काठमाण्डौ । लामो समयको प्रयासपछि त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन आगामी फागुन १४ गते गराउने निर्णय गरेको छ । 

विगत ८ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन अब भने निर्धारित समयमै गर्ने गरी आइतबार बसेको त्रिवि सभाको बैठकले फागुन १४ गतेको मिति तोकेको हो । 

विद्यार्थीहरुको सत्ताको रुपमा परिचित स्ववियु निर्वाचन लामो समयदेखि नहुँदा क्याम्पसहरुमा विद्यार्थीको हकहितका सवाल छायामा परेका गुनासो आउने गरेको थियो । स्ववियु प्रतिनिधि नहुँदा कतिपय क्याम्पस प्रशासनले विद्यार्थीको हितको पक्षमा ध्यान नदिएको भन्दै विभिन्न दल निकट विद्यार्थी संगठनले शीघ्र चुनावको मिति घोषणा गर्न दवाब दिंदै आएका थिए ।

विद्यार्थीहरुका लागि सत्ताको पहिलो अभ्यासको रुपमा चिनिइने स्ववियु निर्वाचनको माग राजनीतिक दलहरुले समेत उठाउँदै आएका थिए । तर बिषम परिस्थितिको कारण देखाउँदै त्रिविले मिति घोषणा गर्न सकेको थिएन । 

यसैबीच, स्ववियु चुनावमा वर्षौदेखि उठिरहेको उमेर विवाद मिलाउन शिक्षाध्यक्ष सुधा त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिमा गंगाबहादुर थापा र भिसीले तोकेको एक व्यक्ति सदस्य रहने व्यवस्था मिलाइएको छ । यो समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय अवधि दिइएको छ । तर विद्यार्थी नेताहरुले उमेर विवाद मिलाउन गठित समितिमा आफूहरुको समेत प्रतिनिधित्व हुनुपर्ने माग गरिरहेका छन् । स्ववियु चुनावमा २८ वर्षभन्दा माथिका व्यक्तिहरुले भाग लिन नपाउने व्यवस्था हुनुपर्ने वा यस्तो व्यवस्था हटाउनुपर्ने भन्ने बिषयमा विद्यार्थी संगठन र राजनीतिक दलहरु नै विभाजित हुँदै आएका छन् ।