काठमाण्डौ । अन्ततः केपी शर्मा ओली नै प्रधानमन्त्रीको रुपमा निरन्तरता पाउने भएका छन् ।
उनीविरुद्ध बनेको गठबन्धनले बहुमतको सरकार गठनको दाबी पेश गर्ने अवस्था लगभग अन्त भएपछि अब प्रधानमन्त्रीको रुपमा ओलीले नै निरन्तरता पाउने निश्चित देखिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय आज राति ९ बजेसम्म मात्र छ । यसको अर्थ अबको २ घण्टाभित्र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट बहुमतको सरकारको दाबी पेश हुने अवस्था अन्त भइसकेको छ । अब कि त ओलीले नै बहुमतको सरकारसहितको दाबी पेश गर्नुपर्नेछ वा राष्ट्रपति भण्डारीले ओलीलाई नै अल्पमतको प्रधानमन्त्रीको रुपमा पुनः नियुक्त गर्नेछिन् ।
साँझ ९ बजेसम्म कसैले प्रतिनिधि सभाका तत्काल रहेको सदस्य संख्यामध्येबाट बहुमतको समर्थन प्रस्तुत गर्न नसके राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रष्ट तस्विर देखिएको छ ।
केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने उद्देश्यले कांग्रेस र माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले ओलीविरोधी गठबन्धन तयार गरेका थिए ।
सो गठबन्धनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समेत समर्थन रहने विश्वास गरिएको थियो । नेपाल समूहका २० सांसदले पदबाट आजै राजीनामा दिने र त्यसपछि बहुमतको सरकारको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गर्ने योजना बनेको थियो । तर, एमालेको नेपाल समूहका केही नेतामाथिको कारबाही फुकुवासँगै वार्ताको वातावरण तयार गरेर ओलीले विरोधी खेमाका सबै योजना चकनाचुर पारिदिए । वरिष्ठ नेता नेपालसँग वार्तामा बसेर कार्यदल बनाई नमिलेका विषय मिलाउने र सहमति गरेर अगाडि बढ्ने सहमति गरे । यसले नेपाल समूहका सांसदको राजीनामा टर्यो भने यसले देउवाको प्रधानमन्त्री बन्ने सपना भत्कियो ।
कतिपय स्रोतले भने महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भए कांग्रेस र माओवादीले अझै पनि बहुमतको सरकारका लागि दाबी पेश गर्नसक्ने संभावना समेत व्यक्त गरिरहेका छन् । तर, ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई डोलेश्वरमा एक रिसोर्टमा बैठक भन्दै राखेका छन् । यसबाट समेत ठाकुर समेत अब कांग्रेस र माओवादी गठबन्धनमा लाग्ने संभावना छैन ।
यसरी हेर्ने हो भने ३ दिनको निकै लामो रस्साकस्सी र खेलोफड्को तथा आफूविरुद्ध दृश्य अदृश्य षड्यन्त्रहरुलाई चिर्दै केपी ओली पुनः प्रधानमन्त्री बन्न सफल हुने भएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago