काठमाडौँ । बिहीबार दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सबैमा आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सबै तहका क्रियाकलापमा मजबुत सुरक्षा व्यवस्था मिलाइएको छ ।” 

सुरक्षाको प्रत्याभूति दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई योजनाबद्ध तवरले सशक्तरुपमा परिचालन गरिएको उहाँले बताउनुभयो । 

गृहसचिव सापकोटाले निर्वाचन विरोधी गतिविधिलाई निस्तेज र नियन्त्रण गर्न सरकार लागिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न बाधा, व्यवधान सिर्जना गर्न खोज्ने, डर त्रास पैदा गर्न खोज्ने र विष्फोटनका घटना घटाई उम्मेदवार, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण जनतालाई घाइते तुल्याउनेजस्ता निर्वाचन विरोधी, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षाका निरोधात्मक र प्रतिरोधात्मक कारबाही कडाइका साथ तीव्र तुल्याइएको छ ।” 

निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ । राष्ट्रिय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिनेछ । 

निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव सापकोटाले जानकारी दिनुभयो । यस्तै निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । 

कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको गृहले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् । 

अनुमति लिएकाबाहेक सवारीसाधन चलाउन नपाइने 

निर्वाचन हुने जिल्लामा बिहीबार सार्वजनिक र निजी सवारीसाधन चलाउन नपाइने गृहले जनाएको छ । अत्यावश्यक सेवाका सवारी र अनुमतिपत्र भएका सवारी भने चलाउन पाइने छ । 

बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ७ बजेसम्म सवारीसधान चलाउन नपाइने गृहले स्पष्ट पारेको छ । यस्तै निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिइएको गृहले जनाएको छ । 

निर्वाचनको सुरक्षा तयारी पूरा – प्रहरी 

यसैबीच, नेपाल प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचनको सुरक्षा तयारी पूरा भएको र निर्वाचन विरोधी गतिविधिमा संलग्न करिब एक हजारलाई पक्राउ गरिएको जनाएको छ । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६००, सिके राउत समूहका १३ र अन्य समूह तथा व्यक्ति ३५५ जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

यस्तै, ६१ थान हातहतियार, २८३ थान गोली, दुई हजार १८८ थान डेटोनेटर, बारुद १२ किलो, पटाका, जिलेटिनलगायत सामाग्री बरामद गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार मतदानस्थलमा सुरक्षा संवेदनशीलताको आधारमा जनशक्ति, हातहतियार तथा साधनस्रोतको परिचालन गरिएको छ । 

प्रहरीको कुल जनशक्तिको न्यूनतम ९० प्रतिशत जनशक्ति परिचालन गरी निर्वाचन सुरक्षाका लागि सुरक्षा तैनाथी सम्पूर्णरुपमा सम्पन्न भइसकेको प्रवक्ता न्यौपानले जानकारी दिनुभयो । 

विष्फोटनका घटनामा संलग्न कास्कीबाट तीनजना, बारा, संखुवासभा, भोजपुर, सिराहा, उदयपुरबाट एक/एक जना पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।