काठमाण्डौ । साम्य भएको प्रसार गरी दुर्घटनालाई तत्कालका लागि टारेको नेकपाभित्रको पुरानो विवाद पुनः चर्किएको छ ।
बैशाख २० गतेको सचिवालय बैठकबाट अध्यादेशपछि सिर्जित समस्या समाधान भएको प्रचारबाजी गरिए पनि त्यसको चारदिन नबित्दै अवस्था पुरानै अवस्थामा पुगेको हो ।
पार्टीभित्र तीव्र माग भइरहेको बहुचर्चित स्थायी समिति बैठक बैशाख २५ गते बोलाउने निर्णय भए पनि त्यसको अजेण्डा तय गर्न आज बसेको सचिवालय बैठक असफल बनेको हो । स्थायी समितिमा पेश हुनुपर्ने अजेण्डाको रुपमा प्रचण्ड र नेपाल पक्षले ओलीले २०, बैशाखमा गरेका प्रतिबद्धताहरुलाई सूचिबद्ध गरी अगाडि बढ्नुपर्नेमा जोड दिएको थियो । तर, आफ्नै पूर्व प्रतिबद्धता विपरीत ओलीले चलिरहेको सचिवालय बैठकलाई बीचमै छाडेपछि अवस्था फेरि बिग्रिएको नेताहरुको दाबी छ ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री, पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले आ–आफ्नो तर्फबाट आत्मआलोचना गर्दै सबैजना मिलेर अघि बढ्नुपर्नेमा सहमति जनाएका थिए ।
सबैले विगतको गल्ती नदोहोर्याउने भन्दै आत्माआलोचना गरेपछि सत्तारुढ नेकपाभित्र अवस्था केही सहज हुने आँकलन गरिएको थियो । तर, भोलि बस्ने स्थायी समिति बैठकका लागि दुवै अध्यक्ष मिलेर अजेण्डा तयार गर्ने भने पनि ओली आफ्नाविरुद्धको अजेण्डा बन्ने संकेत पाई उठेर हिँडेपछि अवस्था बिग्रिएको हो ।
२०, बैशाखमा पार्टीभित्र उग्र बनेको विवाद साम्य पार्नका लागि बनेको सहमतिबाट प्रधानमन्त्री ओली पछाडि हटेको प्रचण्ड नेपाल समूहको आरोप छ ।
सो खेमाका एक नेताका अनुसार शनिवार भएको सहमतिअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी, मन्त्रीमण्डल पुनर्गठन गर्ने तथा प्रदेश १ र ३ का मुख्यमन्त्री फेर्ने लगायतका अजेण्डा समेत स्थायी समितिमा पेश गर्ने सहमति भएको थियो । तर, यी सबै सहमतिबाट ओली एकाएक पछि हटेपछि आजको सचिवालय बैठक निश्कर्षविहीन बन्न पुगेको हो ।
आजको सचिवालय बैठकमा प्रधानमन्त्री बीचबाटै उठेर हिँड्नु पछाडिको मुख्य कारण रातारात नेकपामा परिवर्तन भएको समीकरण पनि रहेको स्रोत दाबी गर्छ ।
१७, बैशाखमा बसेको सचिवालय बैठकमा ओलीले बामदेव गौतमलाई एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरी आफूमाथिको प्रहारलाई कमजोर बनाउने चलाख्याई गरेका थिए । तर, २०, बैशाखको सचिवालय बैठकमा बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव झण्डै पेश नै भएन । अन्तिम अवस्थामा नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बामदेव कमरेडको विषयमा के भन्ने ? भनेर प्रश्न गरेपछि मात्र उनलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लग्ने र प्रधानमन्त्री बनाउने भन्ने निर्णय गरिएको थियो ।
बैशाख २० गतेको सचिवालय बैठकपछि ओलीको नियतमाथि बामदेव गौतमले शंका व्यक्त गरेका छन् । १७ गते आफूलाई झुक्याउन र भुल्याउन मात्र ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेका २० गतेको उनको प्रस्तुतीबाट पुष्टि हुने भन्दै बामदेव गौतम पुनः रातारात प्रचण्ड नेपाल गुटमै समावेश भएका छन् ।
उनले आजको सचिवालय बैठकअघि प्रचण्ड र माधवकुमार नेपाललाई भेटेर ओलीले यसपटक पनि आफूलाई धोका दिएको बताएका थिए । बामदेव गौतम फेरि रातारात पुरानै खेमामा फर्किएपछि ओली सचिवालय फेरि अल्पमतमा परेका छन् । यही कुरा बुझेका उनले बुधबारको बैठक बीचमै छाडेर हिँडेका आरोप लागेको छ ।
योसँगै भोलि बिहान ११ बजे धुम्बाराहीमा हुने भनिएको पार्टीको स्थायी समिति बैठक नहुने भएको छ ।
पार्टीका महासचिव विष्णु पौडलले भोलि(बिहीबार)का लागि डाँकिएको स्थायी समिति बैठक केही दिन पर सर्ने निश्चित भएको बताए । उनले भोलिको बैठक केही दिन पर सार्ने विषयमा दुई अध्यक्षबीच नै सहमति बनेको दाबी गरे पनि प्रचण्ड भने यसमा सहमत नरहेका स्रोत बताउँछन् ।
मुख्य रुपमा ओली नै आफूविरुद्ध अजेण्डा जाने र कुर्सी नै धरापमा पार्ने गरी योजनाबद्ध ढंगले स्थायी समितिको बैठकमा तयारी भएको बुझेपछि भोलिका लागि पछि हटेका हुन् । स्रोत भन्छः पार्टीभित्र फेरि केही दिन खेलेर परिस्थिति आफ्नो अनुकूल बनाई बैठक डाक्ने ओलीको रणनीति देखिन्छ ।
बैशाख २० गतेकै सचिवालय बैठकमा समेत ओली र प्रचण्डबीच भएको गोप्य सहमतिप्रति पार्टीको अर्को शक्तिशाली समूहका नेता तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका थिए । उनले दुई अध्यक्षबीच मात्र चोचोमोचो मिलेर नहुने भन्दै अपारदर्शी सहमतिको विरोध गरेका थिए । अवस्था त्यहीबाट बिग्रिएको पनि विश्लेषकहरुले बताएका छन् ।
आगामी दिनमा नेकपाभित्रको विवादको दीर्घकालीन समाधान खोज्ने हो भने ओली, प्रचण्ड र नेपाल पक्षबीच नै त्रिपक्षीय शक्ति बाँडफाँड र लेनदेनको सहमति हुनुको विकल्प नरहेको नेताहरु बताउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago