काठमाण्डौ । पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा लोकप्रिय भएका कतिपय नारा तथा कार्यक्रमसहित एमालेले आर्थिक समृद्धिको सपना देख्नेहरुलाई उत्साहित बनाउने गरी आगामी निर्वाचनहरुका लागि ५१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
एमालेकै अवधारणा अनुसार देशमा पहिलोपटक आएको वृद्धभत्ता वृद्धि गरी ५ हजार पुर्याउनेदेखि लिएर जलविद्युतको आमूल विकास, पर्यटन उद्योगको विकासमा विशेष फोकस, व्यवस्थित र आधुनिक शहरको निर्माणदेखि विमानस्थलको सुधार, आफ्नै पानी जहाज, आधुनिक बससँगै रेल सेवा लगायतका एजेण्डा समेत चुनावी घोषणापत्रमा समेटिएका छन् ।
एमालेको चुनावी घोषणापत्रले मुख्य रुपमा आर्थिक समृद्धि, बैंक तथा बित्तीय पहुँच बिस्तार, सेयर लगानीका सर्वसाधारणको सहभागिता लगायतका बिषयलाई प्राथमिकता दिएको छ । गाउँ गाउँमा बैंकको स्थापनादेखि सहकारीमार्फत रोजगारीको सिर्जना, वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई आफूले विदेशमा काम गरेको प्रमाणपत्र दिई दक्ष प्रमाणित गर्ने र उसलाई स्वदेशमा सोही क्षेत्रमा स्थापित गर्ने केही नयाँ भिजनले समेत ठाउँ पाएका छन् ।
एमालेको चुनावी घोषणापत्रले समृद्ध नेपालको सपना देख्नेहरुलाई उत्साहित बनाउनेछ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले भने ।
समृद्ध नेपालको सपना देख्न चाहनेहरुका लागि समेत उत्साहप्रद ह’नसक्ने एमालेको च’नावी घोषणापत्रका म’ख्य आकर्षण यस्ता छन् :
१० वर्षमा आर्थिक रुपान्तरण
एमालेले आगामी १० वर्षमा आर्थिक रुपान्तरण गर्ने सपना देखेको छ । ठूला पूर्वाधार र परियोजनाहरू, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण लगायत सामाजिक क्षेत्र र आर्थिक विकासको क्षेत्रमा व्यापक लगानी गरिने एमालेको प्रतिबद्धता छ । पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने समेत उल्लेख छ । परनिर्भरताको अन्त्य गर्न स्पष्ट योजनाका साथ अगाडि बढ्ने र यसका लागि विगतमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता तथा रेलवे, सडक यातायात, पेट्रोलियम, उर्जा तथा सञ्चारसम्बन्धी समझदारीहरूको कार्यान्वयन गरिने एमालेले बताएको छ । भारत र चीन दुबैसँग आर्थिक सम्बन्धलाई नयाँ उचाइमा विकसित गर्ने र दक्षिण एसियाली राष्ट्रहरूसँग समेत नयाँ साझेदारी विकास गर्दै परनिर्भरताको अन्त्य र अन्तरनिर्भरताको वृद्धि गर्ने एमालेले घोषणा गरेको छ ।
घर-घरमा बिजुली, जन-जनमा सेयर
एमालेले आफ्नो घोषणापत्रमा आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने बताएको छ । कर्णाली चिसापानी वहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने, कोशी नदीमा अध्ययन गरिएका बहुृउद्देश्यीय परियोजना, तमोर जलाशय परियोजना तथा पश्चिम सेती, नलसिङ्गाड, नौमुरे र बुढीगण्डकी परियोजनाहरू यथाशीघ्र सम्पन्न गर्ने गरी कार्य गर्ने समेत बताएको छ ।
एमालेले 'घर–घरमा बिजुलीः जन–जनमा शेयर' नीति लागू गर्ने र यो योजना अन्तर्गत लगानी र प्रतिफलका दृष्टिले आकर्षक जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी प्रबद्र्धन गर्ने भनेको छ । त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न पाउने व्यवस्था गर्ने समेत उसले बताएको छ ।
देशैभरि रेलै-रेल
पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने महत्वकांक्षी योजना समेत सार्वजनिक गरिएको छ । पहिलो चरणमा रसुवागढी– काठमाडौं– पोखरा– लुम्बिनी रेलमार्ग तथा काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गर्ने एमालेको भनाई छ । यस बाहेक अन्य सीमा नाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अगाडि बढाइने एमालेले बताएको छ । काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने, राजधानीसँग जोडिएका जिल्लाहरूमा रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गरी ंरेल सेवा विस्तार योजना शुरु गरिने समेत उसले बताएको छ ।
आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, आगामी दुई वर्षभित्र सञ्चालन हुने गरी भैरहवा र तीन बर्षभित्र सञ्चालन हुने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलको विस्तार तथा स्तरोन्नत गरी प्रादेशिक स्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्ने एमालेले बताएको छ ।
नेपाली ध्वजाबाहक पानीजहाज
कोसी, गण्डकी र कर्णाली नदीहरूमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गर्ने र विभिन्न भागमा निर्माण गरिने उच्च बाँध जलाशयहरूमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गर्ने घोषणापत्रमा उल्लेख छ । राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको संभाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बङ्गलादेश सरकारसंग वार्ता गर्ने समेत एमालेको घोषणापत्रमा उल्लेख छ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार अनुरुप हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी समेत गर्ने उसको घोषणा छ ।
विपन्नलाई घर उपहार
एमालेले घोषणापत्रमार्फत घरबारबिहीन सुकुम्बासी, पूर्व कमैया–कमलरी र पूर्व हलिया, लोपोन्मूख जातिका परिवार, मुसहर, चेपाङ, पासी, चमार, डोम, मुसहर, बादी, माझी, राउटे, कुसुण्डा लगायतका विपन्न समुदायका परिवारलाई पाँच वर्षभित्र सुविधासम्पन्न घर उपलब्ध गराउने समेत दाबी गरेको छ ।
युरेनियम, पेट्रोलियम र फलाम खानीको उत्खनन्
एमालेले आगामी १० वर्षभित्र नेपालको सम्पूर्ण उत्पादन गतिविधिलाई औद्योगीकरणमा समाहित गर्ने घोषणा गरेको छ । वृहद औद्योगिक क्षेत्रका लागि नेकपा (एमाले) को नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले घोषणा गरी काम शुरु गरेका सबै औद्योगिक क्षेत्रहरू स्थापनाको काम अघि बढाउने, निर्यातमूलक मुख्य उद्योगहरू यिनै औद्योगिक क्षेत्रमा स्थापना गर्ने, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आकर्षित गर्न उद्योग स्थापना भएको पाँच वर्षसम्म विद्युत्, पानी र करमा विशेष छुट दिने, उद्योग, वित्तीय संस्था र प्राविधिक केन्द्र स्थापनाका लागि कानूनमा आवश्यक संशोधन गरी एकद्वार प्रणालीलाई प्रभावकारी बनाइने नीति एमालेले अख्तियार गर्नेछ ।
एक प्रदेश एक आधुनिक औद्योगिक क्षेत्र नीति अनुरूप प्रत्येक औद्योगिक क्षेत्रमा दस बर्षभित्रमा एक लाख व्यक्तिले रोजगारी प्राप्त गर्ने गरी उद्योगहरू स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योग ग्राम विकास गर्ने एमालेको घोषणा छ ।
मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापना, दैलेख लगायतका स्थानमा पेट्रोलियम र नवलपरासीमा रहेको फलाम खानीको थप अन्वेषण गरी उपयोग गर्ने समेत उल्लेख छ ।
सुविधासम्पन्न गाउँ, आधुनिक नगर
आगामी ६ महिना भित्र स्थानीय तहका सभाहरूले तोकेका स्थानमा सहरी केन्द्र र वडा समितिले तोकेका स्थानमा उपनगर या एकीकृत ग्राम विकास गर्न गुरुयोजना निर्माण गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । गुरुयोजना बमोजिम आगामी २ वर्षभित्र स्थानीय तहको सहरी केन्द्रमा जनप्रशासन भवन, सभा भवन, विभागीय भवन, विद्यालय–महाविद्यालय, एकीकृत सेवा केन्द्र, अस्पताल, सामुदायिक सेवा भवन र सुरक्षा चौकीहरू निर्माण हुने छन् । सहरी केन्द्रका व्यापारिक तथा आवासीय क्षेत्रका घडेरीहरू बोलपत्रद्वारा बिक्री गरी आम्दानी भएको सम्पूर्ण रकम स्थानीय सरकारको कोषमा जम्मा गरिने छ । गुरुयोजना बमोजिमका सबै संरचनाहरू आगामी ५ वर्षभित्र निर्माण सम्पन्न गरिसकिनेछ ।
