- प्रकाश बन्जारा
इटहरी । सुनसरीको रामधुनी नगरपालिका–५ का बाबुराम ओझा खाडी मुलुकबाट फर्किएको पनि ६ वर्ष भइसकेको छ। त्यति नै वर्ष भइसक्यो उनले स्वदेशमा कर्म थालेको पनि।
बाबुरामले २ वर्ष कतार र २ वर्ष साउदी अरबमा पसिना बगाए। उनलाई खाडी मुलुकमा बिताएका निकै कठोर यी ४ वर्ष सम्झिँदा अझै पनि पत्यारलाग्दो रहेछ।
बाबुराम विगत ६ वर्षदेखि घरपरिवारसँगै बसेर गाईपालन व्यवसाय गरिरहेका छन्। उनी सन्तुष्ट पनि देखिन्छन्।
साउदी अरबको एउटा ग्यास प्लान्टमा काम गरेका बाबुरामलाई त्यहाँ खान खाँदाको लाइन, बिहानै उठेर काममा जान लाग्दा बाथरुममा बसेको लाइन, अर्काको खटनमा असिनपसिन हुँदै काम गर्दाको सम्झना अझै ताजै छ। त्यही सम्झेर भातमात्र खानका लागि त देशमा पनि केही गर्न सकिन्छ भनेर गाई पाल्छु र दूध बेचेर पनि जीविका चलाउँछु भन्ने अठोटका साथ घर आएर गाईपालन थालेको बाबुराम बताउँछन्।
सपना त धेरैले देख्छन्। खाडीमा बाबुरामसँगै बस्ने २० जनाजति साथीहरु पनि आफ्नै केही गर्छु भनेर फर्किएका थिए। तर सबैका सपना पूरा हुन सकेनन्। कसैले प्रतिबद्धता पूरा गर्न सकेनन् त कसैलाई अरु नै समस्याले पिरोलेर व्यवसाय सुरु गर्न अवरोध खडा गर्यो।
बाबुरामले अरु समस्यासँग जुध्दै आफ्नो प्रतिबद्धता पूरा गरिछाडे र सफल पनि भए। उनको सफलतामा गतिलो साथ दिइरहेकी छन् उनकी जीवनसंगिनी सिर्जना बाबुराम र दुई भाइ छोरा।
सुरुमा एउटा गाई पालेर यो व्यवसाय सुरु गरेका बाबुरामको फार्म अहिले ३६ वटा गाई छन्। पहिले आफ्नै घरपछाडि सानो ग्वालीबाट अघि बढेको फार्म अहिले छुट्टै ठूलो व्यवस्थित फार्ममा परिवर्तन भएको छ। आफ्नै घर छेउ जम्मा ८ लाखको लगानीमा सुरु गरिएको फार्म अहिले झन्डै करोडको आकारमा पुगेको रहेछ।
आफ्नो फार्मको आकार बढ्दै गएपछि र दूधको उत्पादन बढ्न थालेपछि आफ्नै लगानीमा डेरीसमेत खोलेका रहेछन् बाबुरामले। रामधुनी दूध खरिदबिक्री केन्द्र नामबाट खोलिएको डेरीमा दैनिक ३०० लिटरसम्म दूध संकलन हुने गरेको बाबुरामले बिजशालालाई बताए।
आफ्नो गाई र अरुबाट आउने भैँसीको दूध अरु डेरीतिर लगेर बेच्ने गरिएको रहेछ। कोरोना महामारीका कारण गरिएको लकडाउनभन्दा पहिले राम्रै बजार बनाएको भए पनि अहिले भने दूध बेच्न नसकेर खेर फलिरहनुपरेको रहेछ। अहिले त दूध धेरै नआओस् भनेर घाँससमेत कन्ट्रोल गरेर खुवाउन थालेको बाबुरामले दुःखेसो पोखे।
यो गुनासो अहिले बाबुरामको मात्र नभएर धेरै कृषकको पाइएको छ। बजारमा माग हुँदाहँुदै पनि उपभोक्तासम्म पुर्याउन सरकारी तबरबाट केही व्यवस्था नहुँदा लाखौंको नोक्सानी कृषकले व्यहोर्नुपरिरहेको छ।
गाईपालनबाट राम्रो आम्दानी हुन थालेपछि बाबुरामले अहिले अर्को व्यवसायमा पनि हात हालेका छन्। त्यो हो अन्डाको क्रेटको बिक्रीवितरण। चारजनाको संयुक्त लगानीमा चलेको यो व्यवसायमा पनि राम्रो बजार र सम्भावना रहेको बाबुराम बताउँछन्।
बाबुरामको फार्ममा अहिले तीनजना कामदार राखिएका छन। ती कर्मचारी नियमित तिनै गाईको सेवामा खटिन्छन्।
फाइदा र काइदाका बीच चुनौती पनि हुन्छन् र छन् पनि। उत्पादन भएको दुग्धजन्य समानले बजार नपाउनु, समयसमयमा पशु बिमारी पर्दा भनेको समयमा डाक्टर नपाउनु साथै सरकारी तबरबाट प्राविधिक कुरामा सहयोग नहुनु, विभिन्न बहानामा आवश्यक दानापानीको मूल्यवृद्धि गरिनु यो व्यवसायका चुनौती रहेको बाबुरामले बताए।
दूधको व्यवस्थापन, समयमा पशुको बीमा गरी जोखिम कम गर्ने काम पनि निकै चुनौतीपूर्ण रहेछ। एउटा गाईको बीमा गर्न लाखको वार्षिक १२ सय रुपैयाँ तिर्नुपर्ने रहेछ। पछि गाईलाइ केही भएको खण्डमा दाबीभुक्तानी भने खासै चुनैती नरहेको बाबुराम बताउँछन्।
कृषिमा अथाह सम्भावना रहे पनि बिचौलियाहरुले धेरै कमाउने गरेको गुनासो हामीले पायौँ। सरकारले अनुदानका नाममा खर्चको गरेको धेरै प्रतिशत रकम बिचौलियाकोमा जाने र थोरैमात्र वास्तविक किसानले पाउने गरेको गुनासो छ। सरकारी मापदण्ड भए पनि बिचौलियाले चाहे कमिसन र आफ्नोलाई अनुदान पार्न खेल खेल्ने गरेको व्यवसायीहरु बताउँछन्।
अनुदानमा पैसा दिनुको सट्टा सरकारले मध्यस्थकर्ताको भूमिका खेलेर औषधोपचार, सुझावसल्लाह साथै बजार व्यवस्थापनमा किसानलाई सहयोग गर्ने हो भने कृषिमा आत्मनिर्भर हुन सकिने बाबुरामको अनुभव छ। यसरी फार्म गर्नेले नगरपालिका, कर कार्यलय र घरेलु कार्यलयमा दर्ता गर्नुपर्ने रहेछ र त्यसै गरेका छन् बाबुरामले पनि।
स्थानीय तहबाट फार्मको मापदण्ड पूरा गर्न कम्तीमा ५ वटा गाई हुनुपर्ने र त्यसो भए सरकारी अनुदानका लागि योग्य हुने भए पनि सरकारी कार्यालयहरुले कम्तीमा ३० हुनुपर्छ भन्ने गरेको पनि हामीले जानकारी पायौं।
निकट भविष्यमै अरु व्यवसायीसँग मिलेर खसी, बाख्रा, गाईसँगै अर्को फार्मको स्थापनामा जुटेका बाबुरामगाई पालनका बारेमा कसैलाई जानकारी चाहिए आफू आफ्नो ज्ञान साट्न तयार रहेकोसमेत बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19