काठमाण्डौ । पार्टीभित्र र बाहिरबाट चौतर्फी टार्गेटमा परेपछि राजनीतिका चतुर खेलाडी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियतालाई बढाएका छन् ।
आफ्नो विरोधी खेमाभित्र फूट ल्याउनेदेखि लिएर प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई समेत उनले आफ्नो हातमा लिइसकेका छन् । यसकारण समेत ओलीका पछिल्ला गतिविधिप्रति देउवा रहस्यमय मौनता साँधिरहेका छन् ।
यही बीचमा ओलीले सकेसम्म फकाउने, नभए फुटाउने, त्यसो गर्दा पनि संभव नभए तर्साउने र ठेगाना लगाउने नीति लिएका देखिएको छ ।
उनको यही रणनीति अन्तरगत विगत केही दिनदेखि केही शक्तिशाली संवैधानिक नियोगका प्रमुखहरुसँग उनले राति राति रहस्यमय भेटघाट गरिरहेका छन् ।
पूर्व माओवादीका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई तर्साउने गरी सर्वोच्च अदालतले दन्दकालमा गम्भीर मानवाधिकार उल्लंघनका घटनाका दोषीलाई आममाफी दिन नसकिने फैसला गरेको भोलिपल्टै सर्वोच्चको प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई ओलीले बालुवाटार बोलाएका थिए ।
उनीहरुबीच रातको समयमा अढाईघण्टा बढी कुराकानी भएको स्रोत दाबी गर्छ । सो भेटलाई पूर्व माओवादीका नेताहरुले रहस्यमय बताइरहेका छन् ।
त्यस लगत्तै हिजो(शुक्रबार) राति समेत ओलीले अर्को शक्तिशाली निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेसँग बालुवाटारमै केही घण्टा भेटघाट गरेका छन् । यो भेटलाई समेत धेरैले अर्थपूर्ण भनिरहेका छन् ।
ओलीका विश्वास पात्रहरुले माओवादी लडाकू शिविरमा भएको अरबौंको भ्रष्टाचार फाइल निकालिने भनेर सार्वजनिक संचारमाध्यमहरुमा धम्की दिइरहेको बेला ओलीले अख्तियार प्रमुखलाई बालुवाटारमा बोलाएर भेटघाटन गरेपछि माओवादी नेताहरु थर्कमान बनेका छन् । रामबहादुर थापा बादलमार्फत क्यान्टोनमेन्ट भ्रष्टाचार प्रकरणको फाइल झिक्न लगाइसकिएको र त्यसमा आवश्यक प्रक्रिया अगाडि बढाएर ओलीले पूर्व माओवादीका अध्यक्ष प्रचण्ड लगायतमाथि प्रहार गर्न खोजिरहेका छन् । ओलीको यस्तो योजनाको विषयमा सूइँको पाएका पूर्व माओवादीका नेताहरु वार कि पार को टुंगो लगाउने भनिएको सचिवालय बैठकको ठीक एक दिनअघि अख्तियार प्रमुखलाई बोलाएर ओलीले गरेको भेटघाटबाट थप सशंकित बन्न पुगेका छन् ।
पछिल्लो पटक ओलीले आफ्ना विरोधीहरुलाई यस्तै विभिन्न त्रासको हतियार देखाएर तर्साउने रणनीति लिएका देखिन्छ ।
ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि द्वन्द्वकालीन मुद्धा र अख्तियारको डण्डा चलाउने ओलीको तयारी छ ।
ओलीले अख्तियार लगाउने बुझेपछि पछिल्लो समय उपेन्द्र यादव मौन बसिरहेका छन् । उनले सार्वजनिक रुपमा ओलीको विरोध गरेको कमै मात्र सुनिन थालेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19