आगामी ५ वर्षभित्र वडाका उपयुक्त स्थानमा गुरुयोजना बमोजिमका उपनगर या एकीकृत ग्राम विकास गर्ने र छरिएका बस्तीहरूलाई एकीकृत बस्ती या उपनगरहरूमा व्यवस्थापन गर्ने एजेण्डा समेत उल्लेख छ ।
सबै उपनगर/एकीकृत ग्रामबाट अधिकतम आधा घण्टामा स्थानीय तहको सहरी केन्द्रमा पुग्ने गरी तथा प्रत्येक सहरी केन्द्रबाट न्यूनतम २ घण्टामा राजमार्गमा पुग्ने गरी सडकहरूको निर्माण र स्तरोन्नति गर्ने एमालेको योजना छ ।
भौगोलिक र पर्यावरणीय दृष्टिले सडक पु¥याउन संभव नहुने उच्च हिमाली क्षेत्रका वस्तीहरूलाई केबलकार लगायत वैकल्पिक यातायातबाट जोड्ने एमालेले घोषणा गरेको छ ।
सिंहदरबार नमुना भवन सबै तहका प्रशासनिक केन्द्रमा
एमालेले सबै तहका केन्द्रका प्रशासनिक तथा सभा भवनहरू सुन्दर, आकर्षक र सिंहदरबार नमूनाका बनाउने घोषणा गरेको छ ।
५ वर्षपछि नगदविहीन कारोबार
एमालेले प्रत्येक तहका केन्द्र र वडामा न्यूनतम एक बैंकको शाखा खोल्ने कार्यक्रमलाई समेत घोषणापत्रमा समेटेको छ । प्रत्येक परिवारलाई शून्य मौजदातमा निःशुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाउने र ५ वर्ष पछि सम्पूर्ण आर्थिक कारोबार नगदबिहीन बैंकिङ्ग प्रणालीमा लैजाने गरी योजना शुरु गर्ने उसको घोषणा छ ।
थप ९ महानगर
एमालेले आफ्नो घोषणापत्रमा थप ९ महानगर बनाउने एजेण्डा समेत राखेको छ । उसका अनुसार कैलालीको धनगढी र अत्तरियासमेत, बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरासमेत, दाङको तुल्सीपुर र घोराहीसमेत, रुपन्देहीको बुटवल र भैरहवासमेत, पर्साको वीरगञ्ज र पोखरियासमेत, धनुषाको जनकपुर, धनुषाधाम र ढल्केवरसमेत, मोरङको विराटनगर, रङ्गेली र टङ्कीसिनवारी समेत, सुनसरीको धरान र इटहरीसमेत तथा झापाको बिर्तामोड, भद्रपुर र मेचीनगरसमेत मिलाएर थप ९ वटा नयाँ महानगरपालिकाहरू घोषणा गरिने छ ।
राजधानीमा मेघा नगर
नेकपा(एमाले)को सरकार बनेको दोश्रो वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघा नगर घोषणा गर्ने बताएको छ ।
काठमाडौँ उपत्यका लगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको बैरेनी र नौबिसेसम्मको क्षेत्र, विदुर, बेत्रावतीदेखि बैरेनीसम्मको नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, मेलम्ची समेत इन्द्रावती उपत्यका र दोलालघाट, पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गर्ने घोषणा समेत गरेको छ ।
स्थानीय निर्वाचनको पहिलो वर्षमै अधिकारसम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरिने छ । गुरुयोजना बमोजिमको दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण शुरु.गरिने छ । विस्तार गरी विकसित गरिएको राजधानीमा एउटा मेघा शहर सहित १० वटा अत्याधुनिक स्याटलाइट शहर विकास गर्ने उसको घोषणा छ ।
काठमाण्डौमा ५ मिनेटको फरकमा सार्वजनिक यातायात
एमालेले राजधानीका सबै सडकहरूमा पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरपालिकाद्वारा सञ्चालित सुविधासम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्ने योजना समेत घोषणापत्रमा समेटेको छ ।
आगामी ३ वर्षभित्र राजधानी उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कशपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गर्ने, उपत्यकाका भूकम्प अप्रतिरोधी तथा अव्यवस्थित संरचनाहरूलाई उचित मुआब्जा दिई अधिग्रहण गरिने छ र तिनमा बस्ने परिवारहरूलाई स्याटलाइट शहरमा स्थानान्तरण गर्ने उसको घोषणापत्रमा उल्लेख छ ।
राजधानीमा भित्री, बाहिरी र बृहत्् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्ने तथा सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गर्ने महत्वकांक्षी योजना समेत रहेको छ ।
