काठमाण्डौ । प्रधानमन्त्री बन्ने कसरतमा रहेका जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरको सपनासँगै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा निरन्तर रहने चाहना चकनाचुर हुने देखिएको छ । 

यी दुईको सपना र चाहनालाई चकनाचुर पार्ने गरी नेकपा एमाले फूटाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी सुरु गरेका छन् ।

नयाँ दल दर्ताको तयारीसँगै सो समूहमा रहेका २८ सांसद(२० प्रत्यक्ष र ८ समानुपातिक)ले नै भोलि बिहानसम्म राजीनामा दिने सबै तयारी पूरा गरेपछि अब राजनीतिले नयाँ बाटो समात्ने अवस्था देखिएको छ । 

नेपाल समूहका २८ सांसदले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि आह्वान भएको २७ बैशाखको संसद बैठकमा अनुपस्थित भएर असहयोग गरेका थिए । २८ सांसद अनुपस्थित भएकै कारण जसपाका आधा सांसदको समर्थनसहित विश्वासको मत पाउने ओलीको योजना तुहिएको थियोे । 

ओलीको सरकार ढलेसँगै राष्टपति विद्यादेवी भण्डारीले बहुमतको सरकारका लागि दाबी पेश गर्न बैशाख ३० गते रातिसम्मको समयसीमा दिएकी छिन् । सो समयसीमाभित्रै बहुमत पुर्याएर आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रमुख प्रतिपक्षी शेरबहादुर देउवा लालायित छन् । देउवाको फेरि प्रधानमन्त्री बन्ने लालसा र केपी ओलीलाई जसरी पनि पछारिछाड्ने र उनीसँग नझुक्ने माधवकुमार नेपालको अडानका कारण अन्ततः नयाँ सरकार गठनको ढोका खुलेको छ । 

नेता नेपालनिकट स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरी उनलाई बुधबार नै बुझाइसकेका छन् । नेता नेपालले सो पत्रलाई ढिलोमा पनि भोलि बिहानभित्र सार्वजनिक गर्ने तयारी थालेका छन् । यो बीचमा नयाँ पार्टीका लागि खाका कोर्ने र अन्य पूर्व तयारी समेत तीव्र गतिमा चलिरहेको स्रोत बताउँछ । 

नेपाल पक्षका २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएपछि ती पदहरु तत्काल रिक्त भई सांसद संख्या घट्नेछ, जसको सोझो लाभ प्रधानमन्त्री बन्न कस्सिएका देउवालाई प्राप्त हुनेछ । २० संख्या घटेपछि देउवालाई बहुमत पुर्याउन सहज हुनेछ । यो कदमबाट ओलीले प्रधानमन्त्रीको रुपमा निरन्तरता पाउनेछैनन् भने जसपालाई फकाइरहनुपर्ने बाध्यताको समेत अन्त हुनेछ । 

एकाएक कसरी पल्टियो पासा ?
हिजोको कांग्रेस पदाधिकारी बैठकमा समेत सो पार्टीका सभापति देउवा आफ्नो नेतृत्वको नयाँ सरकार गठन भइहाल्ने कुरामा उति विश्वस्त देखिएका थिएनन् । उनले अवस्था निकै गाह्रो छ भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सबै नेताहरुलाई आह्वान गरेका थिए । उनले गाह्रो छ भन्नुको अर्थ माधव नेपाल पक्षका सांसदले राजीनामा नदिने र जसपाको मत समेत विभाजित अवस्थामा रहेको कठीन परिस्थितितर्फ संकेत गरेका थिए ।

तर, पदाधिकारी बैठक सकेर साँझ निवास पुगेका देउवाका लागि केही समयपछि अवस्था केही सहज बनिदियो । देउवालाई भेट्न उनकै निवासमा माधवकुमार नेपाल र भीम रावलसहितका नेताहरु पुगेका थिए । त्यहाँ केही मुद्धाहरुमा लेनदेनको सहमति बनेसँगै माधव नेपाल पक्ष २० सांसदलाई राजीनामा गराएर अलग्गै पार्टी बनाउने निश्कर्षमा पुगेको हो । यो निश्कर्षपछि देउवा समेत पुनः प्रधानमन्त्री बन्ने अवस्था केही सहज देखिएको छ । 

