काठमाण्डौ । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ।
यी दुवै कार्यक्रमको फिल्ड अडिसन नेपालको विभिन्न सहरसँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमान्डौंमा फागुन २७ र २८ गते हुनेछ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाण्डौमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्। साथसाथै देश–विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सक्नेछन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यसबाहेक ‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एपमार्फत अडिसन दिन सक्नेछन्। संस्कृतिक समूहमार्फत सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्ने छैन। डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ। हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ। फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’
‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधानजस्ता वरिष्ठ गायक समावेश छन्। यसका साथै ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ।
यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्नेछन्। उनले यसअघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरु नेपाल आइडल, बूगी—वूगी, नेपाल लोक स्टार, सारेगमपा लिल्च्याम्पसलगायतको निर्देशन गरिसकेका छन्।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशि भएको रियालिटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली १ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। यसका साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै ‘मेरो डान्स युनिभर्स’को विजेताले पनि १ करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। डान्स युनिभर्स’को सँस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यसका साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपालबाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरुबाट पनि नेपालीभाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19