काठमाण्डौ । आठ वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । 

बुधबार व्यवस्थापिका संसदमा भएको निर्वाचनमा ३ सय ६३ मत प्राप्त गर्दै प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । 

यसअघि उनी पहिलो पटक २०६५ सालमा देशको प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री भए लगत्तै सो बेला कोशीको तटबन्ध फूटेर संकट निम्तिएकोथियो । 

प्रचण्डले गणतन्त्र आएपछि दोश्रो पटक प्रधानमन्त्री बन्ने नेताको रुपमा नयाँ रेकर्ड समेत बनाएका छन् । ०६५ सालमा प्रधानमन्त्री भएपछि तत्कालीन सेना प्रमुख रुक्मांगत कट्वालसँगको दन्द र भारतीय दवाबमा उनले राजीनामा दिनुपरेको थियो । तर रमाइलो संयोग, यसपटक उनी भारतीय चाहना र जोडबलमै प्रधानमन्त्री निर्वाचित हुन सफल भएका छन् । 

संसदमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । बुधबारको संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।