देउवा निकट उच्च स्रोतका अनुसार गठबन्धनको सरकार निर्माण गर्दा नेपाल निकटका कम्तीमा ६ नेता मन्त्री बन्नेछन् । 

यस्तै, २० सांसदले राजीनामा गरेपछि रिक्त रहने निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पनि तिनै सांसदलाई जिताउने गरी कांग्रेस र माओवादी केन्द्रले सहयोग गर्नेछन् । यो गठबन्धन र सहकार्य आउने चुनावसम्मै कायम राख्ने समेत सहमति बनेको बताइएको छ । 

नेपालसँग भएको सहमतिअनुसार अबको १ वर्षसम्म देउवा प्रधानमन्त्रीको रुपमा रहनेछन् । त्यसपछिका ६ महिना भने चुनाव गराउने गरी माधव नेपाल चुनावी सरकारको प्रधानमन्त्री बन्नेछन् । नेपाललाई चुनावी सरकारको प्रधानमन्त्री बनाउन देउवा तयार देखिएपछि सहमतिको वातावरण बनेको बताइएको छ । 

नेपाल नेतृत्वको चुनावी सरकारले गराउने चुनावमा समेत गठबन्धनलाई यथावत राख्ने र ओली नेतृत्वको दललाई निकै कम स्थानमा मात्र जित्ने मौका दिई दुईतिहाई बहुमत ल्याएर पुनः सहकार्यको आधारमा सरकार चलाउने सहमति बनेको देउवा निकट नेताहरुको दाबी छ । 

नेपाल निकटका नेताहरुले समेत यो दाबी भएका सहमति भएका बुँदाहरुको विषयलाई अस्वीकार गरेका छैनन् । एक नेताले ओलीको अहंकारको समूल नष्ट हुन नसक्ने र उनको नेतृत्व रहेको पार्टीमा बस्दा आफूहरुको माग सम्बोधन नहुने र दोश्रो दर्जाको कार्यकर्ताको व्यवहार गरिने अवस्था देखिएकोले अब नझुक्ने निर्णय भएको बताए । कुनै पनि हालतमा ओलीसँग नझुक्ने र कुनै पनि मूल्य चुकाएर भए पनि ओलीको सत्तायात्रा अन्त गर्ने आफूहरुको मिसन सफलतानजिक पुगेको ती नेताले दाबी गरे । 

ती नेताका अनुसार छिटोमा भोलि बिहान २० सांसदको राजीनामा आउनेछ । त्यसपछि मिलेसम्म भोलि नै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइनेछ । उच्च स्रोतका अनुसार नेपाल पक्षले बनाउन लागेको पार्टीमा उनी पहिलो र बामदेव गौतम दोश्रो अध्यक्ष रहनेछन् । नयाँ दलको नाम नेकपा समाजवादी हुने प्रवल संभावना छ । सो दलको वरिष्ठ नेताको रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल रहनेछन् । 

गठबन्धनको सरकार बनेपछि निर्वाचन आयोगलाई दवाब र प्रभावमा पारेर चुनाव चिन्ह पनि एमालेको चिन्हसँग मिल्दोजुल्दो बनाउने उनीहरुको योजना छ । उनीहरुले चुनाव चिन्हको रुपमा सूर्य र त्यस वरिपरि ५ वटा तारा वा सूर्यभित्र पाँचवटा तारा रहेको डिजाइन तयार गरेका छन् । पार्टीको मूल सिद्धान्त जननेता मदन भण्डारीबाट प्रतिपादित जनताको बहुदलीय जनवाद नै रहने गरी नयाँ पार्टी गठनको तयारी भइरहेको ती नेताले दाबी गरेका छन् । 

नयाँ पार्टीको अन्य पदाधिकारीको मोटामोटी खाका समेत तयार भइसकेको स्रोतको दाबी छ । जसअनुसार पार्टीको महासचिवको रुपमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालमध्येका २ जना रहने छन् । यस्तै, उपमहासचिवको रुपमा गोकर्ण बिष्ट, योगेश भट्टराईले अवसर पाउनेछन् ।