Nepal Tourism Board
-रमेश लम्साल/सिबी अधिकारी
काठमाडौँ । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन ।
सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड ५० लाख रकम खर्च गर्दै आएको छ । बोर्डले प्रचारप्रसारको काममा समेत कागजी युगबाट बाहिर निस्कन सकेको छैन ।
आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कागजी पर्चा, पम्प्लेटजस्ता कागजी प्रचार सामग्रीको माग आउने भन्दै बोर्डले त्यस्ता सामग्री प्रकाशन गर्दै आएको छ ।
पर्यटन प्रवद्र्धनका लागि कागजी सामग्री प्रकाशनमा ठूलो रकम खर्च भए पनि त्यसको उपादेयता भने असाध्यै कम हुने गरेको पाइएको छ । केहीले भने त्यस्तो कार्यलाई अनुत्पादक खर्च भनेर टिप्पणी गर्दै आएका छन् ।
औँलामा प्रविधिको पहुँच तथा एक क्लिकको भरमा संसार थाहा पाउन सकिने गरी प्रविधिको विकास भए पनि बोर्डले प्रचार सामग्रीका नाउँमा पट्यारिला पर्चा, पम्प्लेट, पोष्टर, नक्सा, ‘ब्रोसर’ आदि छाप्दै आएको छ ।
बोर्डले पर्यटन प्रवद्र्धन भन्दै विभिन्न ३० प्रकारका प्रचार पुस्तिका छाप्ने गरेको छ । ती पुस्तिकामा पदयात्रा, पर्वतारोहण, पुरातात्विक सम्पदास्थल, मठ, मन्दिर आदिका सामग्री समेटिने गरेको छ ।
बोर्डले अघिल्लो वर्ष प्रवद्र्धनात्मक सामग्री उत्पादन शीर्षकमा रु एक करोड ५० लाख बजेट विनियोजन गरेको थियो । सन् २०१८ का लागि भने सो शीर्षकमा रु एक करोड बजेट विनियोजन गरेको छ ।
पर्चा, पोष्टर पम्प्लेटजस्ता प्रचार सामग्रीलाई क्रमशः कम गर्दै लैजाने योजनामा बोर्ड रहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले कागजी युगबाट विद्युतीय प्रचार सामग्री उत्पादन, प्रसारण तथा प्रचारमा आफूहरु लागेको बताउनुभयो ।
विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोगबाट कागजी प्रचार सामग्रीको अत्यधिक माग हुने गरेकाले पर्चा, पम्प्लेट छाप्नुपरेको प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ । “अब छाप्नै पर्दा पनि कम छाप्छौँ, नेपालको सबै पर्यटकीय क्षेत्रलाई समेटेर ब्रोसर, पोष्टर र नक्शामात्र छाप्छौँ”, उहाँले भन्नुभयो ।
‘डिजिटल मार्केटिङ’ लाई तीव्रता दिन बोर्डले बजेट तथा कार्यक्रम बनाएर कार्यान्वयनमा लैजाने योजना बनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत जोशीले ‘वेलकम नेपाल एप’ लगायत विद्युतीय सामग्री निर्माणमा जोड दिइएको जानकारी दिनुभयो । बोर्डले विद्युतीय प्रचारलाई प्राथमिकता दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रचारप्रसार गर्न शुरु गरिएको छ ।
अन्तर्राष्ट्रिय रुपमा प्रख्यात ‘ट्रिप एडभाइजर’, ‘लोन्ली प्लानेट’ जस्ता संस्थासँग बोर्डले प्रवद्र्धनात्मक साझेदारी गरिरहेको छ । यस्तै ‘नेपाल घुम्न जाआँै’ भन्ने सन्देशमूलक श्रव्य दृश्य सामग्री विविसी, सिएनएनमा प्रचार गर्दै आएको छ ।
यस्तै अन्तर्राष्ट्रिय समाचार अनलाइन तथा पोर्टलमा समेत नेपालको पर्यटन प्रवद्र्धनका सामग्री प्रकाशन तथा प्रसारण गरिने जोशीको भनाइ छ ।
बोर्डलाई आधुनिक प्रविधिमैत्री बनाउन नीति, कार्यक्रम, योजना र बजेट विनियोजन गरिएको भएपनि त्यो पुग्दो हुन सकेको छैन । साधन र स्रोतको अभावमा पनि विद्युतीय प्रचारप्रसारको कामले प्राथमिकता पाउन सकेको छैन ।
सम्पूर्ण प्रचार सामग्री विद्युतीय गर्ने भनेर विगत दुई वर्षदेखि बजेट तथा कार्यक्रम लागू गरेको भए पनि प्रभावकारी रुपमा काम नभएको बोर्डका पूर्व सञ्चालक समिति सदस्य धनेन्द्र श्रेष्ठ बताउनुहुन्छ।
कागजी सामग्रीमा त्यत्तिकै खर्च हुने र समयको बर्बादी हुने भएकाले प्रचारको उपयुक्त माध्यम डिजिटल मार्केटिङलाई प्राथमिकता दिनुपर्छ न कि पर्चा, पम्प्लेटको खर्च अनुत्पादकजस्तै देखिएको उहाँको भनाइ छ ।
बोर्डका सञ्चालक समिति सदस्य दीपक महत कागजी प्रचारको खर्चमात्रै भएको बताउनुहुन्छ । विद्युतीय प्रचारप्रसारको कामलाई प्रभावकारी बनाउन आफूहरु लागेको र सम्पूर्ण व्यवसायीको पनि त्यसैतर्फ ध्यान दिएको भन्दै उहाँले उत्पादनमूलक क्षेत्र पहिचान गरेर त्यसैमा लगानी गरिनु नै आजको प्रमुख आवश्यकता रहेकामा जोड दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डबीच समेत तादम्यता नमिल्दासमेत धेरैजसो काम प्रभावित भएको जानकारी दिँदै उहाँले निजी क्षेत्रको भावनालाई सम्बोधन गर्ने गरी योजना र कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।
सन् २०१७ मा बोर्डले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रचारप्रसार गर्न रु आठ करोड बजेट विनियोजन गरेकामा रु छ करोड खर्च भएको थियो । सन् २०१८ का लागि जम्मा रु तीन करोडमात्रै बजेट विनियोजन गरिएको छ । यो रकम बेलायती प्रचार संस्था बिबिसी र अमेरिकी प्रचार संस्था सिएनएनमा खर्च गरिनेछ ।
बोर्डले सन् २०१८ का लागि रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । त्यसमा पर्यटन बजार प्रवद्र्धनका लागि रु ३३ करोड ५० लाख, जनसम्पर्कका लागि रु ३३ करोड र आन्तरिक सम्पदा प्रवद्र्धनका लागि रु २० करोड बजेट खर्च गर्ने योजना छ ।
टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल परम्परागत कागजी शैलीको पर्यटन प्रवद्र्धन कार्यलाई क्रमशः कम गर्दै लैजान सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “कागजी शैलीको प्रचारप्रसारले पर्यटन प्रवद्र्धन हुन सक्दैन । विद्युतीय प्रणालीमा नै जानु पर्छ । सबै जानकारी अनलाइनमा नै राखिनु पर्छ । त्यसका लागि टानसमेत सहयोगी हुन्छ ।”
बोर्डका अनुसार सन् २०१७ मा करीब १० लाख पर्यटन नेपाल भ्रमणमा आएका थिए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सो लक्ष्य पूरा गर्नसमेत बोर्डले विद्युतीय प्रचारप्रसारलाई नै बढवा दिनुपर्ने आवश्यकता देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago