काठमाण्डौ । भारतको खुफिया एजेन्सी र अन्य निकायका प्रतिनिधिहरुको निकै लामो कसरतपछि अन्ततः उनीहरुले तयार पारेको डिजाइन सफल भएको छ । यो डिजाइन सफल भएसँगै भारतको हस्तक्षेप र हेपाहा प्रवृतिको कडा रुपमा विरोध(सामना) गर्ने राष्ट्रवादी छवि बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले उनको राजीनामा स्वीकृत गरिसकेकी छिन् ।

दिल्लीको ग्राण्ड डिजाइन सफल भएसँगै लैनचौरस्थित दूतावासमा नेताहरुको चहलपहल बढ्न थालेको छ भने नेपालमा सरकार परिवर्तनको खबर पुगेलगत्तै दिल्लीमा खुशियाली समेत छाएको छ । 

ओलीले संसदमा अविश्वासको प्रस्तावको मतदानको सामाना गर्नुअघि नै राजीनामा दिएलगत्तै उनको सत्ता बहिर्गमनको बिषयलाई लिएर भारतीय प्रमुख मिडियाहरुमा खुशियाली छाएको छ । भारतीय मिडियाहरुले ‘नेपाललाई भारतविरोधी राज्यको रुपमा स्थापित गर्न खोज्ने ओली विदा भए’ भन्दै खुशी व्यक्त गरेका छन् । ओलीको बहिर्गमन लगत्तै सलबलाएका भारतीय चाहना तथा खुशीहरुले समेत उनलाई गिराउने खेलमा भारत कुन स्तरमा हात धोएर लागेको रहेछ भन्ने प्रष्टिएको छ । 

उनकै नेतृत्वमा नेपालमा रहेको अथाहा पेट्रोलियम संभावना, खनिज, प्राकृतिक ग्यासहरुको खानीको उत्खनन्को काम सुरु भयो । यो काममा चिनियाँहरुले खुलेरै साथ दिए । नेपाल रातारात समृद्ध र शक्तिशाली हुने देखेपछि चिढिएका र तर्सिएका भारतीयहरुले करोडौं खर्च गरेर प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मोहोरा बनाए र उनीहरुकै काँधमा बन्दूक राखेर ओलीको सत्ता पलटका लागि प्रहार गरे । 

यसरी ओली सत्ताबाट बाहिरिने निश्चित भएसँगै व्यक्त भारतीय चाहना तथा खुशीका बेतुकका अभिव्यक्तिहरुले आगामी सरकारको बाटोलाई चाहि चुनौतिपूर्ण बनाइदिनेछ । यसरी  हेर्दा प्रधानमन्त्री बन्न खुट्टा उचालेर तयार भएका प्रचण्ड भोलिका दिनमा दिल्लीका प्रिय बन्न त सक्लान्, तर माहौल यस्तरी बिग्रिएको छ कि जनताको प्रिय बन्न उनलाई गाह्रो छ । फेरि कांग्रेसले तौली तौली उनलाई काम गर्न दिने भएकोले समेत उनी तातो भूंग्रोमा जानी जानी परेका देखिएको छ । 

केपी ओली नेतृत्वको सरकारले भारतले मधेशवादीको पोल सुनेर लगाएको नाकाबन्दीको ढिलै भए पनि व्यवस्थापन गरेकै हो । त्यति मात्र होइन, नाकाबन्दीबाट पाठ सिक्दै मुलुकलाई आत्मनिर्भरको बाटो उन्मुख गराउन ९ महिने शासनकालका प्रयासहरु समयको तुलनामा धेरै भएका हुन् । त्यति मात्र होइन, भारतीय नाकाबन्दीबाट पाठ सिकेर उसको हेपाहा प्रवृतिको विरोध गर्दै प्रम केपी ओलीले चीनसँग पारवहन सम्झौता गरेर पारवहन व्यापारमा भारतको एकाधिकार तोडिदिए । नेपाल एक सार्वभौम मुलुक रहेकोले उसले आफूलाई पायक पर्ने सबै खालका सन्धि–सम्झौता छिमेकका देशहरुसँग गर्ने स्वतन्त्रता हुन्छ भन्ने मान्यता स्थापित गराउने कुरामा पनि ओलीले सफलता पाएकै हुन् । 

ओलीका यस्तै सफलताका कारण उनी सत्तामा रहुञ्जेल प्रशंसाका पात्र बने । उनकै नेतृत्वमा नेपालमा रहेको अथाहा पेट्रोलियम संभावना, खनिज, प्राकृतिक ग्यासहरुको खानीको उत्खनन्को काम सुरु भयो । यो काममा चिनियाँहरुले खुलेरै साथ दिए । नेपाल रातारात समृद्ध र शक्तिशाली हुने देखेपछि चिढिएका र तर्सिएका भारतीयहरुले करोडौं खर्च गरेर प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मोहोरा बनाए र उनीहरुकै काँधमा बन्दूक राखेर ओलीको सत्ता पलटका लागि प्रहार गरे । 

