वासुदेव पौडेल/रासस
– वासुदेव पौडेल
धरान । राज्यको परिवर्तित संरचनापछि विभिन्न प्रदेशले पर्यटनलाई प्राथमिकतामा राखेको वास्तविकतामा धरानमा शुरु दोस्रो इष्ट टुरिजम मार्टमा यतिखेर पर्यटनका क्रेता र विक्रेता एकापसमा साझेदारी बढाउन क्रियाशील छन् ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानको सिद्धी नेवाः परिषद्मा शनिबारदेखि तीन दिनसम्म चल्ने मार्टमा नेपालका विभिन्न पर्यटकीयस्थलका साथै भारत, बङ्गलादेश र भुटानका पर्यटन व्यवसायी सहभागी छन् । मार्टमा पूर्वका ११ वटै जिल्ला र पोखरा, चितवनलगायतका स्थानका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीका आफ्ना विभिन्न प्याकेजसहितका स्टल रहेका छन् ।
पर्यटनमा साझेदारी बढाउँदै समग्र पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ मार्ट आयोजना गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । मार्ट अवधिमा क्रेता र विक्रेताबीच ‘बी टु बी’ (बिजनेश टु बिजनेश) मिटिङसमेत हुने र यसले पर्यटनकर्मीलाई थप ऊर्जा मिल्ने मार्टका संयोजक भवेश श्रेष्ठ बताउनुहुन्छ । मार्टमा विभिन्न स्थानबाट आएका पर्यटन व्यवसायी कसरी अधिकतम पर्यटक आफ्ना ठाउँमा पुर्याउन सकिन्छ भन्दै सहकार्य बढाउन बी टु बीलाई प्राथमिकतामा राखेका छन् ।
ओखलढुङ्गाबाट मार्टमा भाग लिन आएका होटल व्यवसायी सङ्घ ओखलढुङ्गाका अध्यक्ष थगेन्द्रराज राई यस्ता मार्टमा सहभागी भएसँगै एकापसमा पर्यटकीय साझेदारी बढ्ने बताउनुहुन्छ । मार्टमा आउनेहरूलाई आफूहरूले त्यहाँका पर्यटकीय आकर्षण, कला संस्कृति आदि सम्बन्धमा जानकारी गराएको उहाँले बताउनुभयो । पर्यटनमा धेरै सम्भावना भए पनि ओखलढुङ्गामा भने स्थानीय तहले अझै यसबारे राम्रोसँग बुझ्न नसकेको बताउँदै उहाँले राज्यको प्राथमिकता नहुँदासम्म यस क्षेत्रले फड्को मार्न नसक्ने उल्लेख गर्नुभयो ।
गत वर्षदेखि धरानमा शुरु मार्टले नेपाल भित्रिएका विदेशी पर्यटक तथा नेपालकै आन्तरिक पर्यटकलाई यहाँका पर्यटकीय गन्तव्यबारे जानकारी गराउन र पर्यटनमा साझेदारी बढाउन अत्यन्त महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । मार्ट अवधिमा हुने राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटन व्यवसायीबीचको बी टु बी पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण बन्ने गरेको उहाँको भनाइ छ । मार्टमा पर्यटकीय नगरी पोखराका आठ होटल सहभागी भएको बताउने पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन आफूहरू साझेदारी बढाउने उद्देश्यले धरान आएको बताउनुहुन्छ ।
पूर्वको मार्टमा पहिलोपटक सहभागी भएको जानकारी दिँदै उहाँले यसबाट आफूहरूको जाऊ है पोखरा अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “पोखराको पर्यटनमा निजी क्षेत्रबाट झण्डै पाँच खर्बभन्दा बढी लगानी भइसकेको र लगानीअनुरुप स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउनु टड्कारो आवश्यकता देखिएको छ”, उहाँले भन्नुभयो, “अधिकतम पर्यटक भित्र्याउन साझेदारीका लागि यस्ता मार्टमा सहभागी हुनुका साथै भारत, बङ्गलादेशका सीमाक्षेत्रमा चलिए पोखराजस्ता कार्यक्रमलाई सङ्घले सञ्चालन गर्दै आएको छ ।”
मार्टमा चितवनबाट नौ होटल व्यवसायी सहभागी भएको क्षेत्रीय होटल सङ्घ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । “पूर्वी नेपालका पर्यटन व्यवसायी एवं भारत, बङ्गलादेश, भुटानलगायत स्थानका पर्यटन व्यवसायीसँग साझेदारी बढाउन हामी मार्टमा सहभागी भएका हौँ”, घिमिरेले भन्नुभयो, “यहाँ गरिने बी टु बीलगायतका कार्यक्रमले स्वदेशी एवं विदेशी पर्यटन व्यसायीबीच एकापसमा सहकार्य बढ्ने र यसले समग्र पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।”
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago