काठमाण्डौ । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यी दुई पार्टीमा विभाजन ल्याउने उद्देश्यले अध्यादेश ल्याएपछि उनलाई देखाइदिन यी दुई पार्टीका शीर्ष नेताबीच पार्टी एकीकरण गरी अगाडि बढ्ने निर्णय भएको उच्च स्रोतले जानकारी दिएको छ । 

अहिले पनि दुवै पार्टीका शीर्ष नेताहरु एकताको पूर्वतयारीका लागि निरन्तर छलफल गरिरहेका छन् । 

यी दुई पार्टीबीच भोलि(बिहीबार) अपरान्ह एकताको घोषणा गर्ने सहमति भएको छ । 

हाल राजपा नेपालको केन्द्रीय कार्यालयमा दुवै दलका नेताहरु छलफल गरिरहेका र आफूहरुबीच एकता गर्ने सहमति बनेको नेता राजेन्द्र महतोले जानकारी दिएका छन् । एकताको घोषणा भोलि अपरान्ह हुने बताइएको छ । एकताका बाँकी कुरालाई समेत टुंग्याउन अहिले पनि छलफल जारी रहेको उनको भनाई छ ।