काठमाण्डौ । सत्तारुढ नेकपाको सचिवालय बैठकले आगामी बैशाख २५ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । 

आज साढे ५ बजेदेखि सुरु भएको सचिवालय बैठकले स्थायी समिति बोलाउने र त्यसको पूर्व तयारी तथा एजेण्डा तय गर्न बैशाख २४ गते पुनः सचिवालय बस्ने निर्णय भएको समेत उनले सुनाए । 

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्माआलोचना समेत गरेका  छन् । विगतमा केही गल्ती भएका उल्लेख गर्दै आगामी दिनमा त्यस्ता गल्ती नदोहोर्याउने र पार्टी समन्वयमा सरकार चलाउने बताएका सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । 

यस्तै, बैठकमा बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा निर्वाचित गरी ल्याउने र प्रधानमन्त्री बनाउने समेत निर्णय गरेको बताइएको छ । 

सरकारले पार्टीसँग सल्लाह नै नगरी २ अध्यादेश ल्याएपछि नेकपा विवादमा फसेको थियो । अध्यादेश आएलगत्तै नेकपामा २० स्थायी समिति सदस्यहरुले तत्काल बैठक बोलाउन माग गरेका थिए । 

सचिवालयमा अल्पमतमा परुञ्जेलसम्म ओलीले सचिवालय बैठक टार्दै आएका थिए । तर, उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो क्याम्पमा ल्याएपछि उनी सुविधाजनक अवस्थामा पुगे । सचिवालयका ९ सदस्यमध्ये ५ जना आफ्नो पक्षमा रहेपछि शनिवार बसेको बैठकमा ओलीले आत्माआलोचना गर्दै स्थायी समिति बैठक बोलाउने निर्णय गराउन सहयोग गरेका हुन् ।