काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चूडालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि बिहीबार बिहान नै बाम गठबन्धनले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न समर्थनसहितको पत्र पेश गरेका थिए । एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षर गरिएको सो पत्र शितल निवासमा बुुझाइएपछि त्यसैका आधारमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी बताइएको छ ।

निर्वाचन आयोगले बुधबार साँझ मंसिर १० र २१ गते गरी २ चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएको थियो । त्योसँगै सरकार गठनको बाटो खुलेको भन्दै बहुमतसहित बाम गठबन्धन शितल निवास पुुगेको थियो । 

प्रतिनिधिसभामा सामान्य बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री बन्नसक्ने संवैधानिक व्यवस्था रहेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् । बाम गठबन्धनको झण्डै दुुईतिहाई बहुमत रहेको छ ।