काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्टियसभा सदस्यमा पठाउने सर्वसम्मति निर्णय भएको छ । योसँगै राष्ट्रियसभाको सदस्यमा पुनः नियुक्त भएर अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले निरन्तरता पाउने संभावना सकिएको चर्चा हुन थालेको छ । 

आफूले गर्न चाहेको कुरामा चट्टानी अडान लिएर कार्यान्वयन गराइछाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडाको नाममा लगातार जोड दिइरहे पनि अन्तिम अवस्थामा बामदेवकै नाम पठाउने विषयमा कसरी सहमति जनाए ? अहिले राजनीतिक वृत्तमा यो विषय खुबै चर्चामा छ । 

कतिपयले पार्टीमा पुनः विवाद र बिग्रह हुने भएपछि अन्तिम अवस्थामा खतिवडाको ठाउँमा गौतमको नाम सिफारिस गर्न ओली सहमत भएका बताइरहेका छन् । तर, पर्दा पछाडिको कुराहरु भिन्न पनि हुनसक्छन् । 

राजनीति हो, सोच्दै नसोचेको कुरा पनि संभव हुनसक्छ । यहाँ पर्दा पछाडि अनेकन खेलहरु हुन्छन् । उसो भए के राष्ट्रियसभाको सदस्यमा एक नाम सिफारिस गर्ने विषयमा पनि यस्तै खेल भएको हो ? पर्दा अगाडि र पछाडिको कुरा फरक फरक हो ?

ओली गुटमा अहिले भावी अर्थमन्त्रीको विषयमा २ वटा चर्चा व्यापक बनेको रहेछ । पहिलो हो अबको अर्थमन्त्रीको रुपमा फेरि पनि डा. युवराज खतिवडाकै आगमन हुने । दोश्रो चर्चा छ ः अबको अर्थमन्त्री अरु कोही नभएर केपी ओली आफैं हुने । 

अर्थमन्त्रीबाट बाहिरिने अवस्थामा पुगेका डा. खतिवडा फेरि अर्थमन्त्री कसरी बन्नसक्छन् ? 

ओली निकट स्रोतकाअनुसार उनलाई पुनः राष्ट्रियसभा सदस्य बनाएर अर्थमन्त्रीकै रुपमा ल्याउने भगिरथ प्रयास भइरहेको छ । यसका लागि ओलीले सरकारबाट राष्ट्रियसभामा सिफारिस सदस्यमध्ये एकजनालाई राजीनामा गर्न लगाएर त्यहाँ पुनः डा. खतिवडाको नाम पठाउने प्रयास गरिरहेका छन् । यसका लागि ओलीले रामनारायण बिडारीलाई कन्भिन्स गर्ने कोशिश गरिरहेका स्रोतले दाबी गरेको छ । यदि बिडारी वा अरु कुनै सदस्यलाई ओलीले कन्भिन्स गर्न सके भने राजीनामा गर्न लगाई त्यहाँ पुनः खतिवडाको नाम पठाएर अर्थमन्त्रीमा ल्याउने योजना बनाइएको छ । 

पहिलो प्रयास सफल नभए ओलीले अर्को प्रयास पनि गर्नसक्छन् । जुन केही जटिल त छ, तर आफ्ना प्रिय पात्र खतिवडालाई नछाड्ने ओलीको अभिप्राय भने पूरा गरिदिन्छ दोश्रो विकल्पले पनि । त्यो हो अर्थ मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राख्ने र खतिवडालाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार बनाई अर्थ मन्त्रालय संचालनको जिम्मा अप्रत्यक्ष रुपमा दिने । यसो गर्दा पनि अर्थमन्त्रीको रुपमा अरुलाई ल्याउनु पर्दैन र खतिवडाकै ज्ञानले काम गर्छ भन्ने ओलीको बुझाई रहेको स्रोत दाबी गर्छ । 

पार्टीभित्र बामदेव कि युवराज भन्ने अवस्थाका कारण बबण्डर हुने आम अनुमानविपरीत ओलीले सहजै गौतमको नाम राष्ट्रियसभामा सिफारिस गर्नु पछाडि पनि यही खेल रहेको दाबी गरिएको छ । ओलीलाई नजिकबाट चिन्नेहरु यसका पछाडि उनको राम्रै डिजाइन रहेको रुपमा बुझ्न सकिने बताउँछन् । 

अर्थमन्त्री कुनै पनि हालतमा अरुलाई नदिने यदि ओलीको योजना हो भने बामदेवले चाहिँ कुन मन्त्रालय पाउँछन् त ? उनको निजी सचिवालयका एक सदस्यले बिजशालासँग भने–‘यदि त्यस्तो अवस्था आयो भने उहाँ उपप्रधानसहित गृहमन्त्री बन्नुहुन्छ ।’