काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक सरकार बिस्तार गर्ने दिन सोमबार दिउँसोसम्म नयाँ अर्थमन्त्रीको रुपमा एमाले महासचिव ईश्वर पोखरेलको चर्चा थियो । उनले धेरैतिरबाट बधाई समेत खाइसकेका थिए । तर, सपथका लागि जुरेको साइत भन्दा एकघण्टाअगाडिदेखि मात्र उनी अर्थमन्त्री नबन्ने खबर भाइरल भयो । उनको ठाउँमा मौद्रिक अर्थशास्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको सपथ खान तयार हुन भनी ओलीले भनेको कुरा मिडियाहरुसम्म आइपुुग्यो । 

अन्तिम अवस्थासम्म अर्थमन्त्रीमा जान अड्डी कसेर बसेका एमाले महासचिव ईश्वर पोखरेल एकाएक आफ्नो अडानबाट किन पछाडि हटेका थिए होलान् ?

एमाले उच्च स्रोतका अनुसार सरकार बिस्तारको क्रममा अर्थमन्त्रीको रुपमा डा. खतिवडालाई लैजाने योजनामा रहेका केपी ओलीले पोखे्रललाई सम्झाएका थिए । बाम गठबन्धनको सरकार अवसर र चुनौतिलाई सामना गर्दै अगाडि बढ्नुुपर्ने र चुनावमा आफूहरुको समृद्धिको अजेण्डालाई जनताले बैधानिकता दिएकोले अर्थतन्त्र बुुझेका डा. खतिवडालाई नै अर्थमन्त्री बनाउनुपर्नेमा ओलीले जोड दिएका थिए । 

छलफलको क्रममा प्रधानमन्त्रीपछि प्राय दोश्रो बरियता र शक्तिशाली रहने अर्थमन्त्री डा. खतिवडालाई बनाउने हो भने आफू सरकारमा सहभागी नहुने पोखरेलले नयाँ अडान लिएका थिए । त्यसपछि ओलीले अर्थमन्त्री खतिवडालाई दिए पनि पोखरेललाई आफूपछिको दोश्रो बरियताक्रममा राख्ने भन्दै कन्भिन्स गराएका थिए । प्रधानमन्त्रीपछिको बरियतामा रहने आश्वासन आएपछि मात्र ईश्वर पोखरेल रक्षामन्त्री बन्न तयार भएका थिए । 

छलफलको क्रममा ओलीले सरकारले पूर्णता पाएपछि नयाँ अवधारणा अनुसार सातवटै प्रदेशहरुको विकासको काम समन्वय गर्ने गरी एउटा नयाँ मन्त्रालयको सिर्जना गर्ने र त्यसको जिम्मा समेत पोखरेललाई नै सुम्पिने आश्वासन दिएका छन् । 

यसअघि आपूर्तिमन्त्री भएका पोखरेल डा.बाबुराम भट्टराईका पालामा उपप्रधानमन्त्री समेत बनेका थिए । यो समेत गरी पोखरेल तेस्रो पटक मन्त्री बनेका हुन् ।