काठमाण्डौ । सत्तारुढ नेकपा एमाले फूटबाट जोगिएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच मिलेर जाने सहमति बनेसँगै पार्टीमा सन्निकट देखिएको फूट टरेको हो । 

आज चपलीहाइटस्थित मिडिया उद्यमी तथा व्यापारी रामेश्वर थापाको घरमा ओली र नेपालबीच करिब ४ घण्टा वार्ता भएको थियो । सो क्रममा मिलेर जाने सहमति बनेको हो । 

वार्ता सकेर निस्किएका वरिष्ठ नेता माधवकुमार नेपालले संवाददाताहरुसँग कुरा गर्दै मिलेर जाने सहमति भएको बताएका छन् । उनले यो सहमतिसँगै २० सांसदले राजीनामा दिने विषय समेत टरेको बताए । 

उनका अनुसार ओली र नेपाल पक्षबीच लामो समयदेखि चल्दै आएको विवाद सामाधानका लागि कार्यदल समेत बन्ने भएको छ । 

दुई नेताबीच फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने र मिलेर जाने गरी सहमति बनेको उनले थप प्रष्ट्याएका छन् । 

ओली र नेपालबीच बनेको यो सहमतिसँगै एमाले फूटको मुखैमा पुगेर जोगिएको छ । यो सहमतिले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर बनेको छ भने ओलीलाई प्रधानमन्त्रीबाट हटाइछाड्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रयास समेत निकै कमजोर बनेको छ ।