काठमाण्डौ । नेपाल आयल निगमले अन्तर्राष्टिद्वय मूल्यसँग समायोजन गर्दै हवाईं इन्धनको मूल्य घटाएर पेट्रोलकै बराबरीमा ल्याएपछि त्यसका आधारमा सोमबारदेखि लागू हुने गरी बायुसेवा संचालक संघले समेत हवाई भाडादरमा समायोजन गरेको छ । 

संचालक संघको हालै बसेको बैठकले इन्धनको मूल्य घटेसँगै हवाई भाडाको नयाँ दररेट तोकेको हो । संघका एक अधिकारीका अनुसार काठमाण्डौबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३८५ रुपैयाँले हवाई भाडा घटेको छ । काठमाण्डौबाट हुँदै आएको माउन्टेन फ्लाइटको भाडा दरमा ३७५ रुपैयाँ घटाइएको छ । 

आयल निगमले केही दिनअघि आन्तरिक उडानतर्फ प्रयोग हुने हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएर ९९ रुपैयाँ कायम गरेको थियो । संघले प्रतियात्रु प्रति मिनेटका दरले गन्तव्यका आधारमा भाडा घटाउने र बढाउने गरेको संघले जनाएको छ । 

कुन रुटमा कति भाडा घट्यो ?
संघले तोकेको नयाँ हवाई भाडा अनुसार काठमाण्डौबाट पोखरा पुग्न अब ४२३० रुपैयाँ तिर्नुपर्ने छ, यो रुटमा १६५ रुपैयाँ भाडा घटाइएको हो । 

यसैगरी, काठमाण्डौ–भैरहवामा २०५ रुपैयाँ घटाएर  ५३००, काठमाण्डौ–विराटनगर २३५ रुपैयाँ घटाएर ६०५५, काठमाण्डौ–भरतपुर १३५ घटाएर ३०९०, काठमाण्डौ–भद्रपुर २७५ रुपैयाँ घटाएर ७३८५ रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ । यसैगरी, काठमाण्डौ–धनगढी रुटमा  ३८५ घटाएर १०६०५, काठमाण्डौ–नेपालगञ्ज २९५ घटाई  ७९५५, काठमाण्डौ–जनकपुर १५० घटाएर ३५९५, काठमाण्डौ–तुम्लिङटार २०५ रुपैयाँ घटाएर ४९८५ र काठमाण्डौ–सिमरा रुटमा साबिकमा ११५ रुपैयाँ घटाई २६५० रुपैयाँ नयाँ भाडादर कायम गरिएको छ । काठमाण्डौबाट हुने माउन्टेन फ्लाइटमा ३७५ रुपैयाँ घटाई ९०१० रुपैयाँ कायम गरिएको छ ।