धेरै प्रयासका बाबजुद पनि ओली सरकार जोगिएन र माओवादी केन्द्रले धोका दिएर आफू पनि प्रमुख सत्ता साझेदार दल भएको कुरा समेत भूली सत्तालिप्सामा निर्लिप्त भएर भारतीय चाहना र आदेशका अगाडि शिर निहुर्याइदियो । प्रचण्ड आफू प्रधानमन्त्री हुने लोभमा देश र जनताले देखेको सपना तत्कालका लागि धूजा–धूजा भएर फाटेको जस्तो देखिएको छ । 

हुन त आइतबार संसदमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले ओली सरकारले गरेका सन्धि सम्झौताहरु अब बन्ने सरकारले समेत निरन्तरता दिने बताएका छन् । यो सकारात्मक कुरा हो । तर भारतीय डिजाइनमा फसेका देउवा वा प्रचण्डले चीनसँगको दूरगामी महत्व राख्ने सन्धि सम्झौताहरु लागू गर्लान् भनेर पत्याउन सकिने आधार छैन । भारतले कहिल्यै नचाहेको नेपालका खानीहरुको उत्खनन्को कामले निरन्तरता पाउला भन्ने कुरामा पनि धेरैलाई विश्वास छैन । नेपाली लगानीमै बनाइनुपर्ने कतिपय राष्ट्रिय महत्वका योजनाहरु भारतीयहरुलाई नसुम्पिइएला भन्न सकिने अवस्था पनि छैन । 

यसरी नेपालीहरुलाई अधूरै भए पनि सपना देखाउने, समृद्धिको संभावनाको मार्गचित्रहरु कोरिदिने ओलीको बहिर्गमनसँगै ती सपना अधूरा पो हुने हुन् कि भन्ने आशंकाहरु जनमनमा पैदा भएको छ । आखिर नेपाल जब जब काचुली फेर्ने अवस्थामा पुग्छ, तब तब केही स्वार्थी नेताहरुको स्वार्थमा देश नै लिलामी हुने अवस्था किन आउँछ ? के नेपाली जनतालाई समृद्धिको सपना देख्ने कुनै हक छैन ? भारतीय डिजाइनमा ओलीलाई पदच्यूत गराइएपछि आक्रोशित मनहरुमा यस्तै प्रश्नहरु उठेका पाइएको छ, यस्तै प्रश्नहरुले सामाजिक सञ्जाका पर्खालहरु  रंगिएका छन् । 

ओली सरकारको महत्वपूर्ण मन्त्रालयमा माओवादीकै कब्जा थियो । तर सत्ताबाट बाहिरिने बेलामा अध्यक्ष प्रचण्डले राजनीतिको नैतिकता समेत भूलेर सरकारले यो गरेन, उ गरेन, राष्ट्रघात गर्यो लगायतका बकमफूसे आरोप लगाए । आफ्नै सहमतिमा सरकारले ल्याएको अति लोकप्रिय बजेट समावेशी भएन भन्नेसम्मको आरोप लगाउन भ्याए । ९० प्रतिशतभन्दा बढीले समर्थन गरेको संविधान अपूरो रहेकोसम्म भन्न भ्याए । सत्तामा रहँदा हिजो यी सबै कुरा ठीक देख्ने, तर भारतीय डिजाइनमा फस्ने बित्तिकै र प्रधानमन्त्री हुने लोभले यसरी तल्लो स्तरमा पुगेर प्रचण्डले नाटकीय अभिव्यक्ति दिए । प्रचण्डले दिएको अभिव्यक्तिको जसरी देशव्यापी रुपमा आलोचना भइरहेको छ, ठीक उल्टो ओलीले जाँदा जाँदै देश र जनताको भविष्यप्रति व्यक्त गरेका चिन्ताहरुको मुक्त कण्ठले प्रशंसा भइरहेको छ । 

