RSS Image
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान जारी भएसँगै लगानीको उपयुक्त वातावरण बनेकाले अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि आह्वान गरेका छन् ।
आफ्नो कार्यकक्ष सिंहदरबारमा बुधबार भएको विदेशस्थित दातृ निकायका प्रतिनिधिसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले संविधान जारीपश्चात मुलुकमा लगानीमैत्री वातावरण बनेकाले लगानीका लागि आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(डिएफआइडी)का सचिव मार्क लोकक तथा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालय(युएनएचसिआर)का प्रतिनिधिले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
दुवै भेटमा नेपालको आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी भएको छ । भेटमा खासगरी नेपालको आर्थिक विकासमा कसरी बेलायतको लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको थियो ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको सन्दर्भमा आपसी सम्बन्धलाई थप सुदृढ र बलियो बनाउनेबारे पनि उनीहरुबीच कुराकानी भएको थियो । बेलायतले नेपालको संविधान कार्यान्वयनबारे पनि चासो राखेको थियो ।
त्यस्तै युएनएचआरसीका प्रतिनिधिले पनि नेपालको आर्थिक विकास र भूटानी शरणार्थी समस्याबारे जिज्ञासा राखेको थिए । बेलायती सचिवसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालमा प्रसस्त लगानीको वातावरण रहेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार गोपाल खनालले संचारकर्मीलाई जानकारी दिए ।
दुई देशबीचको सम्बन्ध, नेपालको आर्थिक विकासमा बेलायतको भूमिकालगायतको विषयमा कुराकानी भएको उनले उल्लेख गरे ।
बेलायती सचिवहरुले संविधान जारीपश्चात नेपाल आर्थिक विकासको दिशातर्फ उन्मुख भएकामा खुसी व्यक्त गर्दै खासगरी ठूला परियोजनामा वेलायती लगानी कसरी भित्र्याउने र लगानी सुरक्षित गर्नेबारे विस्तृत कुराकानी भएको थियो ।
प्रमका परराष्ट्र सल्लाहकार खनालका अनुसार बेलायतले संविधान कार्यान्वयनप्रति राखेको चासोको जवाफमा प्रधानमन्त्री ओलीले नेपाल यतिखेर संविधान कार्यान्वयनको चरणमा रहेको र सबैखाले समस्या समाधान भइसकेको र केही भए वार्ता र सहमतिबाटै समाधान खोजिने बताएका थिए ।
डिएफआइडीका सचिव मार्क लोककले प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको आधुनिक विकास र दुईपक्षीय सहयोगबारे सौहार्दपूर्ण कुराकानी भएको बताए ।
त्यसैगरी युएनएचसिआरका प्रतिनिधिसँगको भेटमा विशेषगरी भुटानी शरणार्थी समस्या समाधान, नेपालको आर्थिक विकासमा खेल्ने भूमिकालगायतका विषयमा छलफल भएको थियो ।
भेटपछि सञ्चारकर्मीलाई जानकारी दिँदै युएनएचआरसीका प्रतिनिधि क्रेग सेन्डर्सले नेपालको समसामयिक परिस्थिति र भुटानी शरणार्थीबारे कुराकानी भएको बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago