काठमाण्डौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र कार्यालय सहयोगी, सरसफाई, प्रशासन शाखा लगायत अन्य क्षेत्रमा काम गर्ने ८० प्रतिशत महिला श्रमिकहरुलाई नियुक्तिपत्र र प्रवेश पास बिना नै चरम श्रमशोषण हुने गरेको खुल्न आएको छ । 

नेपाल सरकार नागरिक उड्डयन प्राधिकरण अन्तर्गत ठेकेदारी प्रथामार्फत विगत २५ वर्ष देखि काम गर्दै आएका श्रमिकहरु समेत बिना नियुक्ति काम गरिरहेका पाइएको छ । 

आईतबार नेपाल ट्रेकिङ  ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ)ले राजधानीमा आयोजना गरेको ‘हवाई क्षेत्रको समस्या’ बिषयक अन्तरक्रियामा सहभागी महिलाहरुले एयरपोर्टका महिला श्रमिकहरुको कहालिलाग्दो रहस्य बाहिर ल्याएका हुन् । 

एयरपोर्ट भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान क्षेत्र परिसरमा सरसफाई, घाँस काट्ने, प्रशासन शाखा( विभिन्न स्थानमा चिया, नास्ता, खाजा बनाउने), पार्किङ क्षेत्रमा काम गर्ने, फूलबारी, बोटविरुवाको रेखदेख र गोडमेल गर्ने, पाले पहरेदार लगायतमा काम गर्ने महिला तथा पुरुष श्रमिकहरु पनि ठेकेदारको धम्की सहँदै विगत २५ वर्षदेखि चरम श्रम शोषणमा परिरहेको खुल्न आएको हो ।

सामान्य लेखपढ भएका श्रमिकहरुको बाहुल्यता रहेको उक्त क्षेत्रका श्रमिकहरुलाई फोटोकपी कागजमा छाप लगाएर प्रवेश पासको व्यवस्था गरिए पनि अन्य कुनै पत्र वा सेवासुबिधा दिइएको छैन ।

२०४५ सालदेखि ज्यालादारी प्रथामार्फत एयरपोर्टको काममा लागेको बताउने च्यान्टीमाया तामाङ बिलौना गर्दै भन्छिन्–‘पहिले श्रीमान् श्रीमती सँगै काम गथ्यौं, सुरुमा शिसा पुछ्ने काम गरियो । तर मलाई आजसम्म कुनै सेवा सुबिधा भनेको के हो थाहा नै छैन । बोल्यो कि जागिर जाने अवस्था छ ।’
 
आफ्ना कुरा बाहिर ल्याउँदा खाईपाईआएको जागिर नै जाने हो कि भन्दै डराई–डराई उनले यति मात्र कुरा राखिन् । 

यस्तै धेरै महिला श्रमिकहरु ठेकेदारको शिकार बनेका छन् । मासिक तलब बुझ्न जाँदा ठेकेदारहरुले धम्काउने, महङ्गीअनुरुप पारिश्रमिकको व्यवस्था नभएको, पारिश्रमिक साह्रै न्यून भएको, एयरपोर्टमा वर्षाै देखी काम गरे पनि कुनै पनि प्रमाणपत्र नपाएको, ड्रेसको सुबिधा नभएको, वर्षैपिच्छे ठेकेदार परिवर्तन हुँदा उनीहरुले बगाएको पसिनाको उचित मूल्य एवम् सेवा सुबिधा नपाएको, वर्षैभरि काम नदिने कहिले ४ महिना कहिले ५ महिना मात्र काम गर्नुपर्ने, चाडपर्व खर्च उपलब्ध नगराउने लगायत न्यूनतम श्रम सुबिधा पनि नपाइने गरेको श्रमिकहरुको गुनासो छ । 

केही गरी प्रवेश पास छुटेमा ‘तेरो लालपूर्जा लिएर आइज’ भन्दै ठेकेदारले दुव्र्यबहार गर्ने गरेको समेत महिला श्रमिकले गुनासो गरेका छन् । 
कार्यक्रममा बोल्दै जिफन्टका उपमहासचिव जनक चौधरीले सरकारको शर्तनामा र सरकारी नियम कानुनको उल्लंघन गरी श्रमिक माथि शोषण गर्नेहरुलाई आफूहरुले नछाड्ने चेतावनी दिए । 

पर्यटन क्षेत्र युनियन परिषदका सदस्य सुनिता थापाले महिलाका आवाजलाई बुलन्द पार्दै महिला माथि भईरहेको चरम श्रमशोषणको अन्त्य आफूहरुको अन्तिम लक्ष्य भएको बताईन् ।

त्यस्तै, यूनिट्राभका अध्यक्ष श्यामकुमार राई र महासचिव सुमन पराजुलीले एयरपोर्टमा श्रमिकलाई अँध्यारो कोठाभित्र राख्नेविरुद्ध आफूहरु जाइलाग्ने र पीडित श्रमिकहरुलाई पनि दायित्वबोध गराउँदै कानुनी अधिकार एवं सेवा सुबिधा उपलब्ध गराउन लागिपर्ने बताए ।