काठमाण्डौ । ११ वैशाख ०६३ मा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । जनआन्दोलनमा सहभागी सात दल तथा १० वर्षे विद्रोह गरेको माओवादीसँग शान्तिसम्झौता भयो । अन्तरिम संविधान जारी भएपछि माओवादी पनि सहभागी भएको कोइराला नेतृत्वकै सरकारले संविधानसभा निर्वाचन गरेको थियो।
०६४ को संविधानसभा निर्वाचनमा माओवादी देशकै ठूलो पार्टी भएपछि अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्यो । २० भदौ ०६५ मा प्रचण्डले एमाले, मधेसवादी दललाई साथमा लिएर सरकार बनाए । त्यो सरकार नौ महिना चल्यो ।
११ जेठ ०६६ मा एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा कांग्रेस, राप्रपा, फोरम, माक्र्सवादीलगायत अन्य साना पार्टीहरूसमेत सहभागी भएर सरकार गठन भयो । माओवादी विपक्षमा थियो । नेपालले सातपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै एक वर्ष आठ महिना सरकार चलाए ।
२३ माघ ०६७ मा नेपाल नेतृत्वको सरकार प्रतिस्थापन गर्दै एमालेकै तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी, फोरमलगायतका दलको समर्थनमा खनाल प्रधानमन्त्री भएका थिए । त्यतिवेला प्रधानमन्त्री निर्वाचनमा १७ पटक सम्म पनि संसद्मा निर्वाचन भयो । कांग्रेसका रामचन्द्र पौडेल, माओवादीका प्रचण्ड र एमालेका झलनाथ खनाल चुनावी मैदानमा थिए । तर, अन्तिममा माओवादीको समर्थनमा खनाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । खनालले दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दै सात महिना सरकार चलाए ।
१२ भदौ २०६८ मा मधेसकेन्द्रित दलदेखि साना दलको समर्थन लिएर तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ सरकार बन्यो । दुई ठूला पार्टी कांग्रेस र एमाले विपक्षमा थिए । दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका भट्टराईले एक वर्ष सरकार चलाए ।
१ चैत ०६९ मा सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दलहरूले सरकारको नेतृत्व सुम्पिए । दोस्रो संविधानसभाको निर्वाचन गराउन बनाइएको सो सरकारमा कर्मचारी सम्मिलित ११ सदस्यीय मन्त्रिपरिषद् थियो ।
२९ माघ ०७० मा कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भयो । संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस पहिलो पार्टी भएको थियो । संसद्मा दोस्रो स्थानमा रहेको एमालेलगायत दलहरूलाई साथ लिएर कोइरालाले सरकार बनाएका थिए । उनले एकपटक मन्त्रिपरिषद् पुनर्गठन गरे, एक वर्ष आठ महिना सरकार चलाए ।
२५ असोज ०७२ मा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्यो । माओवादी, राप्रपा, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनमोर्चासहितको समीकरणमा ओली नेतृत्वको सरकार बनेको थियो । ठूलो दल कांग्रेस र मधेसवादी दल विपक्षमा थिए । ओलीले १० महिना सरकार चलाए । १९ साउन ०६३ मा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेस–माओवादी गठबन्धनमा दोस्रोपटक प्रधानमन्त्री बने । कांग्रेस–माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमतिका आधारमा प्रचण्डले १० जेठमा राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दै छन् । उनको सरकार १० महिना चल्यो ।
२१ जेठ २०७४ मा नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसद्मा निर्वाचन हुँदै छ । कांग्रेस, माओवादी, राप्रपा, लोकतान्त्रिक फोरमलगायतका दलको गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुँदै छन् ।
कांग्रेस चारपटक सरकारमा, एमाले र एमाओवादी ६–६ पटक
कांग्रेसका ५९ मन्त्री
कांग्रेस १० वर्षयता चारवटा सरकारमा सहभागी भएको छ । दुईवटा सरकार कांग्रेसकै नेतृत्वमा गठन भएको थियो । अब आफ्नै पार्टी सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुँदा ५औँ पटक कांग्रेसको सत्तारोहण हुँदै छ । चारपटकको सत्तारोहणका क्रममा कांग्रेसका ५९ नेता मन्त्री भएका छन् । त्यसमध्ये विमलेन्द्र निधि, डा. रामशरण महत, डा. प्रकाशशरण महत, बालकृष्ण खाणलगायतका नेता दोहोरिएर मन्त्री बनेका थिए ।
एमालेका ६८ मन्त्री
एमाले १० वर्षयता ६ पटक सरकारमा सहभागी भएको छ । एमालेले तीनपटक आफ्नो नेतृत्वमा सरकार बनायो । दुईपटक कांग्रेसको र एकपटक माओवादी नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो । यसबीचमा एमाले ६८ नेता मन्त्री भएका छन् । भीम रावल, विष्णु पौडेल लगायतका नेताहरु दोहोरिएर मन्त्री बनेका छन् ।
माओवादीका ७५ मन्त्री
दश वर्षमा ६ पटक सरकारमा रहेको माओवादीले दुई पटक आफ्नै नेतृत्वमा सरकार चलाएको छ । यसबीचमा माओवादीका ७५ नेता मन्त्री बनेका छन् । अव सातौ पटक कांग्रेस नेतृत्वको सरकारमा माओवादी सहभागी हुदैछ । कृष्णवहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, अग्नि सापकोटा लगायतका नेताहरु दोहोरिएर मन्त्री बनेका छन् ।
अन्य दलका ४८ मन्त्री
दश वर्षयता काग्रेस, एमाले र माओवादी केन्द्रकाबाहेक अन्य दलका ४८ नेता मन्त्री वनेका छन् । मधेस केन्द्रीत दल, नेकपा माले, राष्टिय जनमोर्चा, नेकपा माक्र्सवादी लगायत दलका नेता मन्त्री भएका हुन् । नेताहरु उपेन्द्र यादव, विजयकुमार गच्छेदार, प्रमेवहादुर सिंह, एकनाथ ढकाल लगायत नेताहरु दोहोरिएर मन्त्री बनेका छन् । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago