिमाल, पहाड, तराईका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ। महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार विधाता केसीको भनाइ छ।
मेलाको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले गर्ने कार्यक्रम छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago