-सिवी अधिकारी 
नेपालगञ्ज, बाँके । सरकारले नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउने लक्ष्यसहित पूर्वाधार विकासलाई तीव्रता दिइएको छ । अन्तर्राष्ट्रिय उडानलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थलको स्तरोन्नतिसँगै पूर्वाधार र प्रविधियुक्त बनाइन लागेको हो । 

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय, विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई चाप न्यूनीकरण तथा क्षेत्रीय अन्तर्राष्ट्रिय उडानलाई सहज बनाउन विमानस्थलाई अन्तर्राष्ट्रिय उडान योग्य बनाउन लागिएको छ । 

नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन आवश्यक पूर्वाधार बनाउन शुरु गरिएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । यो विमानस्थलबाट एटीआर–७२ बाटै भारतलगायत विभिन्न मुलुकका नजिकका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान गर्ने योजना छ । पूर्वाधार निर्माणसँगै उपकरण थप्न लागिएको विमानस्थल प्रमुख ठाकुरले बताउनुभयो । 

हाल रात्रिकालीन उडानसमेत भइरहेको यो विमानस्थलमा पार्किङ–बे विस्तारको काम शुरु गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रियस्तरको टर्मिनल भवन बनाइनेछ । यो विमानस्थलबाट भारतको नयाँदिल्ली उडान भर्नका लागि बुद्ध एयरले अनुमति पाइसकेको छ । दिल्लीका लागि उठान अनुमति पाए पनि भारतीय पक्षबाट ‘स्लट’ व्यवस्थापनमा समस्या आएको छ । 

छ वटा पार्किङ–बे थपिँदै 

अन्तर्राष्ट्रिय उडान भर्ने उद्देश्यका साथ नेपालगञ्ज विमानस्थलमा छ वटा पार्किङ–बे थपिने भएको छ । आगामी १८ महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ उक्त पार्किङ–बेको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्दै नेपालगञ्जलाई क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न स्तरोन्नतिको काम शुरु गरिएको उल्लेख गर्नुभयो । 

क्षेत्रीय केन्द्रका रुपमा रहेको विमानस्थलमा पार्किङ नहुँदा धेरै समस्या आएको भन्दै सरकारको नीतिअनुरुप अब सबै एयरलाइन्सका विमान काठमाडौँ बाहेक नेपालगञ्ज, पोखरा र विराटनगर रहने वातावरण सिर्जना हुने उहाँको भनाइ थियो ।

छिट्टै नेपालगञ्ज–दिल्ली उडान 

पर्यटनमन्त्री अधिकारीले नेपालगञ्ज–नयाँदिल्ली उडान छिट्टै सञ्चालनका लागि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँले विमानस्थलाई अन्तर्राष्ट्रियरुपमा छिमेकी देशका नजिकका गन्तब्यमा उडान गर्ने विमानस्थलका रुपमा विकास गर्ने आफूको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “अहिले अन्तर्राष्ट्रिय उडान नेपालगञ्जबाट गर्नका लागि बुद्ध एयरलाई अनुमति दिएका छौँ, अरु एयरलाइन्सले पनि त्यो अनुमति प्राप्त गर्न सक्छन् तर, नयाँदिल्लीमा ‘स्लट’ प्राप्न गर्न नसक्दा सञ्चालन हुन सकेको छैन । दुईपक्षीय सरकारी अधिकारीबीच कुरा भइरहेकाले छिट्टै नै सबै अवरोध छिचोलेर हामी सञ्चालनको अवस्थामा पु¥याउछौँ सोही विश्वासका साथ हामीले यहाँ निर्माणको काम अघि बढाएका हौँ ।” 

मन्त्री अधिकारीका अनुसार अबको तीन महीनाभित्र हालको टर्मिनल भवनको अगाडितर्फ नयाँ टर्मिनल भवनको डिजाइन भइसकेको छ । जहाँ अध्यागमनदेखि अन्तर्राष्ट्रिय विमान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसक्नेछ । 

नेपालगञ्जलाई क्षेत्रीय अन्तर्राष्ट्रिय उडानको ठूलो केन्द्रका रुपमा विकास गर्ने गरी सरकारले पूर्वाधार विस्तारलाई तीव्रता दिएको उहाँले उल्लेख गर्नुभयो । क्यानका अनुसार रु २८ करोड ५३ लाख ४० हजारको लागतमा कान्छाराम कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ । विमानस्थलमा हाल दुईवटा मात्र पार्किङ–मार्ग छन् । विस्तार गर्न लागिएको पार्किङ मार्ग ३१५ मिटर लम्बाइ र ६४ मिटर चौडाइको हो । यो निर्माण भएपछि थप छ वटा एटिआर–७२ विमान राख्न सकिन्छ । यो बनिसकेपछि आठ वटा ठूला र चार वटा साना गरी १२ वटा विमान पार्किङ गर्न सकिने क्यानले जनाएको छ । 

विमानस्थलमा क्यानेडियन सरकारको सहयोगमा सुविधा सम्पन्न ह्याङ्गर यसअघि नै निर्माण भइसकेको छ । हाल सीता एयरले यो ह्याङ्गर भाडामा प्रयोग गरिरहेको छ । नेपालगञ्जमा काठमाडौँबाट नेपाल एयरलाइन्स, बुद्ध एयर, यति एयरलाइन्स, श्रीएयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयरलाइन्स, तारा र गोमा एयरलाइन्सले उडान भर्दै आएका छन् । क्षेत्रीय उडानका रुपमा नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा, रारा, बाजुरा, सिमिकोट र भर्खरै सञ्चालनमा आएको अछामको साँफेबगरमा उडान हँुदै आएको छ । 

एक सय ६५ बिगाहा जग्गामा रहेको यो विमानस्थलको एक हजार ५०५ मिटर लामो धावनमार्ग (रनवे) छ । नेपालगञ्ज विमानस्थललाई विस्तारै अन्तर्राष्ट्रिय उडानयोग्य बनाउन लागिएको क्यानको एरोड्रोम इञ्जिनीयरिङ विभागका प्रमुख ध्रुवदास भोछीभोयाले बताउनुभयो । उहाँले यस्तै प्रकृतिका परियोजना (विमानस्थल स्तरोन्नति) जनकपुरमा चालू अवस्थामा छ भने झापाको चन्द्रगढी र धनगढीमा चाँडै शुरु हुने जानकारी दिनुभयो । 

क्यानका अनुसार मुलुकभर हाल छ वटा निर्माणाधीनसहित ५० वटा विमानस्थल छन् यीमध्ये ३२ वटा विमानस्थल कालोपत्र भइसकेका छन् । निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अबको छ महीनामा सञ्चालनयोग्य हुने गरी यही कात्तिक १२ गतेबाट कालोपत्र गर्ने काम शुरु गरिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अघि बढेको छ भने बारामा दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो बन्नुपर्ने आवश्यकता छ । क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न लागिएका भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, नेपालगञ्ज र धनगढीको स्तरोन्नतिको काम पनि उत्तिकै छिटो गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।