काठमाण्डौ । स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेताहरु गाउँगाउँ पस्न थालेका छन्। भोट माग्न र आफ्ना चुनावी अजेण्डा जनतामाझ राख्न दलका नेताहरु गाउँ पस्न थालेका हुन्। उपत्यकाका काँठ क्षेत्रका धेरै उम्मेदवार प्रचार सामग्री बोकेर भोट माग्न गाउँतिर लम्किएका छन्।

ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जन स्थानीयसँग भोट माग्न र घुलमिल हुन आफू गाउँगाउँमा पसेको बताउँछन्। उनले उम्मेदवारी दिएको भोलिपल्टै च्यासल, बुङमती, भैंसेपाटी, खोकनालगायत टोलमा पुगेर स्थानीयसमक्ष आफ्ना अजेण्डा राखिसकेका छन्। 'मैले चुनावको बेला मात्रै होइन अरु बेला पनि स्थानीयका गुनासा सुन्दै आएको छु,' उनी भन्छन्, 'स्थानीयसँग भिजेर काम गर्नेलाई मात्र स्थानीयले पत्याउँछन्।' उनी आफूले चुनाव जिते ललितपुर महानगरलाई स्वच्छ र सांस्कृतिक सम्पदा सहरका रुपमा विकास गर्ने बताउँछन्।

ललितपुर महानगरपालिकाकै एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार पनि घरदैलो कार्यक्रममा जुटेका छन्। उनी नागरबासीका घरघरमा पुगेर आफ्ना योजना र अजेण्डा राखिसकेको बताउँछन्। 'सहरमा बसेर गाउँले र स्थानीयका समस्या देखिँदैन,' उनी भन्छन्, 'सहर र गाउँ दुवै क्षेत्रका स्थानीयको समस्या सुन्ने र व्यवहारमा उतार्नेले मात्रै चुनाव जित्न सक्छ।' ललितपुर महानगरकै माओवादी केन्द्रका उम्मेदवार दीपेश महर्जन पनि गाउँ पस्न थालेका छन्।

'पहिलादेखि नै स्थानीयसँग घुलमिल हुँदै आएको छु,' उनी भन्छन्। उनले आफू विजयी भए ललितपुर महानगरपालिकालाई हराभरा बनाउने दाबी गरे। सधैँ सहरमा अनुहार लुकाइरहने नेता चुनाव लागेपछि सुनसान गाउँ पुग्न थालेपछि गाउँले अचम्मित भएका छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।