काठमाण्डौ । मुलुकका ३८ औं प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरिसकेका खुलासा भएको छ । 

राष्ट्रपति निकट स्रोतका अनुसार संसदमा सम्बोधन गर्न जानुअघि नै ओलीले आफ्नो पदबाट राजीनामा पेश गरेका हुन् । 

राजीनामाको औपचारिक रुपमा घोषणा चाहि ओलीले संसदमा जारी सम्बोधनको अन्तमा गर्ने बताइएको छ । 

आज दिउँसो बसेको मन्त्रिपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि ओलीको राजीनामा आउने अनुमान गरिएको थियो । 

ओली माओवादी, राप्रपा नेपाल, मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक), जनमोर्चा लगायतका दलको समर्थनमा गत असोज २४ गते प्रधानमन्त्रीमा विजयी भएका थिए । त्यसबेला उनलाई संसदका ३ सय ३८ सदस्यले मत हालेका थिए । 

तर पछिल्लो समय भारतीय डिजाइनमा कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउने खेल खेलेपछि प्रमुख सत्ता साझेदार माओवादी केन्द्रकै प्रस्तावमा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । सरकार संचालनका लागि गठित संयन्त्रको संयोजक नै रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै रहस्यमय ढंगले आफैं सामेल सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका र अविश्वासको प्रस्ताव दर्ता गराउने प्रमुख प्रस्तावक नै रहेका थिए । 

ओलीको राजीनामासँगै अब नयाँ सरकार गठनको मार्ग प्रशस्त भएको छ । अबको केही दिनमा  प्रचण्डको नेतृत्वमा कांग्रेस, मधेशवादी दल लगायतको सहभागितामा नयाँ सरकार गठन हुनेछ ।