काठमाण्डौ। अन्य दुई मुलुक भ्रमण गरिसकेकाले मात्र अब खाडी मुलुकहरु र मलेसिया ‘भिजिट भिसा’मा जान पाउने भएका छन्। 

गत माघ ७ गते गृह मन्त्रालयले ओमिक्रोनको कारण देखाउँदै खाडी मुलुकहरु र मलेसियामा माघ १० गतेदेखि लागू हुने गरी पूर्ण रुपमा भ्रमण भिसामा अनिश्चितकालका लागि रोक लगाउने निर्णय गरेको थियो। तर मन्त्रालयले पुनः उक्त निर्णयमा लचकता अपनाएको हो। 

मन्त्रालयद्वारा विज्ञप्तिअनुसार अब खाडी मुलुकहरु र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रुपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन्। 

त्यस्तै नेपाली दूतावासको सिफारिसपत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ।

वैदेशिक रोजगारी व्यवसाय प्रवर्द्धनका लागि जाने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि भ्रमणमा जान दिने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। भ्रमण भिसामा जान वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भएको र त्यसको आधा रकम बैंक खातामा बचत भएका कम्पनीका सञ्चालक र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भ्रमण भिसामा जान पाउने भएका छन्।

यसैगरी नेपालमा सामान आयातनिर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि, सरकारी कामका सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतलाई पनि यो सुविधा दिइने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ।