काठमाण्डौ । आइतबार सम्पन्न मतदान अन्तर्गत तीनवटा महानगरपालिकाको मतगणना सोमबार बिहानदेखि र ललितपुरको चाहि आजै रातिदेखि सुरु हुने भएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाण्डौ, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार बिहानदेखि मात्र सुरु गर्ने सहमति भएको हो । यता, ललितपुर महानगरपालिकाको मतगणना भने आजै राति ११ बजेदेखि सुरु हुने बताइएको छ । 

महानगरका मतपेटिकाहरु मतगणना केन्द्रमा ल्याउने र व्यवस्थित बनाउने काम जारी रहेकोले आइतबार रातिदेखि गणना गर्ने पूर्वयोजना सफल हुन नसकेको हो । सोमबार भने बिहानैदेखि मतगणना कार्यको थालनी गरिनेछ । 

यसैबीच, काठमाण्डौ नजिकका दक्षिणकाली र टोखा नगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु हुनेछ । यी दुवै क्षेत्रमा राति ११ बजेदेखि मतगणना थालिने बताइएको छ । यस्तै, ललितपुरको महाकांल गाउँपालिकाको मतगणना समेत आजैदेखि थाल्ने तयारी भइरहेको ललितपुरका पत्रकार अमृतनाथ तिम्सिनाले जानकारी दिए ।