किन धोका दिए प्रचण्डले ?
कृष्णबहादुर महरा, शेरबहादुर देउवा, खूमबहादुर खड्का, पूर्व राजा ज्ञानेन्द्र लगायतका पात्रहरु विभिन्न बाहानामा दिल्ली गएकै बेला ओली सरकारलाई जसरी भए पनि ढाल्ने र भारतको एस म्यानको नेतृत्वमा सरकार निर्माण गर्ने गोप्य डिजाइन दिल्लीमा तयार भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई डाम्ने देखेर डराएका माओवादी नेता कृष्णबहादुु महरा आफूलाई भारत निकट लोकमानसिंह कार्कीबाट जोगाइदिने अनुनय गर्दै दिल्ली पुगेका थिए । भारतले समेत महरालाई जोगाइदिने वचन दिंदै चीनसँग निकट भएर ओलीलाई साथ दिए माओवादीका सबै नेतालाई जेल कोच्ने अवस्था बनाउने, ज्यानकै सुरक्षामा समेत गम्भीर बन्नुपर्ने भन्दै घुमाउरो ढंगले धम्की नै दिएको थियो । चीनसँग निकट सम्बन्ध राखेर भारतको हेपाहा प्रवृतिको सामना गरिरहेका ओलीलाई साथ दिएका प्रचण्डलाई यिनै डरलाग्दा कुराहरु महराले स्वदेश फर्किएपछि सुनाए । प्रचण्ड समेत द्वन्दकालीन मुद्धादेखि लिएर सत्तामा  रहँदा आर्जन गरेको अकूत सम्पत्तिको छानबिन तथा ज्यानकै असुरक्षा लगायतका बिषयमा गम्भीर बने र आफूलाई समेत फाइदा हुने अवस्था देखेपछि ओलीलाई धोका दिए । 

ओलीको साथ त्यत्तिकै छाड्दा जनस्तरबाट प्रश्न उठ्ला भन्ने ठानेका उनले ओलीमाथि आधारहीन आरोप लगाए र तिनै कुराहरुलाई सत्ताबाट बाहिरिनुको कारणको रुपमा प्रस्तुत गरे । महराले दिल्लीबाट ल्याएको ग्राण्ड डिजाइन अनुसार नै प्रचण्ड पनि ओलीको साथ छाड्न तयार भएका हुन् । यसले प्रचण्डलाई केही महिनाको लागि प्रधानमन्त्री हुने बाटो तय गरिदिएको छ भने प्रचण्डलाई यो कामका लागि राजी गराउन  प्रमुख भूमिका खेलेका कृष्णबहादुर महराले समेत उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय(संभवत अर्थ मन्त्रालय) प्राप्त गर्दैछन् । उनलाई भारतीय निर्देशनमा अख्तियारले डाम्न थालेको तयारी समेत एकाएक स्थगन गरिएको छ । 

ओलीलाई सत्ताबाट लखेट्दा शेरबहादुर देउवाले समेत एकदशक बढी समयदेखि बस्न नपाएको प्रधानमन्त्रीको कुर्सी पाउनेछन् । कांग्रेसलाई अझ ठूलो फाइदा एउटा कम्युनिष्टको काँधमा बन्दूक राखेर अर्को कम्युनिष्टलाई प्रहार गर्नु हुनेछ । यसले कम्युनिष्टहरुको एकता र किल्ला भत्किने र आगामी निर्वाचनमा आफ्नो बहुमत कामय हुने कांग्रेसको बुझाई छ । 

तर, अवस्था ठीक उल्टो
कांग्रेस र माओवादी भारतीय डिजाइनको चंगुलमा फसेर एमाले नेतृत्वको सरकार ढाल्ने खेलमा लागे पनि अवस्था भने त्यति सजिलो छैन । यदि प्रचण्ड नेतृत्वको सरकारले समयमै स्थानीय निकायको निर्वाचन घोषणा गरे त्यसमा एमालेलाई निकै धेरै मत प्राप्त हुने अवस्था देखिएको छ । कारण ओली सरकारको कामप्रति सर्वसाधारणमा राम्रो धारणा व्याप्त  छ । ओलीले बजेटमार्फत कर्मचारीको तलब बढाएको, सामाजिक सुरक्षाभत्ता दोब्बर गरेको, आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रमको बजेट दोब्बर गरिदिएको लगायतका कार्यक्रमको सन्देश राम्रो गएको छ । एकातिर बजेटले उनलाई जनतामाझ लोकप्रिय गराएको छ भने अर्कोतर्फ भारतको हेपाहा प्रवृतिको डटेर सामना गर्दा, खानीहरु उत्खनन्को काम सुरु गर्दा र स्वाभिमानी कामहरु गर्दा त्यसको प्रभाव समेत सकारात्मक छ । यी सबै कामहरुको सकारात्मक प्रभाव स्थानीय निकायमै प्रतिबिम्बित हुने देखिन्छ । त्यसैले त कतिपय ठाउँमा युवाहरुले स्वः स्फूर्त रुपमा प्रदर्शन नै गरे र भने–‘हाम्रो यो प्रदर्शन ओलीका लागि होइन, यो त भोलिका लागि(नेपाल र नेपालीको भविष्यका लागि) हो ।’