काठमाण्डौ । सिके राउतले संचालन गरेको मधेशलाई अलग्गै राज्य बनाउने राष्ट्रघाती अभियान सरकारका लागि टाउको दुखाईको बिषय भइरहेको बेला अर्को एक शक्तिले देशका विभिन्न भागमा ‘दोश्रो जनयुद्ध’ गर्ने भन्दै तालिम संचालन गरिरहेको खबरले प्रधानमन्त्री प्रचण्ड तनावमा परेका छन् । 

प्रधानमन्त्री निकट स्रोतका अनुसार सिके राउतको गतिविधिलाई यूरोपियन युनियनदेखि भारत तथा अन्य अन्तराष्ट्रिय शक्ति केन्द्रहरुरुको समेत समर्थन रहेको देखेर हैरानीमा परेका प्रचण्डका लागि ‘दोश्रो जनयुद्ध’को तीव्र तयारीमा जुटेका आफ्नै पूर्व सहपाठी तथा नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द(विप्लव) टाउको दुखाईको बिषय बनेका हुुन् । 

सुरक्षा निकायमार्फत प्रधानमन्त्री कार्यालयसम्म विप्लवले ‘दोश्रो जनयुद्ध’(हिंसात्मक युद्ध)को भित्र–भित्रै तयारी गरिरहेका खबर आएपछि प्रचण्ड संभावित दुर्घटनाको बिषयलाई लिएर चिन्तित बनेका उनको निजी सचिवालयका एक अधिकारीले बिजशालालाई बताए । ती अधिकारीले बताए अनुसार सुुरक्षा निकायका जिम्मेवार अधिकारीहरुले प्रधानमन्त्री प्रचण्डलाई विप्लव माओवादीले देशका विभिन्न भागमा अयोग्य र पूर्व माओवादी लडाकूूहरुलाई संगठित गरी युद्धकला सम्बन्धी तालिम दिइरहेका, त्यहाँ अन्य युवाहरुलाई पनि समाहित गराइएको र दोश्रो जनयुद्धका लागि भन्दै विप्लवलाई भारतबाट गोप्य रुपमा हतियारहरु पनि आउन थालेको डरलाग्दो रिपोर्ट बुुझाएका छन्। 

उच्च स्रोतका अनुसार विप्लव माओवादीले पूर्वको सोलुुखुम्बू र खोटाङ, कपिलवस्तु, माओवादीको जनयुद्धको उद्गमस्थल मानिएको रोल्पा र विकट कालीकोट लगायतका क्षेत्रमा क्याम्प नै स्थापना गरी युद्धकला सम्बन्धी तालिम संचालन गरिरहेको छ । प्रचण्ड र बाबुरामहरुको कार्यशैलीप्रति गम्भीर असहमति राख्दै नेत्रविक्रम चन्द(विप्लव)ले लामो समयदेखि आफ्नो अलग्गै पार्टी खोली गतिविधि संचालन गर्दै आइरहेको छ । पछिल्लो कालमा जनयुद्धकाललाई झल्को दिने गतिविधि समेत सो पार्टीको नाममा हुँदै आएको छ । 

माओवादीको नामबाट सुरु भएको पहिलो जनयुद्धको सबै उपलब्धिलाई प्रचण्ड र बाबुरामले सत्ता स्वार्थ र पैसासँग सौदाबाजी गरेका विप्लव माओवादीका नेताहरुले आरोप लगाउने गरेका छन् । देशमा जनयुद्धको अझै खाँचो देखिएको भन्दै उनीहरुले आफ्ना सेना तयार पारिरहेका खबर आएको हो । 

विप्लवको दोश्रो जनयुद्ध तयारीको गोप्य खबर आएपछि प्रचण्डले मातहतका सबै सुरक्षा अंगलाई उनीहरुको गतिविधिमाथि निगरानी राख्न निर्देशन दिएका बताइएको छ । विप्लव माओवादीसँग जोडिएका सबै नेताहरुको गतिविधिलाई समेत सुरक्षा निकायले निगरानी गर्न थालेको स्रोतको भनाई छ । 

विप्लवमाथि भित्रभित्रै राजावादी बनेको आरोप लाग्ने गरेको छ । भारत समेतको सहयोग र समर्थनमा उनलाई युद्धको शंखघोष गर्न लगाई राजतन्त्र ब्यूँताउने खेल हुन लागेको होइन भन्ने चर्चा समेत प्रधानमन्त्रीको निजी सचिवालयमा हुने गरेको बुझिएको छ ।