राजधानीमा तालैताल
प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानी उपत्यकाभित्र कम्तीमा २० वटा तालको विकास गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ । ती तालहरूको पानी तथा उपत्यका बाहिरका नदीहरूबाट लिफ्ट प्रणालीबाट पानी प्रवाहित गरी वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्तेमा सफा पानी बग्ने सुनिश्चित गर्ने तथा चोभारमा सोही प्रणालीबाट पानी प्रशोधन गरी पिउने पानीको रूपमा पनि प्रयोग गर्ने उसको भनाई छ ।
राजधानीमा दैनिक ५ लाख बाह्य र आन्तरिक पर्यटकहरू रहन सक्ने गरी आवश्यक पूर्वाधार विकास गर्ने पनि उसको योजना छ ।
स्वास्थ्य बीमा र निःशुल्क उपचार
सबै नागरिकहरूलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गरिने एमालेको घोषणापत्रमा उल्लेख छ । गरिबीको रेखामुनि रहेका जनताको लागि बीमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिने र संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले संचालन गरेका अस्पतालहरूमा नेपाली नागरिकले तोकिएका रोगहरूको निःशुल्क उपचार प्राप्त गर्ने व्यवस्था हुने बताइएको छ ।
एमालेले आफूले सुविधाजनक बहुमतको सरकार बनाउन पाए हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने योजना समेत अगाडि सारेको छ ।
घातक स्वास्थ्य समस्याहरूको रुपमा रहेका उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, दमखोकी, क्यान्सर आदि घातक रोगहरूको औषधी, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराउने समेत उसको घोषणा छ । यस्तै, मृगौला रोगीहरूको लागि डाईलाईसिस तथा प्रत्यारोपण सेवा निःशुल्क तथा सहज ढङ्गले प्राप्त गर्ने गरी प्रत्येक प्रदेशसम्म विस्तार गर्ने र गाउँ/नगरपालिकामा क्यान्सर रोगको निदान र उपचारका लागि प्रदेशमा क्यान्सर उपचार केन्द्र स्थापना गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।
एक घर, एक रोजगारी
नेकपा (एमाले) को सरकार बनेको तीन बर्षमै ‘एक घरः एक रोजगारी’ सुनिश्चित गरिने घोषणापत्रमा दाबी छ । १० बर्षभित्रमा १८ बर्ष पुगेका प्रत्येक नागरिकले रोजगारी पाउने गरी कार्ययोजना सुरु गर्ने तथा प्रत्येक गाउँ÷नगरपालिकामा कृषि, पशुपंछी पालन, फोहरमैला व्यवस्थापन, जैविक उर्जा, घरेलु, लघु र मझौला उद्योगहरू, शीत भण्डारहरू सञ्चालनका माध्यमबाट ठूलो मात्रामा रोजगारी एवम् स्वरोजगारी सिर्जना गर्ने घोषणापत्रमा उल्लेख छ ।
विदेशबाट आएकालाई दक्षताको प्रमाणपत्र
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न र स्थानीय तहमा नै बैदेशिक रोजगारी सम्बन्धी सबै सूचना र सेवा सुविधा उपलव्ध हुने व्यवस्था गर्ने र यो काममा प्रवासमा गई काम गरेर फर्किएका स्थानीय नागरिकको अनुभवलाई उपयोग गरिने एमालेको भनाई छ । प्रवासमा रहँदा आर्जन गरेको सीपलाइ प्रमाणीकरणको व्यवस्था गरी फर्किएर आएका श्रमिकलाई दक्ष जनशक्तिको प्रमाणपत्र दिई राष्ट्र निर्माणमा उपयोग गर्न प्रोत्साहित गर्ने उसले प्रष्ट्याएको छ ।
सामाजिक सुरक्षाभत्ता ५ हजार !
एमालेले आफ्नो घोषणापत्रमा वृद्ध, एकल महिला र अपांगहरुलाई सरकारले दिंदै आएको सामाजिक सुरक्षा भत्तालाई मासिक रु ५ हजार पुर्याउने घोषणा गरेको छ । यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ठ ५ हजार भत्ता दिने र कामकाजी महिलालाई १४ हप्ताको सुत्केरी विदा दिने योजना समेत समेटेको छ ।
सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने समेत एमालेको घोषणा छ । ती आवासगृहहरुमा जेष्ठ नागरिकहरूलाई बिश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलब्ध हुने एमालेको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago